News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्।
- दसैँमा नुवाकोटको एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामान किनेकी तामाङको कुपन नम्बर गोलाप्रथाबाट बम्पर उपहारका लागि छनोट भएको थियो।
- विभागले १६ दैनिक विजेतासमेत छनोट गरेको छ र उनीहरूले कात्तिक १५ गतेभित्र सक्कल बिलसहित कर्यालयमा पुगेर पुरस्कार दाबी गर्नुपर्ने जनाएको छ।
१ कात्तिक, काठमाडौं । नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन् ।
दसैँका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट बम्पर उपहारका लागि छनोट भएको हो ।
काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्पर तथा दैनिक विजेताको घोषणा गरेका थिए । विजेता घोषणा भएलगत्तै उनीहरूले तामाङलाई फोन गरेर १० लाख रुपैयाँ जितेको जानकारी गराएका थिए ।
सुरुमा कसैले जिस्क्याएको ठानेकी तामाङलाई कलाकारद्वयले यो नेपाल सरकारको आधिकारिक कार्यक्रम भएको बताएपछि आफूले उपहार जितेको विश्वास लागेको थियो ।
आन्तरिक राजस्व विभागका अनुसार कार्यक्रममा बम्पर उपहारबाहेक १६ जना दैनिक विजेता पनि छनोट भएका छन् । असोज १६ देखि ३१ गतेसम्मका प्रत्येक दिनका एक–एक जना विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
दैनिक उपहारको घोषित राशि जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ भए पनि कर कट्टीपछि विजेताको खातामा १ लाख रुपैयाँ जम्मा हुनेछ ।
विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले उपभोक्तामा सामान तथा सेवा खरिद गर्दा बिल लिने बानीको विकास गराउन कार्यक्रम सञ्चालन गरिएको बताए ।
उनका अनुसार असोज १६ देखि ३१ गतेसम्मको अवधिमा २ लाख ७५ हजार ८८४ कारोबार बिल प्रविष्ट गरेर कार्यक्रममा सहभागी भएका थिए । क्यूआर भुक्तानीमार्फत स्वत: दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३८० कारोबारसमेत जोड्दा कुल ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार उपहार छनोट प्रक्रियामा समावेश भएका थिए ।
बम्पर तथा दैनिक उपहारका सबै विजेताले आगामी कात्तिक १५ गतेभित्र आफूले सामान खरिद गर्दा प्राप्त गरेको सक्कल बिलसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा पुगेर पुरस्कार दाबी गर्नुपर्ने विभागले जनाएको छ ।
प्रतिक्रिया 4