News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत आर्थिक वर्षको चौथो त्रैमासमा अर्थतन्त्र ४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ ।
- विद्युत् र ग्याससम्बन्धी क्रियाकलापको वृद्धिदर २४.३६ प्रतिशत रहँदा वित्तीय तथा बीमा क्षेत्र ९.०७ प्रतिशतले बढेको छ ।
- कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १.३५ प्रतिशत मात्र रहने अनुमान गरिएको छ भने सार्वजनिक प्रशासन तथा रक्षामा ०.१२ प्रतिशत ऋणात्मक वृद्धि देखिएको छ ।
२८ असोज, काठमाडौं । विनाशकारी बाढीले अर्थतन्त्रमा ठूलो धक्का दिनुभन्दा अगाडिको त्रैमास (वैशाख–असार २०८३) मा अर्थतन्त्र ४ प्रतिशत हाराहारीले विस्तार हुने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ अन्तिम तथा चौथो त्रैमासिक कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुमान सार्वजनिक गरेको छ । जस अनुसार २०८१/८२ सोही अवधिको तुलनामा अर्थतन्त्र ४ प्रतिशत वृद्धि हुने अनुमान छ ।
यस आवमा अर्थतन्त्र विस्तारमा विद्युत् र ग्यासले ठूलो योगदान गरेको छ । किनकि, यो सिजन विद्युत् उत्पादन वृद्धि हुन्छ भने निर्यात समेत अधिक हुन्छ । साथै, यस वर्ष ग्यास आयात चुलिएको छ ।
कार्यालयका अनुसार विद्युत् र ग्यासबाहेक निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम संकलन, आवास तथा भोजन सेवाका क्रियाकलाप बढ्दा समेत आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव परेको हो ।
कार्यालयका अनुसार अर्थतन्त्रका कुल १८ औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षाबाहेक अन्य औद्योगिक वर्गीकरणमा धनात्मक वृद्धिदर भएको छ ।
चौथो त्रैमासिकमा सरकारी खर्चमा भएको कमी, आन्तरिक औद्योगिक उत्पादन तथा कृषि उत्पादनमा अपेक्षित कम वृद्धि हुँदा समग्र आर्थिक वृद्धिदर उत्साहजनक भने हुन सकेन ।
गत आवको वार्षिक आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान कार्यालयले यसअघि नै सार्वजनिक गरेको थियो ।
विद्युत् र ग्यास उच्च वृद्धि, पच्छ्याउँदै वित्तीय क्षेत्र
यस त्रैमासमा विद्युत् र ग्याससँग सम्बन्धित क्रियाकलाप वृद्धिदर सबैभन्दा धेरै २४.३६ प्रतिशत भएको छ । जसलाई वित्तीय तथा बीमासम्बन्धी क्रियाकलापले पच्छ्याएको छ । यस क्षेत्रको वृद्धिदर ९.०७ प्रतिशत छ ।
आवास र भोजन सेवाको वृद्धिदर ७.८४ प्रतिशत र सूचना तथा सञ्चारको ७.६६ प्रतिशत रहेको तथ्यांक छ । तर, अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान गर्ने कृषि क्षेत्रको वृद्धिदर १.३५ प्रतिशतमात्र हुनेछ ।
अर्थतन्त्रको दोस्रो ठूलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ५.९७ प्रतिशत रहेको अनुमान गरिएको छ । वस्तु आयात र स्वदेशी वस्तु उत्पादन वृद्धिले यस क्षेत्रमा सकारात्मक योगदान गरेको छ । सार्वजनिक प्रशासन र रक्षाको वृद्धिदर भने ०.१२ प्रतिशतले ऋणात्मक छ ।
यस त्रैमासिकभन्दा अघिल्लो त्रैमासिक (माघ–चैत) सँग तुलना गर्दा भने कृषि, वन तथा मत्स्य क्षेत्रको १.०८ प्रतिशत वृद्धि भएको छ । उद्योग क्षेत्र ०.४८ प्रतिशतले ऋणात्मक रहेको छ । सबैभन्दा धेरै वृद्धिदर आवास तथा भोजनको ६.०५ प्रतिशत छ । विद्युत् तथा ग्यास वृद्धिदर ३.७६ प्रतिशत छ ।
कुन त्रैमासमा कति आर्थिक वृद्धिदर ?
कार्यालयको तथ्यांक अनुसार गत आव चार त्रैमासिक अवधिमध्ये दोस्रो त्रैमासिक अवधि (कात्तिक–पुस) मा सबैभन्दा धेरैले अर्थतन्त्र विस्तार भएको देखिएको छ । सोही त्रैमासमा ४.१ प्रतिशत वृद्धिदर देखिएको छ ।
दोस्रो स्थानमा चौथो त्रैमासिक अवधि रहन गयो । जहाँ ४ प्रतिशतको आर्थिक वृद्धिदर छ । पहिलो र तेस्रो त्रैमासिक अवधिमा समान ३.३ प्रतिशत आर्थिक वृद्धिदर भएको अनुमान कार्यालयको छ ।
यस त्रैमासिक अवधिमा कुन क्षेत्रको कति वृद्धिदर (प्रतिशत) ?
विद्युत, ग्यास : २४.३६
वित्तीय तथा बीमा : ९.०७
आवास तथा भोजन : ७.८४
सूचना तथा सञ्चार : ७.६६
यातायात तथा भण्डारण : ६.८१
थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत : ५.९७
प्रशासनिक तथा सहयोगी सेवा : ५.५५
मानव स्वास्थ्य तथा सामाजिक कार्य : ४.७०
अन्य सेवा : ३.८२
खानी तथा उत्खनन : ३.३४
पेसागत, वैज्ञानिक तथा प्राविधिक सेवा : ३.१९
घरजग्गा कारोबार : २.६८
निर्माण : २.३८
उद्योग : १.४४
पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन : १.४३
कृषि, वन तथा मत्स्य : १.३५
शिक्षा : १.३२
सार्वजनिक प्रशासन तथा रक्षा, अनिवार्य सामाजिक सुरक्षा : –०.१२
प्रतिक्रिया 4