News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको नारायणगढ शहीदचोकमा जडान गरिएका ट्राफिक लाइटका केबल चोरी भएपछि परीक्षण कार्य प्रभावित भएको छ।
- केबल चोरीपछि ठेकेदार कम्पनीले प्रहरीमा उजुरी दिएको छ र प्रहरीले चोरी गर्नेहरूको खोजी भइरहेको जनाएको छ।
- एभरेस्ट टु सी अमर ज्योति जेभीका सञ्चालक सुमन थापाले काटिएको केबल जोडेर काम नचल्ने र विदेशबाट नयाँ केबल मगाउन कम्तीमा एक महिना लाग्ने बताए।
२ कात्तिक, चितवन । चितवनको नारायणगढ बजारस्थित शहीदचोकमा हालै जडान गरिएका ट्राफिक लाइटको केबल (तार) काटेर चोरी भएको छ । तार चोरी भएपछि ट्राफिक लाइटको परीक्षण कार्य प्रभावित भएको छ ।
केबल चोरी भएपछि ट्राफिक लाइट जडान गर्ने कम्पनीले प्रहरीमा उजुरी दिएको छ । नारायणगढको मुख्य चोकमै केबल काटेर चोरी गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ट्राफिक लाइट जडानको ठेक्का पाएको एभरेस्ट टु सी अमर ज्योति जेभीका सञ्चालक सुमन थापाका अनुसार चोरहरूले केबल काटेर लगेपछि सबै केबल फेर्नुपर्ने भएको छ ।
‘यस्ता केबल नेपालमा नपाइने र काटिएको केबल जोडेर पनि काम गर्न नसकिने हुन्छ,’ उनले भने, ‘विदेशबाट केबल मगाउनुपर्ने भएकाले थप समस्या भएको छ ।’ केबल मगाएर जडान गर्न कम्तीमा एक महिना लाग्ने थापाले जानकारी दिए ।
नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक र बाइपास रोडका विभिन्न ६ प्रमुख चोकमा ट्राफिक लाइट जडान गरिएको छ । पुलचोक, शहीदचोक, चौबीसकोठी, हाकिमचोक, केन्द्रीय बस टर्मिनल र मालपोत चोकमा ट्राफिक लाइट राखिएको छ ।
सवारी चाप बढी भएका र दुर्घटनाको जोखिम रहेका स्थानमा ट्राफिक लाइट जडान गरिएको हो । ६ मिटरको आर्म भएका सात मिटर अग्ला भेहिकल पोल र पैदलयात्रीका लागि पेडेस्ट्रियन पोल प्रयोग गरिएको छ ।
गत वर्ष नै जडान गरिसक्नुपर्ने ट्राफिक लाइटको काम जेनजी आन्दोलन र निर्वाचनका कारण ढिलाइ भएको थियो । सडक फराकिलो बनेपछि सवारी व्यवस्थापनमा समस्या हुँदै आएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले ट्राफिक लाइट सञ्चालनमा आएपछि सवारी आवागमन व्यवस्थापनमा सहजता हुने बताए ।
उनका अनुसार ट्राफिक लाइटको ब्याकअप र सेटिङ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबाटै हुनेछ । बत्तीको सञ्चालन तथा अनुगमन कार्यालयको कन्ट्रोल रुमबाट कम्प्युटर प्रविधिमार्फत गरिनेछ । कुन चोकमा कति समयसम्म बत्ती बाल्ने भन्ने नियन्त्रण र नियमन पनि त्यहीँबाट हुनेछ ।
भरतपुर महानगरपालिकाका ६ वटा चोकमा ट्राफिक लाइट जडान गर्न २०८२ साउन २० गते मूल्य अभिवृद्धि करसहित १ करोड २३ लाख १४ हजार २६० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८२ चैत २० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
निर्धारित समयमा काम सम्पन्न नगरेपछि ठेकेदार कम्पनीलाई दैनिक ५ हजार रुपैयाँका दरले जरिवाना तिराउँदै निर्माण कार्य अघि बढाइएको थियो । केबल चोरी भएपछि भने ट्राफिक लाइटको परीक्षण तथा सञ्चालनमा थप ढिलाइ हुने भएको छ ।
प्रतिक्रिया 4