+
+
Shares

भूकम्पले क्षतिग्रस्त जाजरकोट दरबारमा जगतिपुरबाट ल्याइयो फूलपाती र खर्कदेवता

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३१ गते १२:०२

३१ असोज, जाजरकोट । भूकम्पले क्षतिग्रस्त जाजरकोटको ऐतिहासिक दरबारमा दसैँको फूलपातीका अवसरमा शनिबार जगतिपुरबाट खर्कदेवता र फूलपाती भित्र्याइएको छ ।।

पुरानो राजधानी जगतिपुरबाट ल्याइएको खड्गदेवतासहितको फूलपातीलाई परम्परागत विधिअनुसार जाजरकोट दरबारमा भित्र्याइएको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी नवराज बरालको संयोजकत्वमा असोज २८ गते बसेको बैठकले जगतिपुरबाट खर्कदेवता र फूलपातीलाई व्यवस्थित रूपमा जाजरकोट दरबारमा भित्र्याउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार यस वर्षको फूलपाती भित्र्याइएको हो ।

जाजरकोटको ऐतिहासिक पहिचान र धार्मिक आस्थासँग जोडिएको यो परम्परा लामो समयदेखि चल्दै आएको छ । सशस्त्र द्वन्द्वका कारण २०५५ सालतिर जगतिपुरबाट खड्गदेवता ल्याउने परम्परा रोकिएपछि खलंगास्थित कालिका मन्दिरबाट दरबारमा भित्र्याउने गरिएको थियो । २६ वर्षपछि २०८१ सालमा पुन: जगतिपुरबाटै खड्गदेवतासहित फूलपाती ल्याउने परम्परालाई निरन्तरता दिइएको थियो ।

पुरानो राजधानी जगतिपुरसँग जोडिएको परम्परा

जाजरकोट राज्यको पुरानो राजधानी जगतिपुरबाट दसैँको सप्तमीमा खड्गदेवता र फूलपाती ल्याएर खलंगास्थित दरबारमा भित्र्याउने चलन रहेको छ । यस परम्परामा खड्गलाई शक्ति र जाजरकोट राज्यको ऐतिहासिक पहिचानको प्रतीकका रूपमा लिने गरिन्छ ।

ऐतिहासिक विवरणअनुसार विक्रम संवत् १८२५ मा गोरखाका राजा पृथ्वीनारायण शाह र तत्कालीन जाजरकोटी राजा हरि शाहबीच काशीमा धर्मसन्धि तथा मितेरी सम्बन्ध कायम भएको थियो । सोही क्रममा पृथ्वीनारायण शाहले जाजरकोटी राजालाई शक्तिको प्रतीकका रूपमा खड्ग उपहार दिएको इतिहासविद्हरूले उल्लेख गर्दै आएका छन् ।

पछि जाजरकोट राज्यको राजधानी जगतिपुरबाट खलंगामा सारिएपछि फूलपातीका दिन विशेष पूजाआजासहित खड्गदेवता दरबारमा ल्याउने परम्परा सुरु भएको मानिन्छ । यही परम्पराले जाजरकोटको इतिहास, धार्मिक विश्वास र सांस्कृतिक मौलिकतालाई पुस्तौँदेखि जोड्दै आएको छ ।

भग्नावशेष बन्दै गएको दरबारमा सांस्कृतिक निरन्तरता

जाजरकोट सदरमुकाम खलंगामा रहेको ऐतिहासिक दरबार अहिले संरक्षणको चुनौतीमा छ । वि.सं. १८५२ मा तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा निर्माण भएको मानिने दरबारले १९९० साल, २०४५ साल तथा पछिल्ला भूकम्पबाट क्षति बेहोरेको छ ।

विशेषगरी २०७२ सालको भूकम्प र २०८० कात्तिक १७ गतेको विनाशकारी भूकम्पपछि दरबारको संरचना थप कमजोर बनेको थियो । समयमै संरक्षण तथा पुनर्निर्माण हुन नसक्दा २०८३ सालमा दरबारको केही भाग भत्किएको छ । हाल दरबारको मौलिक स्वरूप नै हराउने जोखिम बढेको जाजरकोट सम्पदा संरक्षण प्रतिस्ठानका अध्यक्ष जनक केसीले बताए ।

दरबारको भौतिक संरचना जीर्ण बन्दै गए पनि त्यससँग जोडिएको फूलपाती भित्र्याउने परम्पराले निरन्तरता पाउनु जाजरकोटको सांस्कृतिक जीवनका लागि महत्वपूर्ण छ । ऐतिहासिक सम्पदाको संरक्षणसँगै त्यसमा जोडिएका धार्मिक तथा सांस्कृतिक अभ्यासको अभिलेखीकरण र निरन्तरताले पनि जिल्लाको पहिचान जोगाउन सहयोग पुग्ने देखिन्छ ।

स्थानीय इतिहास र परम्परासँग जोडिएको जाजरकोट दरबारको संरक्षण तथा पुनर्निर्माणमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यकता छ । दरबारको भौतिक संरचना र जगतिपुरबाट फूलपाती ल्याउनेजस्ता सांस्कृतिक परम्परा दुवैको संरक्षण हुन सके मात्रै भावी पुस्तामा जाजरकोटको ऐतिहासिक विरासत हस्तान्तरण गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?