+
+
Shares

मलेसियाले छानेका २५ म्यानपावरमाथि अनुसन्धान अधिकृत तोकेर छानबिन गर्दै विभाग

मलेसियामा नेपाली श्रमिक पठाउनका लागि मुख्य एजेन्सीका रूपमा सूचीकृत भएका २५ म्यानपावर कम्पनीमाथि वैदेशिक रोजगार विभागले अनुसन्धान अधिकृत तोकेर विस्तृत छानबिन थालेको छ ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८३ असोज ३० गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगार विभागले मलेसियामा नेपाली श्रमिक पठाउने २५ मुख्य म्यानपावर कम्पनीमाथि अनुसन्धान अधिकृत तोकेर विस्तृत छानबिन शुरू गरेको छ।
  • विभागले एफडब्लूसीएमएसअन्तर्गत सूचीकृत २५० सहायक एजेन्सीबाट पनि प्रशासनिक सोधपुछ र जवाफ अध्ययन गरिरहेको छ।
  • मलेसियाले सीमित एजेन्सीमार्फत मात्रै श्रमिक भर्ना गर्ने व्यवस्था अघि बढाएपछि नेपाल सरकार र व्यवसायीहरूले कूटनीतिक र प्राविधिक छलफल अघि बढाएका छन्।

३० असोज, काठमाडौं । मलेसियामा नेपाली श्रमिक पठाउनका लागि मुख्य एजेन्सीका रूपमा सूचीकृत भएका २५ म्यानपावर कम्पनीमाथि वैदेशिक रोजगार विभागले अनुसन्धान अधिकृत तोकेर विस्तृत छानबिन थालेको छ ।

मलेसियाले विदेशी श्रमिक भर्नाका लागि लागु गरेको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) अन्तर्गत नेपालका २५ म्यानपावर कम्पनीलाई मुख्य (प्रिन्सिपल) र २५० वटालाई सहायक (एसोसिएट) एजेन्सीका रूपमा सूचीकृत गरेको छ । मलेसियाले यही सूचीमा रहेका एजेन्सीमार्फत मात्रै नेपाली श्रमिक भर्ना गर्ने व्यवस्था अघि बढाएपछि नेपालमा त्यसको वैधानिकता र प्रक्रियाबारे विवाद चर्किएको छ ।

विभागले प्रारम्भिक स्पष्टीकरण सोध्ने चरणबाट अघि बढेर २५ मुख्य एजेन्सीमाथि अनुसन्धान अधिकृतमार्फत विस्तृत अनुसन्धान थालेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक नवराज ढकालले सम्बन्धित कम्पनीमाथि अनुसन्धान अधिकृत तोकेर कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनका अनुसार यसअघि कम्पनीहरूसँग स्पष्टीकरण माग गरिएको थियो । प्राप्त जवाफ अध्ययन गरेपछि थप अनुसन्धान गर्नुपर्ने देखिएकाले अनुसन्धान अधिकृत तोकिएको हो ।

‘पहिलेदेखि नै स्पष्टीकरण सोध्ने र प्रशासनिक कारबाहीको प्रक्रिया अघि बढिरहेको थियो । अहिले अनुसन्धान अधिकृत तोकेर अलि विस्तृत अनुसन्धान गर्ने चरणमा पुगेका छौँ,’ ढकालले भने ।

अनुसन्धान अधिकृतलाई सम्बन्धित कम्पनीका प्रतिनिधिलाई बोलाएर सोधपुछ गर्ने, बयान लिने र अनुसन्धानका क्रममा आवश्यक अन्य प्रक्रिया अघि बढाउने अधिकार हुने उनले बताए । अनुसन्धान अधिकृत तोक्ने व्यवस्था वैदेशिक रोजगार ऐनमै रहेको र सोही व्यवस्थाअनुसार प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

यो अनुसन्धान वैदेशिक रोजगार ऐनको दफा ६१ अन्तर्गत अघि बढाइँदै आएको छ । अनुसन्धानबाट प्राप्त विवरण र प्रमाणका आधारमा थप प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।

२५० सहायक एजेन्सीमाथि पनि सोधपुछ

विभागले २५ मुख्य एजेन्सीमाथि अनुसन्धान अधिकृत तोकेर विस्तृत अनुसन्धान अघि बढाए पनि २५० सहायक एजेन्सीको हकमा भने अहिले प्रशासनिक सोधपुछ र जवाफ अध्ययनको काम भइरहेको छ ।

महानिर्देशक ढकालका अनुसार सहायक एजेन्सीहरूबाट पनि जवाफ प्राप्त भइरहेको छ । ती जवाफ अध्ययन गरेर थप अनुसन्धान आवश्यक पर्ने वा नपर्ने विषयमा निर्णय गरिनेछ ।

‘अहिले २५० वटाको प्रशासनिक सोधपुछ गरिरहेका छौँ । उहाँहरूको जवाफ पनि आइरहेको छ । त्यसको अध्ययन गरेर अलि विस्तृत अनुसन्धानमा जान समय लाग्छ,’ उनले भने ।

विभागले मुख्य तथा सहायक एजेन्सीको सूचीमा परेका कम्पनीलाई उनीहरूको संलग्नता, छनोट प्रक्रिया र प्रतिस्पर्धालाई निरुत्साहित गर्ने गतिविधिबारे लिखित स्पष्टीकरण मागेको थियो । कम्पनीहरूले दिएको जवाफका आधारमा थप कानुनी प्रक्रिया अघि बढिरहेको विभागले जनाएको छ ।

मलेसियाले एफडब्लूसीएमएस प्रणालीमार्फत नेपालबाट श्रमिक भर्ना गर्ने प्रक्रियालाई सीमित एजेन्सीमा केन्द्रित गर्न खोजेपछि विवाद उत्पन्न भएको हो । नेपालका वैदेशिक रोजगार व्यवसायीले यसलाई खुला श्रम बजार र व्यवसायीबीचको प्रतिस्पर्धामा असर पार्ने व्यवस्थाका रूपमा प्रश्न उठाउँदै आएका छन् ।

नेपाल सरकारले पनि मलेसियाले तोकेको सूची र त्यसमा सहभागी हुने प्रक्रियाबारे असहमति जनाउँदै कूटनीतिक माध्यमबाट चासो राखेको थियो । यसअघि नेपालले मलेसियालाई पठाएको कूटनीतिक नोटमार्फत सीमित एजेन्सीको व्यवस्थाबारे आफ्नो धारणा राख्दै समस्या समाधानका लागि पहल गरेको थियो ।

तर मलेसियाले एफडब्लूसीएमएसबाहेक अन्य प्रक्रियाबाट नेपाली श्रमिक भर्ना नगर्ने जवाफ नेपाललाई पठाएको विषयले विवाद थप पेचिलो बनेको छ । विभागको अनुसन्धानले सूचीमा परेका कम्पनीहरूको भूमिका, उनीहरू संलग्न रहेको प्रक्रिया र त्यसमा कानुनविपरीत गतिविधि भए–नभएको विषय स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

मलेसियाको उक्त प्रतिकृयापछि सरकारले यो विवाद कसरी समाधान गर्ने भन्ने विषयमा छलफल थालेको छ । श्रम मन्त्रालयका प्रवक्ता मिरा आचार्यका अनुसार मन्त्रालय तथा अन्य सरोकारवाला निकायबीच छलफल भइरहेको छ ।

उक्त समस्याको समाधान के हुन सक्छ भन्ने विषयमा मन्त्रालयले विभिन्न विकल्पहरूमा छलफल गरिरहेको छ । त्यस्तै मलेसियासँगको संयुक्त प्राविधिक समितिको बैठकलाई समेत जतिसक्दो चाँडो बोलाउनेगरी गृहकार्य अघि बढाएको छ ।

नेपालले प्राविधिक समितिको बैठकका लागि मलेसियालाई ताकेता गर्दै आएपनि मलेसियाले हालसम्म जवाफ दिएको छैन । त्यसैले अब नेपालबाट मिति नै प्रस्ताव गरेर पठाउनेगरी तयारी थालेको हो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिक बहादुर खत्रीले भने यो मलेसियाको हेपाह प्रवृत्ति भएको र यसलाई नेपालले अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए ।

‘श्रमिकलाई आर्थिक शोषण गर्न विभिन्न षड्यन्त्र खडा गर्ने र त्यसलाई हामीले मानिदिनिुपर्ने ?’ उनले प्रश्न गरे । यस्तो लाजमर्दो विधि स्वीकार गर्न नसकिने उनले तर्क गरे ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?