+
+
Shares

मस्कले अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको सेयर दिने, कति छन् बालबालिका ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २ गते १७:४२

२ कात्तिक, काठमाडौं । विश्वकै सर्वाधिक धनी व्यक्ति इलन मस्कले आगामी वर्ष अमेरिकाका हरेक बालबालिकालाई आफ्नो रकेट निर्माण कम्पनी स्पेसएक्सको एक-एक कित्ता सेयर उपहार दिने भएका छन् । मस्कले आज आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म एक्समार्फत यसको घोषणा गरेका हुन् ।

हाल स्पेसएक्सको एक कित्ता सेयरको मूल्य १ सय ४६ डलर छ । अमेरिकामा करिब ७ करोड २० लाख बालबालिका छन् । यस्तोमा बाँडिने कुल सेयरको मूल्य १० अर्ब ५२ कराेड बराबर हुनेछ ।

यद्यपि, करोडौं बालबालिकासम्म यो सेयर कसरी पुर्‍याइन्छ भन्ने प्रक्रियाबारे मस्क वा उनको कम्पनीले हालसम्म कुनै जानकारी दिएको छैन ।

को-को हुनेछन् योग्य ?

मस्कले आफ्नो पोस्टमा ‘अमेरिकाका हरेक बालबालिका’ भनेका छन्, तर यसमा धेरै कुराहरू स्पष्ट छैनन् । जस्तो कि, अमेरिकी नागरिकता भएका बालबालिकाले मात्र सेयर पाउने हुन् वा अमेरिकामा बसिरहेका अन्य बालबालिकालाई पनि दिइने हो भन्ने स्पष्ट छैन ।

त्यस्तै मस्कले उमेरको कुनै सीमा तोकेका छैनन् । के नवजात शिशुहरूले पनि सेयर पाउनेछन् ? यसको जवाफ स्पष्ट छैन ।

अभिभावकले बच्चाका लागि कुन-कुन कागजात बुझाउनुपर्ने हो वा कुनै फारम भर्नुपर्ने हो भन्नेबारे पनि खुलाइएको छैन ।

बालबालिकाको हातमा सेयर कसरी पुग्छ भन्ने अर्को ठूलो प्रश्न छ । सेयर सिधै बच्चाको नाममा हुनेछ वा उनीहरू वयस्क नहुँदासम्म अभिभावकको खातामा रहनेछ ? कम्पनीले बालबालिका वा उनीहरूका अभिभावकले चाहेका बेला सेयर बेच्न वा अरूको नाममा हस्तान्तरण गर्न पाउने/नपाउने विषय पनि खुलाएको छैन ।

स्पेसएक्समा मस्कको ६ अर्ब ४२ कराेडकाे सेयर

३० जुन २०२६ सम्मको एक नियामक फाइलिङ अनुसार स्पेसएक्समा मस्कको कुल हिस्सेदारी ४८.४ प्रतिशत छ । रिपोर्ट तयार पार्दाको समयमा यस स्वामित्वकाे कुल मूल्य करिब ८ खर्ब ६० अर्ब डलर थियो।

मस्कले आफ्नो पोस्टमा यो धेरै योजनाहरूमध्येको पहिलो योजना मात्र भएको बताएका छन् । यसबाट उनले आगामी दिनमा अन्य ठूला घोषणाहरू गर्न सक्ने सङ्केत मिलेको छ ।

नाबालिगहरूले कसरी पाउँछन् सेयर ?

अमेरिकामा १८ वर्षभन्दा कम उमेरका बालबालिकाका नाममा सेयर राख्न ‘कस्टोडियल एकाउन्ट’ खोलिन्छ । यसमा बच्चा बालिग नहुँदासम्म खाताको सम्पूर्ण जिम्मेवारी आमाबाबु वा अभिभावकसँग हुन्छ ।

अमेरिकामा ३ नोभेम्बर २०२६ मा मध्यावधि निर्वाचन हुँदैछ । यसमा रिपब्लिकन पार्टीलाई मद्दत गर्न मस्कले करिब ३६ करोड ६० लाख डलर खर्च गरिसकेका छन् ।

यस्तोमा उनको यो ठूलो घोषणाको राजनीतिक असरबारे पनि चर्चा भइरहेको छ । तर, मस्कले चुनावमा फाइदा लिनकै लागिमात्र यो घोषणा गरेको भन्ने कुनै ठोस प्रमाण छैन ।

यसैबीच स्पेसएक्सकी प्रेसिडेन्ट ग्वेन सटवेल र उनका श्रीमान्‌ले पनि २० लाखभन्दा बढी बालबालिकाको खातामा स्पेसएक्सको सेयर दिने वाचा गरेका छन् ।

ट्रम्प सरकारले पनि बालबालिकालाई रकम दिने

ट्रम्प सरकारले पनि बालबालिकाका लागि ‘ट्रम्प एकाउन्ट्स’ नामक खाता सुरु गरेको छ । यसअन्तर्गत तोकिएका नियम पूरा गर्ने बालबालिकाको खातामा सरकारले एकमुस्ट १ हजार डलर जम्मा गर्ने छ ।

यो योजनाको लाभ १ जनवरी २०२५ देखि ३१ डिसेम्बर २०२८ को बीचमा जन्मिएका बालबालिकाले पाउनेछन् ।

सन् २००२ मा र मस्कले स्पेसएक्स कम्पनी स्थापना गरेका थिए । ३१ मे २०२० मा कम्पनीले विश्वकै पहिलो निजी मानव मिसन प्रक्षेपण गरेको थियो, जसमा दुई अन्तरिक्ष यात्री रोबर्ट बेहन्केन र डग्लस हर्ले अन्तरिक्षमा गएका थिए।

मस्कको कम्पनीले पुनः प्रयोग गर्न मिल्ने रियुजेबल रकेट प्रविधि विकास गरेर स्याटेलाइट प्रक्षेपण र अन्य अन्तरिक्ष मिसनहरूलाई सस्तो बनाएको छ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?