News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा भ्लादिमिर पुटिन र सी जिनपिङसँग भेट्न तयार रहेको बताएका छन्।
- ट्रम्पले सम्भावित बैठकमा आणविक निशस्त्रीकरण र युक्रेन युद्धबारे छलफल हुन सक्ने सङ्केत गर्दै जेलेन्स्कीको आलोचना गरेका छन्।
- रुसले युक्रेनमाथि आक्रमण तीव्र बनाउँदा खार्किभमा रुसी ड्रोन प्रहारबाट बालबालिकासहित छ जनाको मृत्यु भएको छ।
३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न तयार रहेको बताएका छन्। उनले सम्भावित बैठकमा आणविक निशस्त्रीकरणसँगै युक्रेन युद्धबारे पनि छलफल हुन सक्ने सङ्केत गरेका छन्।
ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको आलोचना गर्दै युक्रेनका तर्फबाट अरू कसैले वार्ता गर्नुपर्ने समय आएको टिप्पणी गरेका छन्। यसले वासिङ्टन र किएभबीचको ‘मतभेद’ थप उजागर गरेको छ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले चीनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा त्रिपक्षीय बैठकको सम्भावनाबारे चर्चा भए पनि कुनै ठोस सहमति नभएको बताएका छन्।
नोभेम्बर १८ र १९ मा सेन्जेनमा हुने सम्मेलनमा तीनै देश सहभागी हुँदैछन्। चिनियाँ विदेश मन्त्रालयले भने सम्भावित भेटबारे जानकारी नभएको जनाएको छ।
युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले किएभको सहभागिताबिना हुने बैठकले पुटिनलाई युद्ध जारी राख्न प्रोत्साहित गर्ने चेतावनी दिएका छन्। पेस्कोभले पनि अन्तिम शान्ति सम्झौताका लागि युक्रेनी प्रतिनिधिको सहभागिता आवश्यक रहेको बताएका छन्।
यसैबीच, रुसले युक्रेनमाथि आक्रमण तीव्र बनाएको छ। सोमबार खार्किभ क्षेत्रमा रुसी ड्रोन प्रहार हुँदा बालबालिकासहित छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। युक्रेनले अमेरिकामाथि महत्वपूर्ण गुप्तचर सूचना उपलब्ध नगराएको आरोपसमेत लगाएको छ। एएफपी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4