News Summary
Generated by OK AI. Editorially reviewed.- दशैंमा घर फर्किने हतारो र खानपानको व्यस्तताबीच दीर्घरोगीले नियमित औषधि छुटाउन नहुने मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुले बताउनुभयो ।
- डा. कोजुले यात्रा सुरु गर्नुअघि औषधि पर्याप्त छ कि छैन जाँच्न, नाम–मात्रा राख्न र इन्सुलिनलगायत औषधि सहजै भेटिने ठाउँमा राख्न सुझाव दिनुभयो ।
- उहाँले औषधि छुटेमा दोब्बर मात्रा नखान, चिकित्सक वा फार्मासिस्टसँग सल्लाह लिन र खानपान तथा व्यायाममा नियमितता कायम राख्न आग्रह गर्नुभयो ।
३१ असोज, काठमाडौं । दशैं मनाउन घर फर्किने हतारो, लामो यात्रा, आफन्तसँगको भेटघाट र खानपानको रमाइलो हुन्छ । चाडपर्वको यही व्यस्ततामा धेरैले आफ्नो नियमित स्वास्थ्य हेरचाहलाई प्राथमिकतामा राख्न बिर्सन्छन् । विशेषगरी उच्च रक्तचाप, मधुमेह, मुटुरोग, दम र मिर्गौलासम्बन्धी दीर्घकालीन स्वास्थ्य समस्या भएका व्यक्तिले नियमित सेवन गर्नुपर्ने औषधि छुटाउने जोखिम बढी हुन्छ ।
घर जाने हतारमा औषधि बोक्न बिर्सिन सक्छन् । कतिपयको औषधि सकिन सक्छ भने कतिपयले दशैंमा खानपान र सुत्ने समय परिवर्तन हुँदा औषधि खाने तालिका मिलाउन सक्दैनन् । केहीले एक-दुई दिन औषधि नखाँदा केही हुँदैन भन्ने सोचेर पनि लापरबाही गर्न सक्छन् । तर, दीर्घरोगीका लागि औषधि सेवनमा हुने यस्तो लापरबाहीले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।
मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुका अनुसार मुटुरोग भएका व्यक्तिले नियमित सेवन गरिरहेको औषधि कुनै पनि अवस्थामा लापरबाहीपूर्वक छाड्नु हुँदैन । उच्च रक्तचाप नियन्त्रण गर्ने, मुटुको कार्यक्षमता सुधार गर्ने र रगत जम्ने जोखिम घटाउने औषधि नियमित सेवन गर्नु आवश्यक हुन्छ । यस्ता औषधि छुट्दा रोगको अवस्था बिग्रिन सक्छ र कतिपय अवस्थामा ज्यानै जोखिममा पर्न सक्छ ।
विशेषगरी रगत पातलो बनाउने औषधि सेवन गरिरहेका बिरामीले औषधि छुटाउन नहुने डा. कोजु बताउँछन् । यस्ता औषधि मुटु वा रक्तनलीमा रगत जम्ने जोखिम भएका बिरामीले सेवन गर्नुपर्ने हुन्छ ।
चिकित्सकको सल्लाहबिना औषधि रोक्दा रगत जम्ने र हृदयाघातजस्ता गम्भीर समस्या हुने जोखिम बढ्न सक्छ । त्यसैगरी उच्च रक्तचापको औषधि छुट्दा रक्तचाप अनियन्त्रित हुन सक्छ, जसले हृदयाघात, मस्तिष्कघात तथा अन्य जटिलता निम्त्याउने डा. कोजु बताउँछन् ।
यात्राअघि नै औषधिको व्यवस्था
दशैंमा घर जाने तयारी गर्दा कपडा, खानेकुरा र उपहारको व्यवस्थापनमा ध्यान दिइन्छ । तर नियमित सेवन गर्नुपर्ने औषधिको व्यवस्था छुट्न सक्छ । दीर्घरोगीले यात्रा सुरु गर्नुअघि आफूले नियमित खाने औषधि पर्याप्त छ कि छैन भनेर जाँच गर्नुपर्छ ।
यात्रा कति दिनको हो भन्ने हिसाब गरेर आवश्यक औषधि साथमा राख्नुपर्छ। सम्भव भए केही दिनका लागि थप औषधिसमेत व्यवस्था गर्नु उपयुक्त हुन्छ । औषधि सकिएपछि बाटोमा वा गाउँमा सजिलै पाइन्छ भन्ने निश्चित हुँदैन । विशेषगरी इन्सुलिन, दमका बिरामीले प्रयोग गर्ने इनहेलर तथा केही विशेष औषधि सबै ठाउँमा सहजै उपलब्ध नहुन सक्छन् ।
नियमित औषधि सेवन गरिरहेका व्यक्तिले औषधिको नाम, मात्रा र खाने समयबारे जानकारी राख्नु राम्रो हुन्छ। चिकित्सकले दिएको प्रेस्क्रिप्सन पनि साथमा राख्न सकिन्छ ।
यात्राका क्रममा औषधि सहजै भेटिने ठाउँमा राख्नु उपयुक्त हुन्छ । सबै औषधि गाडीको डिक्कीमा वा अत्यधिक गर्मी हुने ठाउँमा राख्नु हुँदैन । औषधिको प्याकेटमा दिइएको भण्डारणसम्बन्धी निर्देशन पालना गर्नुपर्छ । औषधि खाने समय सम्झन मोबाइलमा अलार्म राख्न सकिन्छ। नियमित औषधि सेवन गर्ने ज्येष्ठ नागरिकलाई परिवारका सदस्यले पनि समयमै औषधि खाए–नखाएको सम्झाइदिन सक्छन्।
औषधि छुटेमा के गर्ने ?

सावधानी अपनाउँदासमेत कहिलेकाहीँ औषधि सेवन गर्न बिर्सिन सक्छ । यस्तो अवस्थामा छुटेको औषधि सम्झनासाथ के गर्ने भन्ने कुरा औषधिको प्रकार र अर्को मात्रा खाने समय कति नजिक छ भन्नेमा निर्भर हुन्छ ।
मुटुरोग विशेषज्ञ डा. कोजुका अनुसार नियमित सेवन गर्नुपर्ने मुटु र उच्च रक्तचापका औषधि छुट्न नदिन विशेष ध्यान दिनुपर्छ । कुनै कारणले औषधि छुटेको थाहा भएमा सकेसम्म चाँडै आवश्यक व्यवस्था गर्नुपर्छ। नजिकको औषधि पसलबाट औषधि उपलब्ध हुन सक्छ, तर त्यसका लागि औषधिको नाम र मात्रा सही रूपमा पहिचान गर्नुपर्छ ।
औषधि छुटेको अवस्थामा सबै औषधिका लागि एउटै नियम लागू हुँदैन। त्यसैले छुटेको मात्रा पूर्ति गर्न भन्दै एकैपटक दोब्बर औषधि खानु हुँदैन । अर्को मात्रा कहिले खाने वा छुटेको मात्रा कसरी मिलाउने भन्नेबारे औषधिसँग दिइएको निर्देशन हेर्नुपर्छ । अन्योल भए चिकित्सक वा फार्मासिस्टसँग सल्लाह लिनुपर्छ। विशेषगरी मधुमेहका बिरामीले इन्सुलिन वा रगतमा चिनीको मात्रा घटाउने औषधिको मात्रा आफैँले परिवर्तन गर्नु हुँदैन ।
खानपान र व्यायाममा पनि नियमितता
दशैं भन्नेबित्तिकै मिठो खानेकुरा, मासु, मिठाई र पारिवारिक जमघट सम्झिन्छ । चाडपर्वमा खानपानको मात्रा बढ्ने र शारीरिक गतिविधि घट्ने सम्भावना हुन्छ। तर दीर्घरोगीले चाडपर्व भन्दैमा खानपान र दैनिकीमा अत्यधिक परिवर्तन गर्नु हुँदैन ।
डा. कोजुका अनुसार औषधि सेवनसँगै खानपान र शारीरिक व्यायाममा पनि नियमितता कायम राख्नु आवश्यक छ । दशैंमा मिठो खानेकुरा उपलब्ध हुँदैमा आवश्यकताभन्दा बढी खानु राम्रो होइन । आफूलाई भएको रोगअनुसार खानपानमा ध्यान दिनुपर्छ ।
उच्च रक्तचाप र मुटुरोग भएका व्यक्तिले अत्यधिक नुनिलो तथा चिल्लो खानेकुरा सेवनमा सावधानी अपनाउनुपर्छ । मधुमेह भएका व्यक्तिले मिठाई तथा गुलियो परिकारको मात्रा नियन्त्रण गर्नुपर्छ । मिर्गौला वा मुटुको समस्याका कारण तरल पदार्थको मात्रा सीमित गर्न भनिएका बिरामीले चिकित्सकको निर्देशन पालना गर्नुपर्छ ।
त्यस्तै, दशैंमा शारीरिक व्यायाम पूर्ण रूपमा छाड्नु हुँदैन। आफ्नो स्वास्थ्य अवस्था र क्षमताअनुसार हिँडडुल गर्ने तथा नियमित शारीरिक गतिविधि कायम राख्ने गर्नुपर्छ। यद्यपि मुटुरोग वा अन्य स्वास्थ्य समस्याका कारण व्यायाममा विशेष सीमा तोकिएको छ भने चिकित्सकको सल्लाहअनुसार मात्रै गतिविधि गर्नुपर्ने डा. कोजु बताउँछन् ।
चाडपर्वमा मदिरा सेवन गर्ने चलन पनि हुन्छ। तर दीर्घरोग भएका व्यक्तिले मदिराले औषधिको प्रभाव, रक्तचाप, रगतमा चिनीको मात्रा वा मुटुको चालमा पार्न सक्ने असरलाई ध्यान दिनुपर्छ।
दशैंमा परिवारका सदस्य एकै ठाउँमा भेला हुने भएकाले दीर्घरोग भएका व्यक्तिको स्वास्थ्य व्यवस्थापनमा परिवारले सहयोग गर्न सक्छ । विशेषगरी नियमित रूपमा धेरै प्रकारका औषधि सेवन गर्ने ज्येष्ठ नागरिकलाई औषधिको व्यवस्था गर्न, खाने समय सम्झाउन र खानपानमा ध्यान दिन परिवारको सहयोग आवश्यक पर्न सक्छ ।
डा. कोजुका अनुसार दशैंमा पनि अन्य समयजस्तै औषधि, खानपान र व्यायाममा ध्यान दिनु आवश्यक छ। नियमित रूपमा गरिरहेका स्वास्थ्यसम्बन्धी अभ्यासलाई चाडपर्वका कारण रोक्नु हुँदैन । घर जाने यात्राको तयारी गर्दा औषधिलाई पनि उत्तिकै प्राथमिकता दिन सके दशैंलाई सुरक्षित र सहज बनाउन सकिन्छ ।
प्रतिक्रिया 4