+
+
Shares

विपद्का घाउमा मलम लगाउँदै समृद्धिको बाटोमा अघि बढ्छौं : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३१ गते १०:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्रीले बडादसैँको शुभकामना दिँदै रसुवा, नुवाकोट र गोरखाका विपद् प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
  • उनले विस्थापित नागरिकको पुनःस्थापना, राहत र आर्थिक समृद्धिलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।
  • प्रधानमन्त्रीले दसैँलाई एकता, आत्मीयता र सुशासनसँग जोड्दै समाजमा खराब प्रवृत्तिको अन्त्य गर्न सबैलाई आग्रह गरेका छन्।

३१ असोज, काठमाडौं । प्रधानमन्त्रीले बडादसैँको शुभकामना दिँदै विपद्‍‍मा मृत्यु भएका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले विस्थापित नागरिकको पुनःस्थापना, आर्थिक समृद्धि र सुशासनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।

शुभकामना सन्देश जारी गर्दै उनले रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएका विनाशकारी घटनाको शोक ताजा रहेकै बेला दसैँ आएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘ज्यान गुमाउनुभएकाहरूको चिरात्माको शान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु। सिङ्गो देशका तर्फबाट शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु।ु

विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै उनले विपद्बाट प्रभावित नागरिकलाई राहत र पुनःस्थापनाको आश्वासन दिएका छन्।

प्रधानमन्त्रीले दसैँलाई धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्व बोकेको एकता तथा आत्मीयताको पर्वका रूपमा चित्रण गरेका छन्। परिवार र आफन्तसँग भेटघाट गर्ने, ठूलाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्पराले नेपाली समाजमा पारिवारिक सम्बन्ध र सांस्कृतिक मूल्यलाई बलियो बनाएको उनको भनाइ छ।

उनले दसैँको सन्देशलाई सत्यको विजयसँग जोड्दै समाजमा रहेका खराब प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन्। ‘सामाजिक रूपमा आसुरी प्रवृत्तिको पराजय होस् र आत्मिक रूपमा हामी हरेकले आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ तथा तिनमाथि विजय प्राप्त गर्न सकौँ’, उनले भनेका छन्।

प्रधानमन्त्रीले रोजगारी र अवसरको अभावमा विदेशिन बाध्य नेपालीको पीडालाई पनि दसैँको सन्दर्भमा स्मरण गरेका छन्। चाडपर्वमा परिवारसँग भेट्न चाहँदाचाहँदै पनि घर फर्कन नपाउने नेपालीको अवस्था बदल्न सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ छ। उनले भनेका छन्, ‘आर्थिक कारणले नै दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्नु हुँदैन भन्नेमा हामी सचेत छौँ।’

आर्थिक सम्पन्नताले चाडपर्वको रौनक बढाउने उल्लेख गर्दै उनले देशलाई सुशासनको मार्गमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्रीले सत्य र सुशासनको बाटोमा अघि बढ्न सबैलाई आग्रह गर्दै दसैँले देशमा सुख, शान्ति, आरोग्य र समृद्धि ल्याउने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?