+
+
Shares

चाडपर्वको मुखमा महँगी बढेको भन्दै सांसदहरूले गरे सरकारको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसदहरूले बढ्दो महँगी, बाढीपछिको पुनर्स्थापनाको सुस्तता र सञ्चार क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
  • सांसद बलावती शर्माले दशैं–तिहारको मुखमा तरकारी र मासुको मूल्य अस्वाभाविक बढेको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाइन्।
  • सांसद बुद्धरत्न महर्जनले बाढी प्रभावित परिवार अझै टहरामा बस्न बाध्य भएकाले एकमुष्ट राहत तथा पुनर्स्थापना प्याकेज घोषणा गर्न माग गरे।

७ असोज, काठमाडौं । सांसदहरूले मुलुकमा बढ्दो महँगी, प्राकृतिक विपद्पछिको पुनर्स्थापनामा देखिएको सुस्तता र सञ्चार क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

चाडपर्वको मुखमा भइरहेको मूल्यवृद्धि र बाढीपीडितको कष्टकर जीवनशैलीलाई लिएर सांसदहरूले सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने माग गरेका हुन् ।

सांसद बलावती शर्माले दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाइन् । उनले मौसमी पूर्वानुमानलाई मध्यनजर गर्दै बाढीबाट नागरिकलाई सुरक्षित राख्न सरकारको पूर्वतयारीबारे समेत प्रश्न गरिन् ।

‘दशैं–तिहारको मुखमा तरकारी र मासुको मूल्य अस्वाभाविक बढेको छ, तर सरकारले वाह्य कारण देखाएर पन्छिने गरेको छ,’ उनले भनिन् ।

सांसद बुद्धरत्न महर्जनले विपद् प्रभावित परिवारहरू अझै पनि अस्थायी टहरामा बस्न बाध्य भएको भन्दै एकमुष्ट राहत तथा पुनर्स्थापना प्याकेज घोषणा गर्न माग गरे ।

सांसद भरतप्रसाद पराजुलीले बाढीमा बेपत्ता भएकाहरूको अवस्थाबारे सरकारले प्रस्ट पार्नुपर्ने र मृतकसरहको राहत व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए ।

सञ्चार क्षेत्रको विषय उठाउँदै सांसद बुद्धिप्रसाद पन्तले सरकारी विज्ञापनमा गरिएको कटौती र पत्रकार महासंघको आन्दोलनप्रति ऐक्यवद्धता जनाए । उनले स्वतन्त्र सञ्चार माध्यमलाई सबल बनाउनुपर्नेमा सरकारका नीतिहरूले संकटमा पारेको आरोप लगाए ।

सांसद विश्वराज पोखरेलले इलाका प्रशासन कार्यालय स्थापनाको माग दोहोर्‍याए भने सांसद विना गुरुङले सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभाव र भौतिक पूर्वाधारको दुरवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण गराए ।

साथै, सांसद भरत गिरीले चाडपर्वको अवसरमा हुने सडक दुर्घटना न्यूनीकरणका लागि प्रमुख राजमार्गहरूको सुरक्षा अडिट र सवारी साधनको फिटनेस परीक्षण कडाइका साथ गर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?