+
+
Shares

कसरी हुन्छ बैंक नोट छपाइ र उपयोग ?

स्वदेशमा सुरक्षित मुद्रा छपाइका लागि सेक्युरिटी प्रेस नभएकाले राष्ट्र बैंकले विदेशबाट नोट छपाइ गर्दै आएको छ । विदेशमा छापिएका नोट सुरक्षित ढुवानी, बीमा, भन्सार तथा अन्य आवश्यक औपचारिकता पूरा गरेर नेपाल ल्याइन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २ गते १२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दसैंजस्ता चाडपर्वमा उपभोग बढ्दा आर्थिक गतिविधि विस्तार हुने र नगदको माग बढ्ने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए ।
  • पौडेलका अनुसार नोट छपाइको आवश्यकताका लागि अर्थतन्त्रको आकार, कारोबार, चलनचल्तीको मुद्रा, पुराना नोट र आगामी मागको विश्लेषण गरिन्छ ।
  • असोज तेस्रो सातासम्म चलनचल्तीमा रहेको नगद ८ खर्ब ९० अर्ब रुपैयाँ नाघेको राष्ट्र बैंकले जनाएको छ ।

२ कात्तिक, काठमाडौं । अन्य समयको तुलनामा चाडपर्वमा आर्थिक गतिविधि बढी हुन्छ । दसैंजस्ता ठूला पर्वमा वस्तु तथा सेवा माग बढ्ने, कर्मचारीले चाडपर्व खर्च पाउने र व्यवसायीले बिक्री बढाउन विभिन्न अफर ल्याउने भएकाले बजारमा पैसाको कारोबार बढ्छ ।

दसैंमा कर्मचारीले नियमित तलबसँगै चाडपर्व खर्च पनि पाउँछन् । सामान्यतया एक महिनाको आधारभूत तलब बराबर रकम चाडपर्व खर्चका रूपमा दिने अभ्यास छ ।

यसले उपभोग बढाउन सहयोग गर्छ । दसैं लक्षित वस्तु तथा सेवा बिक्री गर्न उद्योगी–व्यवसायीले पनि विभिन्न योजना ल्याउँछन् । यसरी आम्दानी र खर्च बढ्दा बजारमा आर्थिक गतिविधि विस्तार हुन्छ ।

तर, आम्दानी बढेको समयमा खर्च पनि उत्तिकै बढ्न सक्छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल पैसा आम्दानी र खर्चमा मात्र सीमित नभई बचत पनि भएको बताउँछन् ।

‘हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व भएकाले पनि दसैंमा उपभोगमा धेरै खर्च गर्ने गरेको पाइन्छ,’ उनले भने, ‘दसैंमा आम्दानीको तुलनामा कम खर्च गरेर सानो रकम भए पनि बचाउनुपर्छ, सानो बचतलाई लगानीमा परिवर्तन गरेर भविष्यका लागि उपयोग गर्न सकिन्छ ।’

दसैंमा मिठो खाने, राम्रो लगाउने र नयाँ नोट प्रयोग गर्नेजस्ता सांस्कृतिक अभ्यासले पनि आर्थिक गतिविधि बढाउने उनको भनाइ छ ।

‘कतिपय कुरा सांस्कृतिक पक्षसँग जोडिएका हुन्छन्, दसैंमा सबै कुरा नयाँ गर्नुपर्छ भन्ने अभ्यासले पनि खर्च बढाउँछ तर दसैंमै सबै रकम खर्च नगरी थोरै भए पनि बचतमा ध्यान दिनुपर्छ,’ पौडेलले भने ।

आर्थिक गतिविधि विस्तार हुँदा पैसा उपयोग पनि बढ्ने भएकाले दसैंको समयमा चलनचल्तीमा आएका नोट पनि बढ्ने उनको भनाइ छ ।

नोट छपाइ प्रक्रिया बजारमा कति नगद आवश्यक पर्छ भन्ने अनुमानबाट सुरु हुने उनको भनाइ छ ।

‘अर्थतन्त्रको आकार, कारोबार विस्तार, चलनचल्तीमा रहेको मुद्राको परिमाण, पुराना नोटको अवस्था, मौज्दात र आगामी वर्षको नगद मागको विश्लेषण गरी नोटको आवश्यकता निर्धारण गरिन्छ,’ उनले भने, ‘त्यसपछि कुन दरका कति नोट आवश्यक पर्छन् भन्ने अनुमानका आधारमा छपाइ तथा आपूर्ति प्रक्रिया अघि बढाइन्छ ।’

नोट छपाइको योजना सामान्यतया दुई–तीन वर्षको आवश्यकता ध्यानमा राखेर बनाइने उनले बताए । खरिद प्रक्रियादेखि नोट प्राप्तिसम्म लाग्ने समय समेत समेटेर तीन वर्षभन्दा बढी अवधिको आवश्यकता अनुमान गर्नुपर्ने उनले बताए । यसले नोट छपाइ तत्काल गर्न सकिने काम नभई अग्रिम योजना आवश्यक पर्ने प्रक्रिया भएको उनको भनाइ छ ।

स्वदेशमा सुरक्षित मुद्रा छपाइका लागि सेक्युरिटी प्रेस नभएकाले राष्ट्र बैंकले विदेशबाट नोट छपाइ गर्दै आएको छ । विदेशमा छापिएका नोट सुरक्षित ढुवानी, बीमा, भन्सार तथा अन्य आवश्यक औपचारिकता पूरा गरेर नेपाल ल्याइन्छन् ।

त्यसपछि राष्ट्र बैंकको सुरक्षित भल्टमा राखिन्छन् र आवश्यकता अनुसार राष्ट्र बैंकका कार्यालय तथा वाणिज्य बैंकमा रहेका नोटकोष मार्फत बैंक तथा वित्तीय संस्थामा पुर्‍याइन्छन् ।

बैंक तथा वित्तीय संस्थाले ग्राहकको माग अनुसार सर्वसाधारण र व्यवसायलाई नगद उपलब्ध गराउने गरेको उनले बताए ।

यसरी नोटको यात्रा मुद्रण कम्पनीबाट राष्ट्र बैंकको भल्ट, नोटकोष तथा बैंकिङ प्रणाली हुँदै नागरिकको हातसम्म पुग्छ । सर्वसाधारणले नोट जतन गरेर प्रयोग गरेमा यसको आयु बढ्छ । कारोबारका क्रममा धेरै व्यक्तिको हात हुँदै बैंकिङ प्रणालीमा फर्किएका नोट राष्ट्र बैंकले पुन: प्रयोग गर्न मिल्ने र नमिल्ने गरी छान्छ ।

चलाउन योग्य नोट पुन: प्रचलनमा ल्याइन्छन् भने च्यातिएका, अत्यधिक मैलिएका वा अन्य कारणले अनुपयुक्त भएका नोट निर्धारित सुरक्षा प्रक्रिया अनुसार नष्ट गरिने उनले बताए ।

नोट छपाइको मात्रा हरेक वर्ष निश्चित नहुने बताउँदै उनले भने, ‘अर्थतन्त्रमा नगदको माग, पुराना नोटको प्रतिस्थापन, चलनचल्तीमा रहेको मौज्दात र आगामी आपूर्ति योजनाका आधारमा आवश्यक परिमाण निर्धारण गरिन्छ ।’

दसैंतिहार जस्ता चाडपर्व, निर्वाचन तथा अन्य विशेष अवसरमा नगदको माग बढ्न सक्छ । त्यसैले केन्द्रीय बैंकले यस्तो समयमा नोटको माग अनुसारको आपूर्ति व्यवस्थापन गर्ने पूर्णतयारी गरेर बस्ने उनले बताए ।

नोट छपाइको लागत पनि सधैं एउटै हुँदैन । कागज तथा अन्य सामग्रीको गुणस्तर, सुरक्षा विशेषता, मुद्रण प्रविधि, खरिद परिमाण र अन्तर्राष्ट्रिय बोलपत्रमा प्राप्त मूल्यले छपाइ खर्च निर्धारण गर्ने पौडेलले बताए ।

ऐतिहासिक छपाइ चक्रको लागत अनुसार एक थान नोट छाप्न तीन रुपैयाँसम्म पर्ने गरेको उनले जानकारी दिए । अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र मार्फत नोट छापिने भएकाले प्रत्येक छपाइ चक्रको लागत फरक हुन सक्ने पनि उनको भनाइ छ ।

नेपाली मुद्राको विनिमयदर अवमूल्यन हुँदा विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने छपाइ खर्च नेपाली रुपैयाँमा बढी पर्न सक्ने सम्भावना रहने उनको भनाइ छ ।

नोटको अङ्कित मूल्य र छपाइ लागतबीच भने ठूलो अन्तर हुने उनी बताउँछन् । ‘पाँच रुपैयाँको नोट छाप्न पाँच रुपैयाँ नै खर्च लाग्छ भन्ने हुँदैन,’ उनले भने, ‘त्यसैगरी ठूलो दरको नोट छाप्न सधैं सानो दरको नोटभन्दा बढी खर्च लाग्छ भन्ने पनि होइन, वास्तविक लागत सम्बन्धित छपाइ चक्रको करारबाट निर्धारण हुन्छ ।’

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ५२ ले बैंक नोट तथा सिक्का निष्कासन गर्ने एकाधिकार नेपाल राष्ट्र बैंकलाई दिएको छ । निष्कासित नोट कानुनी ग्राह्य मुद्रा हुन् । तर, नोट निष्कासन गर्ने अधिकार हुनु र असीमित रूपमा मुद्रा छाप्न पाउनु फरक कुरा भएको उनको भनाइ छ ।

ऐनको दफा ५२ को उपदफा (२) ले नोट निष्कासन सुरक्षण राखेरमात्र गर्नुपर्ने व्यवस्था गरेको छ । निष्कासित नोटको दायित्व सुरक्षणमा राखिएको सम्पत्तिसँग सम्बन्धित हुन्छ ।

ऐन अनुसार सुरक्षणमा सुन, चाँदी, विदेशी मुद्रा, विदेशी धितोपत्र, विदेशी विनिमयपत्र लगायत सम्पत्ति तथा कानुनले तोकेका अन्य सम्पत्ति समावेश हुन सक्छन् । त्यसैले प्रत्येक नोट बराबरको भौतिक सुन छुट्टै राख्नुपर्छ भन्ने बुझाइ सही होइन ।

कानुनले तोकेको समग्र सुरक्षण व्यवस्था लागु हुन्छ । सर्वसाधारणले खल्तीमा बोकेको प्रत्येक नोटको अङ्कित मूल्यसँग सम्बन्धित दायित्वको हिसाब राष्ट्र बैंकले राख्छ र नोट निष्कासनलाई कानुनले तोकेको सुरक्षण व्यवस्थासँग आबद्ध गर्छ भन्ने उनको भनाइ छ ।

नोट निष्कासनको काम कानुनी अधिकार, सुरक्षण र संस्थागत जवाफदेहितासँग जोडिएको हुन्छ । आवश्यकताभन्दा बढी मुद्रा निष्कासन गर्दा उत्पादन तथा वस्तु र सेवा आपूर्ति सोही अनुपातमा नबढे मुद्रास्फीतिको दबाब सिर्जना हुन सक्ने उनी बताउँछन् ।

बजारमा वस्तु तथा सेवाको तुलनामा पैसाको मात्रा अत्यधिक बढ्दा मूल्यवृद्धि हुन सक्ने भएकाले नोटको माग र आपूर्ति जिम्मेवार मौद्रिक व्यवस्थापनका आधारमा निर्धारण गर्नुपर्ने उनको बुझाइ छ ।

यसैले नोट छाप्ने र निष्कासन गर्ने अधिकार पाएको राष्ट्र बैंकले मुद्रा व्यवस्थापन गर्ने उनले बताए । ‘बजारमा पर्याप्त नगद उपलब्ध गराउनु, पुराना नोट प्रतिस्थापन गर्नु र मुद्रा निष्कासनलाई जिम्मेवार ढङ्गले व्यवस्थापन गर्नु केन्द्रीय बैंकका प्रमुख काममध्ये पर्छन्,’ पौडेलले भने ।

जनताको हातमा भएको पैसा र बैंक तथा वित्तीय संस्थासँग भएको पैसाको कुल योग नै ‘चलनचल्तीमा रहेको नगद’ हो । असोज तेस्रो सातासम्म कुल चलनचल्तीमा रहेको रकम ८ खर्ब ९० अर्ब रुपैयाँ नाघेको राष्ट्र बैंकको तथ्यांक छ ।

जसमा १ हजार दरका नोटको अंकित मूल्य करिब ५ खर्ब ७० अर्ब अर्थात् करिब ६४ प्रतिशत छ भने ५ सय दरका नोटको अंकित मूल्य २ खर्ब ४५ अर्ब रुपैयाँ अर्थात् करिब २८ प्रतिशत छ । यी दुई दरका नोटले मात्रै कुल चलनचल्तीको नगदको करिब ९२ प्रतिशत हिस्सा ओगट्ने केन्द्रीय बैंकले जनाएको छ ।

त्यस्तै ‘चलनचल्तीमा रहेको नगद’ माथि भनिए जस्तै ८ खर्ब ९० अर्ब रुपैयाँ मूल्यका विभिन्न दरका करिब ३ अर्ब ८५ करोड थान नोट बजारमा रहेको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?