News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्डले टिकटकसँग सहकार्य गरेर ‘भिजिट नेपाल’ प्रवर्द्धनात्मक अभियान सञ्चालन गरेको छ ।
- अभियानमार्फत नेपालको प्राकृतिक सौन्दर्य, हिमाल, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई भिडियो सामग्रीबाट विश्वभरि प्रवर्द्धन गरिने छ ।
- बोर्डका निमित्त कार्यकारी प्रमुख अधिकृत हिक्मतसिंह ऐरले एक भिडियोले पनि कसैलाई नेपाल भ्रमण गर्न प्रेरित गर्न सक्ने भन्दै सहभागिताका लागि आग्रह गरे ।
२९ असोज, काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनलाई विश्वव्यापी डिजिटल माध्यम मार्फत विस्तार गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले टिकटकसँगको सहकार्यमा ‘भिजिट नेपाल’ प्रवर्द्धनात्मक अभियान सञ्चालन गरेको छ ।
यस अभियान मार्फत नेपालको प्राकृतिक सौन्दर्य, हिमाल, सांस्कृतिक सम्पदा, मौलिक परम्परा, साहसिक गतिविधि तथा स्थानीय जीवनशैलीलाई सिर्जनात्मक भिडियो सामग्री मार्फत विश्वभरि प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ ।
अभियानमा सहभागी हुन पर्यटन बोर्डले यात्राप्रेमी, सामग्री निर्माता, पर्यटन व्यवसायी तथा आम नागरिकलाई नेपालका विविध पर्यटकीय अनुभव समेटिएका आकर्षक भिडियो निर्माण गरी टिकटकमा पोस्ट गर्न आह्वान गरेको छ ।
नेपालको सुन्दरता, संस्कृति, गन्तव्य र जनजीवन आफ्नै दृष्टिकोणबाट प्रस्तुत गरिएका भिडियोले अन्तर्राष्ट्रिय दर्शकमाझ नेपालको पहिचान विस्तार गर्न तथा नेपाल भ्रमणका लागि प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बोर्डले लिएको छ ।
पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख अधिकृत हिक्मतसिंह ऐरले डिजिटल माध्यम मार्फत नेपालको पर्यटन कथालाई विश्वभरि पुर्याउन यस अभियानले महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताए ।
‘टिकटक जस्ता डिजिटल प्ल्याटफर्म सिर्जनात्मक सामग्री मार्फत नेपालको विविध पर्यटन अनुभवलाई विश्वसामु प्रस्तुत गर्ने प्रभावकारी माध्यम हुन्,’ उनले भने, ‘भिजिट नेपाल अभियान मार्फत नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक जीवनशैली र यहाँका मानिसका आत्मीय अनुभव विश्वभरि पुर्याउन सबैलाई सहभागी हुन आग्रह गर्दछु, तपाईंले बनाएको एउटा भिडियोले पनि कसैलाई नेपाल भ्रमण गर्न प्रेरित गर्न सक्छ ।’
यस अभियानमा सहभागी हुन टिकटकमा भिजिट नेपाल खोजी गरी अभियान सम्बन्धी सामग्री हेर्न तथा आफ्नो भिडियो मार्फत सहभागिता जनाउन सकिने छ ।
भिडियो पोस्ट गर्दा #VisistNepal, #NepalCalling र #photoNepal ह्यासट्याग प्रयोग गर्न बोर्डले आग्रह गरेको छ । सबैको सिर्जनात्मक सहभागिताबाट नेपालको पर्यटन प्रवर्द्धन थप व्यापक र प्रभावकारी बनाउन सकिने बोर्डको विश्वास छ ।
प्रतिक्रिया 4