+
+
Shares

लमजुङमा २४ पिर्के रोहोटे पिङ, संरक्षणसँगै पर्यटक आकर्षित गर्ने प्रयास

दशैंका बेला गाउँघरमा प्राय चार पिर्के रोहोटे पिङ देख्न पाइन्छ । तर, त्यसको तुलनामा २४ पिर्के पिङ दुर्लभ मानिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २ गते ७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लमजुङको मध्यनेपाल नगरपालिका–१०, हाँडीखोला बर्धानमा फूलपातीका दिन विधिवत् पूजाआराधना गरी २४ पिर्के रोहोटे पिङ सञ्चालनमा ल्याइएको छ।
  • वडाध्यक्ष रामचन्द्र भण्डारीका अनुसार तीन वर्षदेखि हरेक दशैंमा पिङ सञ्चालन हुँदै आएको छ र खेल्न आउनेसँग शुल्क लिइँदैन।
  • नगरपालिकाले परम्परागत पिङ संरक्षणका लागि तीन लाख रुपैयाँ सहयोग गरेको छ भने दुरा समुदायको संस्कृति झल्काउने सांस्कृतिक घर पनि निर्माण गरिएको छ।

२ कात्तिक, चितवन । लमजुङको मध्यनेपाल नगरपालिका–१०, हाँडीखोला बर्धानमा २४ पिर्के रोहोटे पिङ सञ्चालनमा ल्याइएको छ ।

दशैंका बेला गाउँघरमा प्राय चार पिर्के रोहोटे पिङ देख्न पाइन्छ । तर, त्यसको तुलनामा २४ पिर्के पिङ दुर्लभ मानिन्छ ।

विगतमा लमजुङ, गोरखा र तनहुँका विभिन्न ठाउँमा आठ, १२ र १६ पिर्केसम्मका पिङ देख्न पाइने भए पनि पछिल्लो समय यस्ता पिङ हराउँदै गएका छन् ।

मध्यनेपाल नगरपालिका–१० का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रामचन्द्र भण्डारीका अनुसार फूलपातीका दिन विधिवत् पूजाआराधना गरी २४ पिर्के रोहोटे पिङ सञ्चालनमा ल्याइएको हो । तीन वर्षदेखि हरेक दशैंमा पिङ सञ्चालन गरिँदै आएको उनले बताए ।

‘दशैंको परम्परा र सांस्कृतिक महत्त्व झल्काउने पिङ सञ्चालनमा आएपछि यस क्षेत्रमा चाडपर्वको रौनक थपिएको छ,’ भण्डारीले भने, ‘पिङको चर्चा बढेसँगै खेल्न आउनेको संख्या पनि बढ्दै गएको छ । जीवनमा एकपटक भए पनि २४ पिर्के पिङ खेलेर अनुभव लिने चाहनासहित मानिसहरू यहाँ आउने गरेका छन् ।’

पिङ खेल्न आउनेसँग कुनै शुल्क लिने गरिएको छैन । स्थानीय युवाले पिङ हल्लाएर खेल्न सहयोग गर्दै आएका छन् ।

तीन वर्षदेखि नगरपालिकाको सहयोग

परम्परागत पिङको संरक्षणका लागि नगरपालिकाले सुरुमा तीन लाख रुपैयाँ सहयोग गरेको थियो । त्यसपछि स्थानीयको चन्दा संकलन र श्रमदानबाट पनि पिङ निर्माण तथा सञ्चालनमा सहयोग हुँदै आएको छ ।

पिङ निर्माण गर्न स्थानीय आफैँ अग्रसर भएको वडाध्यक्ष भण्डारीले बताए । उनका अनुसार ३०–४० वर्षअघि लमजुङ, गोरखा र तनहुँका विभिन्न ठाउँमा यस्ता पिङ देख्न पाइन्थ्यो । अहिले हराउँदै गएकाले नयाँ पुस्तालाई परम्परागत पिङको परिचय दिन यसको संरक्षण गरिएको हो ।

२४ पिर्के पिङसँगै सोही स्थानमा आठ पिर्के परम्परागत काठे पिङ पनि निर्माण गरिएको छ । मानिसको चहलपहल कम भएका बेला आठ पिर्के पिङ सञ्चालन गर्ने गरिएको भण्डारीले बताए ।

मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले परम्परागत रोटेपिङले चाडपर्वको मौलिकता जोगाउनुका साथै नयाँ पुस्तालाई संस्कृति संरक्षणमा जोड्न सहयोग पुग्ने बताए ।

युवाहरू रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताले परम्परागत संस्कृति संरक्षण र पुस्तान्तरणमा असर परिरहेको उनको भनाइ छ । त्यसैले नगरपालिकाले यस्ता सांस्कृतिक सम्पदाको संरक्षणमा चासो दिएको उनले बताए ।

दुरा समुदायको संस्कृति चिनाउने सांस्कृतिक घर

दुरा समुदायको बाहुल्यता रहेको बर्धान गाउँका स्थानीयले आफ्नो कला र संस्कृति संरक्षणसँगै पर्यटक आकर्षित गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् ।

रोहोटे पिङ नजिकै दुरा जातिको कला र संस्कृति झल्काउने सांस्कृतिक घर पनि निर्माण गरिएको छ । पिङ खेल्न आउनेले उक्त घर अवलोकन गरी दुरा समुदायको संस्कृति र परम्पराबारे जानकारी लिन सक्नेछन् ।

नगरपालिकाले पछिल्ला तीन वर्षदेखि परम्परागत पिङको संरक्षणमा काम गर्दै आएको जनाएको छ । स्थानीयको सक्रियतामा सञ्चालन भइरहेको २४ पिर्के पिङले गाउँको सांस्कृतिक पहिचान प्रवर्द्धन गर्नुका साथै आन्तरिक पर्यटनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

कसरी पुग्ने २४ पिर्के पिङ खेल्न ?

लमजुङको मध्यनेपाल नगरपालिका–१०, हाँडीखोला बर्धानमा रहेको २४ पिर्के रोहोटे पिङ पुग्न तनहुँको दमौलीबाट भोर्लेटार हुँदै बाग्रेबेसी भएर जान सकिन्छ ।

भोर्लेटार बजारबाट करिब १० किलोमिटर यात्रा गरेपछि पिङ रहेको स्थानमा पुग्न सकिन्छ । यस मार्गको अधिकांश सडक कालोपत्रे गरिएको छ ।

त्यस्तै, तनहुँको डुम्रे बजारबाट सुन्दरबजार, विमिरे भञ्ज्याङ र निशान चौतारा हुँदै पनि त्यहाँ पुग्न सकिन्छ ।

भोर्लेटारबाट जाने सडकको अवस्था राम्रो रहेकाले २४ पिर्के पिङ खेल्न र गाउँको संस्कृति अवलोकन गर्न आउन वडाध्यक्ष भण्डारीले आग्रह गरेका छन् ।

तस्वीरहरु : सुरज गुरुङ/लमजुङ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?