३० असोज, चितवन । चितवनको भरतपुर र नारायणगढ बजारका मुख्य चोकहरूमा जडान गरिएका ‘ट्राफिक लाइट’ को परीक्षण आज गरिने भएको छ । ट्राफिक लाइट जडानको ठेक्का पाएका एभरेस्ट टू सी अमर ज्योती जेभीका सञ्चालक सुमन थापाले आज साँझसम्म केही ठाँउमा ट्राफिक लाइटको परीक्षण कार्य सुरु गर्ने जानकारी दिए ।
नारायणगढको पुलचोकदेखि गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न ६ प्रमुख स्थानका चोकमा ‘ट्राफिक लाइट’ जडान गरिएको छ । दशैंभन्दा अगाडि नै ट्राफिक लाइट बाल्ने योजना अनुसार दिनरात खटेर तीव्र गतिका काम भैरहेको थापाले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार नारायणगढको पुल्चोक, सहिदचोक, चौबिसकोठी, हाकिमचोक, केन्द्रीय बस टर्मिनल र मालपोत चोकमा ट्राफिक लाइट जडान गरिएको छ । ६ मिटर आर्म भएका ७ मिटर अग्ला ‘भेक्युलर पोल’ र पैदलयात्रीका लागि सीधा ‘पेडेस्ट्रियन पोल’ प्रयोग गरिएको छ ।
सवारी आवागमन बढी हुने र जोखिम रहेका ठाउँमा ‘ट्राफिक लाइट’ राखिएको हो । गत वर्ष नै राख्नुपर्ने ट्राफिक लाइट जेनजी आन्दोलन र निर्वाचनका कारणले ढिलाइ हुन गएको हो ।
फराकिलो सडक बनेपछि ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले ट्राफिक लाइट जडान पछि सवारी आवागमन व्यवस्थापनमा सहजता हुने बताए ।
उनका अनुसार अहिले ट्राफिक लाइट जडान गरिएका ६ मध्ये ४ ठाँउमा मात्रै ट्राफिक प्रहरी बस्ने गरेको छ । तर, अब केही समय ट्राफिक लाइट जडान गरिएका हरेक चोकमा दुई/दुई जना ट्राफिक प्रहरी राखेर केही समय सचेतना फैलाउने काम गरिने जानकारी थापाले दिए ।
सडक प्रयोगकर्तामा सचेतना आएपछि १/१ जना मात्रै ट्राफिक राख्ने र क्रमश: ट्राफिक नै नराखेर सवारी व्यवस्थापनको काम गर्ने गरी तयारी अगाडि बढाइएको थापाले बताए ।
‘ट्राफिक लाइट भएका ठाँउमा सीसी क्यामेराहरु थप गर्ने नीति छ, सडक फराकिला छन्, अहिले सिमित क्यामेराहरु छन्, सबै कभरेज गर्न सक्दैन’ ट्राफिक प्रहरी प्रमुख थापा भन्छन्, ‘चाँडै नै थप क्यामेरा राखेर ट्राफिक लाइट कै आधारमा सडक व्यवस्थापनको काम गर्ने सोचमा छौं ।’
उनका अनुसार अहिले भएका ट्राफिक लाइटहरुको ब्याकअप र सेटिङ भने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबाट नै हुनेछ । यी बत्तीहरूको सञ्चालन र अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालयको कन्ट्रोल रुमबाटै कम्प्युटर प्रविधिको सहायताले गरिनेछ । कुन चोकमा कति सेकेन्ड बत्ती बाल्ने भन्ने कुराको नियन्त्रण र नियमन त्यहीँबाट हुनेछ ।
दशैंको बेला सडकमा सवारीको चाप अधिक भएकोले ट्राफिक लाइट जडान केही प्रभावित भएको थापाले बताए ।
भरतपुर महानगरपालिकाका ६ वटा चोकमा बत्ती राख्नका लागि २०८२ साउन २० मा मूल्य अभिवृद्धि करसहित १ करोड २३ लाख १४ हजार २६० ठेक्का सम्झौता भएको थियो ।
सम्झौताअनुसार २०८२ चैत २० गतेसम्ममा निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो तर म्याद सकिएको ५ महिनासम्म पनि बत्तीको कामले हुन सकेको थिएन ।
समयमा नै काम नगरेकोले ठेकेदार कम्पनीलाई दैनिक ५ हजार रुपैयाँका दरले जरिवाना समेत तिराउँदै कामलाई अगाडि बढाइएको हो ।
प्रतिक्रिया 4