+
+
Shares

साँघुरा गल्ली र ट्राफिक जाममा बिरामीको उद्धार गर्न काठमाडौंमा बाइक एम्बुलेन्स

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र ट्राफिक जामका कारण बिरामीसम्म पुग्न कठिन हुने समस्या समाधान गर्न शुक्रबारदेखि बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
  • महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क १०२ एम्बुलेन्स सेवा उपत्यकाका अन्य स्थानीय तहमा समेत विस्तार गरिएको सुनिता डंगोलले बताइन्।
  • डंगोलका अनुसार महानगरले अस्पताल र स्वास्थ्य संस्थालाई अनुदान दिँदै आएको छ, र कीर्तिपुरमा जलनका बिरामीको उपचार खर्च व्यहोर्ने कोष स्थापना गरिएको छ।

३० असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा गरिएको छ ।

महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित १३ वटा अस्पताल तथा स्वास्थ्य संस्थाका प्रतिनिधिसँगको छलफलमा डंगोलले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताइन् ।

‘काठमाडौंमा पर्याप्त एम्बुलेन्स छन्, तर समयमा सेवा दिन सकिएको छैन । ट्राफिक जामका कारण धेरैपटक एम्बुलेन्स समयमै पुग्न सक्दैन,’ उनले भनिन् ।

महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा निःशुल्क एम्बुलेन्स सेवा पनि सञ्चालन गर्दै आएको छ । १०२ नम्बरमा फोन गरेर लिन सकिने उक्त सेवा काठमाडौं महानगरपालिकामा मात्र सीमित नराखी उपत्यकाका अन्य स्थानीय तहमा समेत विस्तार गरिएको डंगोलले बताइन् ।

उनका अनुसार बाढीका बेला पनि १०२ नम्बरको सेवामार्फत उद्धार तथा स्वास्थ्य सेवामा छिटो प्रतिक्रिया दिन सहयोग पुगेको थियो ।

महानगरपालिकाले अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यकताअनुसार पूर्वाधार निर्माण, उपकरण खरिद र प्रत्यक्ष स्वास्थ्य सेवाका लागि अनुदान उपलब्ध गराउँदै आएको डंगोलले बताइन् । ती संस्थाले प्राप्त अनुदानको उपयोग, सेवा लिने बिरामीको सङ्ख्या र त्यसको प्रभावबारे महानगरपालिकासमक्ष प्रस्तुति दिएका थिए ।

कीर्तिपुरमा यसपटक पूर्वाधार वा उपकरणमा नभई प्रत्यक्ष स्वास्थ्य सेवाका लागि सहयोग गरिएको उनले जानकारी दिइन् । आर्थिक अभावका कारण जलनका बिरामी उपचारबाट वञ्चित नहोऊन् भनेर कोष स्थापना गरी आवश्यक बिरामीको उपचार खर्च व्यहोर्ने व्यवस्था गरिएको उनको भनाइ थियो ।

त्यस्तै, कान्ति बाल अस्पतालमा पूर्वाधार निर्माणका लागि सहकार्य भइरहेको, डल्लु क्षेत्रमा पूर्वाधार विकासमा सहयोग गरिएको र मनमोहन अस्पतालको सघन उपचार कक्ष स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको डंगोलले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?