+
+
Shares
रामहरि खतिवडासँग वार्ता :

‘कांग्रेस फुटेर फेरि सुक्ने अवस्था नआओस्’

कहिलेकाहीँ गणितीय रूपमा कमजोर भइएला, तर विचार र सिद्धान्तका हिसाबले बलियो हुन सकिन्छ। कांग्रेसले अघि सारेका कतिपय राजनीतिक मान्यता अहिले सबै दलले स्वीकार गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते ९:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रामहरि खतिवडा नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका छन् र सबैलाई समेट्ने कांग्रेसको पक्षमा रहेको बताएका छन्।
  • उनले पार्टीको आधिकारिक पहिचान, रुख चिह्न एकतालाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
  • खतिवडाले शेरबहादुर देउवा, गगन थापा र बाहिर रहेका नेताहरूलाई संवादमार्फत पार्टीमा समेटेर कांग्रेस बलियो बनाउनुपर्ने बताएका छन्।

विशेष महाधिवेशनप्रति फरक मत राख्ने रामहरि खतिवडा नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनबाट सहमहामन्त्री पदमा निर्वाचित भएका छन्। अधिकांश पदाधिकारी विशेष महाधिवेशन पक्षधरले जितेको महाधिवेशनमा खतिवडाको जितलाई चासोका साथ हेरिएको छ।

नवनिर्वाचित सहमहामन्त्री खतिवडा भने महाधिवेशनले सबै अटाएको कांग्रेस भएको तर्क गर्छन्। विगतलाई कोट्याएर कसैसँग पनि भेदभावपूर्ण व्यवहार हुन नदिने उनी बताउँछन्।

महाधिवेशनको नतिजा, कांग्रेसको आगामी भूमिका, गगन थापाको नेतृत्व लगायतलाई सन्दर्भ बनाएर उनै खतिवडासँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानी :

तपाईं विशेष महाधिवेशनबारे फरक धारणा राख्नुहुन्थ्यो। अहिले त्यही महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित हुनुभयो। तपाईंको धारणा कसरी बदलियो ?

विशेष महाधिवेशन हुने बेला मेरो धारणा अलि फरक थियो। यदि निर्वाचन हुने हो भने निर्वाचनमा जाऔँ। निर्वाचनमा शेरबहादुर देउवाको सही हुने टिकटमा अर्को विकल्पमा जाऔँ, गगन थापालाई प्रधानमन्त्री घोषणा गरौँ र अधिवेशन पछि गरौँ भन्ने पक्षमा थिएँ।

तर निर्वाचन आयोगले निर्णय गरेपछि मेरो धारणा स्पष्ट भयो। रुख र चारतारे झण्डा जहाँ छ, हामी त्यहीँ हुनुपर्छ भन्ने मेरो मान्यता हो।

म लामो समयदेखि पार्टीमा काम गरिरहेको मान्छे हुँ। नेताहरूसँग विचार मिल्न सक्छ, कसैसँग नजिक हुन सकिन्छ। तर अन्ततः पार्टीको आधिकारिक पहिचान र चुनाव चिह्नको महत्त्व हुन्छ। कांग्रेस फुटेर बनेका समूहहरूको इतिहास हामीले देखेका छौँ। नदीका भँगाला छुट्टिए भने कि मूल नदीमा मिसिन्छन्, कि बीचमै सुक्छन् भन्ने मैले पहिले पनि भनेको थिएँ। कांग्रेसका भँगाला छुट्टिएर फेरि सुक्ने अवस्था नआओस् भन्ने मेरो चाहना हो।

विशेष महाधिवेशनबाट निर्वाचित भएर आउनुभएको छ। यसलाई आफ्नो राजनीतिक धारको जितका रूपमा लिनुहुन्छ ?

म यसलाई मेरो व्यक्तिगत जितका रूपमा मात्र लिन्नँ। देशभरिबाट र विदेशबाट आउनुभएका साथीहरूले मलाई निर्वाचित गर्नुभएको हो। मेरो त एउटा मात्रै मत थियो, बाँकी सबै साथीहरूको मत हो। उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु।

राजनीति भनेको भोट माग्ने, जुलुसमा हिँड्ने, नाराबाजी गर्ने र मतदान गर्ने काममा मात्र सीमित हुँदैन। शुभेच्छुकहरूको सद्भावले पनि ठूलो अर्थ राख्छ। मलाई मत नदिए पनि टाढाबाट शुभकामना दिने साथीहरू हुनुहुन्छ। उहाँहरूको सद्भावले पनि काम गर्छ।

मैले पाएको मतलाई संसद्मा खेलेको भूमिका र जनताबीच गरेको कामको मूल्याङ्कनका रूपमा लिएको छु। म कसैलाई गाली गर्न चाहन्नँ। मलाई माया गर्ने र नगर्ने सबै साथीप्रति सम्मान छ।

विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई कांग्रेसभित्रै ‘घण्टी कांग्रेस’ भनेर आरोप लगाउने गरिएको छ। तपाईंहरू कांग्रेसको कुन धारको प्रतिनिधित्व गर्नुहुन्छ ?

यो सबैको कांग्रेस हो। विशेष महाधिवेशनमा सहभागी भएका साथीहरूको मात्र होइन, नियमित महाधिवेशनको पक्षमा रहेका र अहिले बाहिर रहेका साथीहरूलाई पनि जोड्नुपर्छ। हामी सबैलाई समेट्न चाहन्छौँ।

हामीले बनाएको विधानमा युवा पुस्ता, प्रवासमा रहेका नेपाली, बुद्धिजीवी, सहिद परिवार, प्रजातन्त्र सेनानी, दलित, महिला, अपाङ्गता भएका व्यक्ति र अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्वका लागि व्यवस्था गरिएको छ। पार्टीको नीति बनाउने, निर्णय गर्ने र कार्यान्वयन गर्ने ठाउँमा विभिन्न समुदायको सहभागिता हुनुपर्छ भन्ने हाम्रो चाहना हो।

कांग्रेस सबै अटाउने पार्टी हुनुपर्छ। कुनै एउटा महाधिवेशन या एउटा समूहको मात्रै पार्टी हुनु हुँदैन।

महाधिवेशनमा चिट बाँडेर मत प्रभावित पारिएको भन्ने आरोप पनि सुनियो। तपाईंलाई के लाग्छ ?

म व्यक्तिको हारजितभन्दा हामीले लिएको सिद्धान्तको जित होोस् भन्ने चाहन्छु। चिट बाँडिएको विषयमा कसले के गर्‍यो भन्नेभन्दा पनि मतदाताले आफ्नो विवेक प्रयोग गरेर निर्णय गरेका छन् भन्ने मेरा विश्वास हो।

हामीले बहुदलीय प्रतिस्पर्धा, जनताबाट निर्वाचित हुने पद्धति, गणतन्त्र, समानुपातिक र समावेशी प्रतिनिधित्वको सिद्धान्त अघि सारेका छौँ। आज अरू दलहरू पनि यी सिद्धान्त स्वीकार गरेर आएका छन्। यसलाई हामीले सिद्धान्तको जितका रूपमा लिनुपर्छ।

कहिलेकाहीँ गणितीय रूपमा कमजोर भइएला, तर विचार र सिद्धान्तका हिसाबले बलियो हुन सकिन्छ। कांग्रेसले अघि सारेका कतिपय राजनीतिक मान्यता अहिले सबै दलले स्वीकार गरेका छन्।

तपाईं पार्टीको पदाधिकारीका रूपमा नेतृत्वमा आइसकेपछि पुरानो नेतृत्वसँगको सम्बन्ध कस्तो रहन्छ ?

शेरबहादुर देउवा हाम्रो पार्टीका पूर्वसभापति र पूर्वप्रधानमन्त्री हुनुहुन्छ। उहाँलाई म अहिले पनि सम्मान गर्छु। गगन थापा सभापतिलाई पनि त्यत्तिकै सम्मान गर्छु।

कांग्रेस कसैलाई देवत्वकरण गर्ने र कसैलाई राक्षस बनाउने पार्टी होइन। हामीले सबैसँग समान व्यवहार गर्नुपर्छ। आज हामी नेतृत्वमा आएका छौँ, भोलि उमेर वा अन्य कारणले अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुन्छ। त्यसैले पुराना नेता भए भनेर कसैलाई गाली गर्ने होइन, नयाँ दृष्टिकोण दिन सक्ने क्षमतालाई महत्त्व दिनुपर्छ।

हिजो लोकतन्त्रका लागि जेल बसेका, कुटाइ खाएका, सर्वस्वहरणमा परेका र परिवार गुमाएका नेताहरूको योगदान बिर्सन सकिन्छ र ? पुराना नेताको सम्मान गर्नुपर्छ र नयाँ पुस्तालाई आकर्षित गर्नुपर्छ।

शेरबहादुर देउवासहित सबैलाई फेरि कांग्रेसमा समेट्न सकिन्छ भन्ने तपाईंको विश्वास हो ?

कांग्रेस कमजोर होस् भन्ने न गगन थापालाई लागेको होला, न शेरबहादुर देउवालाई लागेको होला, न मलाई लागेको छ। कांग्रेस कमजोर भयो भने लोकतन्त्र, राष्ट्रियता, कानुनी राज्य र प्रेस स्वतन्त्रता कमजोर हुन्छन्।

केही मनमुटाव छन् भने संवादबाट समाधान गर्नुपर्छ। संसारका ठूला विवाद पनि संवादबाट समाधान भएका छन्। त्यसैले हामी संवाद गर्दै पार्टीलाई एक बनाउने वातावरण सिर्जना गर्न चाहन्छौँ।

म कांग्रेसलाई सबैको अनुहार देखिने पार्टी बनाउन चाहन्छु। गगन थापाको अनुहार देखियोस्, विश्वप्रकाश शर्माको अनुहार देखियोस्, हाम्रो पनि अनुहार देखियोस् र अहिले नेतृत्वबाट टाढा रहेका नेताहरूको पनि स्थान होस्। सबैलाई समेट्न सकियो भने पार्टी बलियो हुन्छ।

तर अघिल्लो महाधिवेशनमा देउवा समूहमा रहेका धेरै नेता अहिले अलग धारमा देखिनुभयो। त्यतिबेला साझा निर्णय गरेर पार्टीलाई विभाजनतर्फ जान नदिन सामूहिक प्रयास भएन ?

कांग्रेस कमजोर होस् भन्ने कसैलाई पनि लागेको छैन भन्ने मेरो विश्वास छ। सबैको लक्ष्य कांग्रेसलाई जनताले मन पराउने र लोकतन्त्रको रक्षा गर्न सक्ने पार्टी बनाउने हो।

यो महाधिवेशनले कांग्रेसलाई कमजोर बनाएको छैन। केही कमीकमजोरी भएका हुन सक्छन्, तर सबैलाई प्रतिनिधित्व दिने र समेट्ने प्रयास भएको छ।

अब चुनौती भनेको ठूलो संरचनालाई प्रभावकारी बनाउनु हो। केन्द्रीय सदस्यहरूलाई नामका लागि मात्रै राख्ने होइन, जिम्मेवारी दिनुपर्छ। प्रत्येक केन्द्रीय सदस्यलाई काम, समय र जिम्मेवारी तोक्नुपर्छ। जिल्लामा जाँदा समन्वय गरेर जानुपर्छ, अनावश्यक रूपमा ठूलो समूह लिएर जाँदा स्थानीय साथीहरूलाई अप्ठ्यारो हुन सक्छ। पार्टी चलाउने भनेको पद बाँड्ने मात्र होइन, सबैलाई काममा लगाउने पनि हो।

यो महाधिवेशनले केन्द्रीय नेतृत्वको आकार असाध्यै ठूलो बनायो। सङ्ख्या बढाउँदा उल्टै समस्या आउँछ भन्ने लाग्दैन ?

सबैलाई भूमिका दिन्छौँ। प्रत्येक केन्द्रीय सदस्यलाई काम दिने, उनीहरूबीच समन्वय गर्ने र पार्टीको आवश्यकताअनुसार परिचालन गर्ने व्यवस्था गर्नुपर्छ।

कुनै जिल्लामा कार्यक्रम हुँदा सबै केन्द्रीय सदस्य एकैपटक जाने होइन। कसलाई पठाउँदा पार्टीलाई फाइदा हुन्छ भन्ने निर्णय पनि गर्नुपर्छ। सबैको मर्म बुझेर सङ्गठन चलाउनुपर्छ।

नयाँ नेतृत्वले पुरानो राजनीतिक संस्कार बदल्न सक्छ भन्ने आधार के हो ?

बोलेर मात्र परिवर्तन हुँदैन, काम गरेर देखाउनुपर्छ। गगन थापा सभापति भइसक्नुभएको छ। उहाँसँग पार्टी कसरी चलाउने भन्ने योजना र समयतालिका छ। अब त्यसलाई कार्यान्वयन गर्ने बेला हो।

हामी धेरै ठूलो विवाद नगरी एकताको सन्देश दिन चाहन्छौँ। कांग्रेसभित्रको एकता मात्रै पनि पर्याप्त नहुन सक्छ, लोकतान्त्रिक शक्तिहरूबीचको सम्बन्ध र समग्र राजनीतिक परिस्थितिलाई पनि हेर्नुपर्छ। मलाई ढिलोचाँडो कांग्रेस एक हुन्छ भन्ने विश्वास छ।

तपाईंको कल्पनामा अबको कांग्रेस कस्तो हुन्छ ?

पुरानो पुस्ताले ‘स्याबास कांग्रेस’ भनून्, नयाँ पुस्ताले ‘क्याबात कांग्रेस’ भनून्। पुरानालाई सम्मान र नयाँलाई आकर्षित गरौँ। मेरो होइन, हाम्रो भनौँ। हाम्रोभित्र राम्रो छानौँ।

कार्यकर्ता दुई प्रकारका हुन्छन्- एउटा काम गर्ने र अर्को कान भर्ने। कान भर्नेलाई होइन, काम गर्नेलाई छानौँ। कार्यकर्तामा अर्को प्रवृत्ति हुन्छ- परिक्रमी र परिश्रमी।

हिजो हामीले नेताको मान्छे छान्यौँ, नाताको मान्छे छान्यौँ। अब नेताका र नाताका होइन, नीतिका मान्छे तान्ने गरौँ।

नेपालमा लोकतन्त्रको पुनर्बहाली, संविधान निर्माण, कानुनी राज्यको स्थापना र स्थानीय तहसम्म अधिकार पुर्‍याउन धेरैले त्याग, तपस्या र बलिदान गरेका छन्। उनीहरूको योगदानको सम्मान गर्दै काम र क्षमताका आधारमा जिम्मेवारी दिनुपर्छ।

तर गठबन्धनको जस्तो राजनीतिमा अल्झँदै आउनुभएको छ। तपाईंले भने जस्तो सम्भव होला र ?

म त संविधानमै गठबन्धन गर्नु हुँदैन र राजनीतिक दलहरू एक्लाएक्लै चुनाव लड्नुपर्छ भन्ने व्यवस्था भए राम्रो हुन्थ्यो भन्ने पक्षमा छु। यसो भयो भने अरू दललाई गाली गर्नुपर्ने अवस्था पनि आउँदैन।

नेपालमा प्रायः सबैजसो ठूला दलले फरकफरक समयमा एकअर्कासँग गठबन्धन गरेका छन्। कांग्रेस, एमाले, माओवादी र अन्य दलहरू विभिन्न समयमा सरकारमा गएका छन्। त्यसैले एउटा दललाई मात्र दोष दिएर हुँदैन। यो समग्र राजनीतिक संस्कारसँग जोडिएको विषय हो।

पार्टीमा समस्या छन् भने त्यसको निदान गर्नुपर्छ। औषधिले निको भएन भने थप उपचार गर्नुपर्छ। राजनीतिमा पनि कमीकमजोरी सुधार्दै जानुपर्छ।

अहिलेको राजनीतिक परिवेशमा एकातिर नयाँ धारको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरिरहेको छ भने ठीक उल्टोतिर केपी शर्मा ओली नेतृत्वको एमाले छ। कांग्रेसले आफ्नो स्थान कहाँ देखेको छ ?

मलाई लाग्छ, नयाँ पुस्ताको ऊर्जा र पुराना नेताको अनुभव दुवै आवश्यक छन्। पुरानाले केही गरेनन् भन्ने भाष्य पनि सही होइन, न्याय नै सबै कुरा हो भन्ने भाष्य पनि पर्याप्त हुँदैन।

हाम्रो समाजमा विभिन्न जाति, भाषा, भूगोल र समुदायका मानिस आपसमा मिलेर बसेका छन्। हामीले समाजलाई विभाजित मानसिकतातर्फ लैजानु हुँदैन। राजनीतिक दलहरूले पनि त्यसमा ध्यान दिनुपर्छ।

केपी शर्मा ओलीले उठाएका नयाँ पुस्तासम्बन्धी केही विषय र नयाँ पुस्ताले अघि सारेका विचारमध्ये उपयोगी पक्षलाई समेट्न सकिन्छ। अनुभव र नयाँ सोचको संयोजन नभई मुलुक अघि बढ्न कठिन हुन्छ।

नयाँ नेतृत्वमा अनुभवको कमी हुँदा समस्या आउन सक्छ भन्ने तपाईंको आशय हो ?

राजनीतिमा अनुभवको महत्त्व हुन्छ। अनुभव नभएको राजनीतिले कहिलेकाहीँ दुर्घटना निम्त्याउन सक्छ भन्ने चिन्ता छ। निर्णय गर्नु एउटा कुरा हो, त्यसलाई कसरी कार्यान्वयन गर्ने र त्यसको प्रभाव के पर्छ भन्ने बुझ्नु अर्को कुरा हो।

सरकारले गरेका निर्णय, बजेट र अध्यादेशजस्ता विषयमा पर्याप्त तयारी र समन्वय हुनुपर्छ। संसद् र जनतासँगको सम्बन्ध पनि महत्त्वपूर्ण हुन्छ। नयाँ पुस्ताको ऊर्जा आवश्यक छ, तर त्यसलाई अनुभव र संस्थागत प्रक्रियासँग जोड्नुपर्छ।

विशेष महाधिवेशनको मुख्य सन्देश के हो भन्ने लाग्छ ?

मुख्य सन्देश पार्टी एक हुनुपर्छ भन्ने हो। अहिले तेरो र मेरो भनेर झगडा गर्ने बेला होइन। पार्टी सबैको हुनुपर्छ, सबै अट्ने र सबैलाई समेट्ने वातावरण बनाउनुपर्छ।

अहिले छुटेका साथीहरूलाई पनि संवादमार्फत पार्टीमा जोड्नुपर्छ। यसमा मेरो भूमिका सकारात्मक हुन्छ। म सबैलाई समेटेर अघि बढ्ने पक्षमा छु।

तपाईंलाई सहमहामन्त्रीमा निर्वाचित गर्ने प्रतिनिधिहरूले तपाईंमाथि अपेक्षा राखेका छन्। अब आफ्नो भूमिका कसरी प्रस्तुत गर्नुहुन्छ ?

म सबैलाई धन्यवाद दिन चाहन्छु। मलाई कुनै एउटा गुटको मात्रै मान्छेका रूपमा होइन, धेरै साथीहरूले मन पराएको व्यक्तिका रूपमा हेर्नुभएको छ भन्ने विश्वास छ।

अहिले गगन थापा सभापति हुनुहुन्छ, म उहाँलाई पूर्ण समर्थन गर्छु र उहाँलाई सहयोग गरेर पार्टीलाई अघि बढाउनुपर्छ।

अहिले नै आन्तरिक शक्ति सङ्घर्षको कुरा गर्नु उचित हुँदैन। निर्वाचनको सबै परिणामसमेत आइसकेको छैन। अहिलेको प्राथमिकता पार्टीलाई एक बनाउने र जनताले अपेक्षा गरेको काम गर्ने हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?