१ कात्तिक, काठमाडौं । बुढीगण्डकी बाढीका कारण सम्पर्कविच्छेद भएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले हेलिकप्टरमार्फत राहत सामग्री पुर्याएको छ ।
चाडपर्वका बेला पनि प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन रेडक्रस सक्रिय रहेको सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले बताए ।
बाढीबाट प्रभावित परिवारका लागि दाल, चामललगायत खाद्य सामग्री तथा कम्बल, त्रिपाल र खाना पकाउने भाँडाकुँडाजस्ता अत्यावश्यक सामग्री वितरण गरिएको भण्डारीले जानकारी दिए ।
भौगोलिक विकटता र कठिन परिस्थितिका कारण प्रभावित बस्तीसम्म राहत पुर्याउन चुनौती भए पनि सहयोगलाई निरन्तरता दिइएको रेडक्रसले जनाएको छ ।
रेडक्रसको आपत्कालीन कार्य सञ्चालनमार्फत बाढी प्रभावित जिल्लासँग समन्वय र सम्पर्क गरी आवश्यकताअनुसार राहत सामग्री वितरण भइरहेको छ ।
चाडपर्व परिवारसँग खुसी साट्ने र प्रियजनसँग समय बिताउने अवसर भए पनि बाढीले घरबस्ती प्रभावित बनाएपछि चुमनुब्रीका धेरै परिवारका लागि यो समय कठिन बनेको छ । यस्तो अवस्थामा प्रभावित परिवारको दैनिक जीवनयापनमा सहयोग पुर्याउन राहत वितरणलाई निरन्तरता दिइएको रेडक्रसले जनाएको छ ।
प्रतिक्रिया 4