+
+
Shares

चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट, कुन संस्थाले कति पाए ?

यसवर्ष ९० वटा शिक्षण संस्थाले सिट निर्धारणका लागि स्वमूल्यांकन फारम भरेर आवेदन दिएका थिए । ती संस्थाले माग गरेको सिटबारे सम्बन्धित निकायबाट अनुगमन गरिएको थियो ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ असोज ३० गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिकित्सा शिक्षा आयोगको २८औँ बैठकले शैक्षिक सत्र २०८३/८४ का लागि ८४ शिक्षण संस्थामा ९ हजार ६९१ सिट निर्धारण गर्दै ४१८ सिट थप गरेको छ।
  • एमबीबीएसतर्फ ११० सिट थपिँदा गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पहिलोपटक ५० सिट र बीपी तथा नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३०/३० सिट दिइएको छ।
  • बीएस्सी नर्सिङमा २१० सिट र बीएमएसमा ९८ सिट थपिएको आयोग स्रोतले जनाएको छ, भने निजी मेडिकल कलेजको सिट संख्या यथावत् राखिएको छ।

३० असोज, काठमाडौं । सरकारले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमतर्फ ४१८ सिट थप गरेको छ । चिकित्सा शिक्षा आयोगको २८औँ बैठकले एमबीबीएस, बीएस्सी नर्सिङ र बीएमएसलगायतका शैक्षिक कार्यक्रममा गत वर्षको तुलनामा ४१८ सिट वृद्धि गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०८३/८४ का लागि ८४ वटा शिक्षण संस्थामा विभिन्न तह र विषयका गरी कूल ९ हजार ६९१ सिट निर्धारण गरेको आयोग स्रोतले बतायो ।

स्रोतका अनुसार, यस वर्ष एमबीबीएसमा मात्रै ११० सिट थप गरिएको छ ।

यस वर्षको सिट निर्धारणमा सरकारी शिक्षण संस्थाको क्षमता विस्तारलाई प्राथमिकता आयोग स्रोतले बतायो । ‘आयोगले निजी मेडिकल कलेजहरूको सिट संख्या भने बढाएको छैन । सरकारी शिक्षण संस्थामा उपलब्ध पूर्वाधार, जनशक्ति र अनुगमन प्रतिवेदनका आधारमा सिट थप गर्ने निर्णय भएको हो,’ स्रोतले भन्यो ।

आयोगका अनुसार यसवर्ष ९० वटा शिक्षण संस्थाले सिट निर्धारणका लागि स्वमूल्यांकन फारम भरेर आवेदन दिएका थिए । ती संस्थाले माग गरेको सिटबारे सम्बन्धित निकायबाट अनुगमन गरिएको थियो । अनुगमनबाट प्राप्त प्रतिवेदनका आधारमा ८४ वटा संस्थाको सिट निर्धारण गरिएको हो ।

शिक्षण संस्थाले सिट माग गर्दैमा स्वीकृति नदिइने र उपलब्ध भौतिक पूर्वाधार, शिक्षक तथा जनशक्तिको अवस्था र अन्य आवश्यक मापदण्डको अनुगमनपछि मात्रै सिट निर्धारण गरिने आयोग स्रोतको भनाइ छ ।

एमबीबीएस कार्यक्रममा यस वर्ष ११० सिट थप गरिएको छ । आयोगले कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पहिलोपटक एमबीबीएस अध्ययनका लागि ५० सिट निर्धारण गरेको छ । यस निर्णयसँगै विश्वविद्यालयमा चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सिट सुनिश्चित भएको छ ।

त्यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेनाद्वारा सञ्चालित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एमबीबीएसका सिट बढाइएको छ । दुवै संस्थामा गत वर्षको तुलनामा ३०/३० सिट थप गरिएको आयोग स्रोतले जनाएको छ ।

गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई निर्धारण गरिएको ५० सिट र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप गरिएका ३०/३० सिट जोड्दा एमबीबीएसतर्फ कुल ११० सिट वृद्धि हुन्छ ।

आयोगले यस वर्ष बीएस्सी नर्सिङ कार्यक्रममा गत वर्षको तुलनामा यस कार्यक्रममा २१० सिट वृद्धि गरिएको आयोग स्रोतले जानकारी दिएको छ । यसैगरी, बीएमएस कार्यक्रममा गत वर्षको तुलनामा ९८ सिट थप गरिएको छ ।  आयोगले विभिन्न शैक्षिक कार्यक्रमको माग, संस्थाको क्षमता र अनुगमन प्रतिवेदनका आधारमा यस वर्षको सिट निर्धारण गरेको हो ।

‘एमबीबीएस, बीएस्सी नर्सिङ र बीएमएसमा केन्द्रित छ । निजी मेडिकल कलेजको सिट संख्या भने यथावत् राखिएको छ,’ आयोग स्रोतले भन्यो ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?