+
+
Shares
विचार :

आमा-बुवासँग बस्न हामीसँग अब कति समय बाँकी छ ?

चार सय दिनको हिसाब : पैसा आयो, समृद्धि आयो भन्छौँ, तर घर कहाँ गयो ?

तेज प्रकाश दीक्षित तेज प्रकाश दीक्षित
२०८३ कात्तिक ३ गते ११:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हामी वर्षभरि बस्ने ठाउँ हाम्रो घर होइन, र घरमा हामी वर्षमा केही दिनका पाहुना मात्र हौँ।
  • पढाइ, रोजगारी र अवसरको खोजीमा सहर र परदेश पुगेका नेपालीहरूको यो बसाइँसराइले आमाबुवाको आँगन मात्र रित्याएको छैन, उनीहरूसँग बाँकी रहेको जीवनको बहुमूल्य समय पनि खोसिरहेको छ।
  • हामी जुन घर बनाउन परदेश र सहर पसेका थियौँ, त्यो बनिसक्दा त्यसभित्र बस्ने मानिस बाँकी रहलान् ?

दशैँ नजिकिँदा नागढुङ्गा, कलङ्की र कोटेश्वरका नाकामा मिठाईका पोका, नयाँ लुगाले भरिएका झोला र अनिँदा आँखा बोकेका हजारौँ अनुहार देखिन्छन्। कोही बसको छतमा ठाउँ खोज्छन्, कोही उभिएरै घण्टौं यात्रा गर्छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्ष दशैँका क्रममा करिब ६ लाख ११ हजार यात्रुले उपत्यका छाडेका थिए। यातायात व्यवसायी महासङ्घको तथ्याङ्कले भने गत वर्ष करिब १९ लाख यात्रु उपत्यकाबाट बाहिरिएको देखाएको थियो। यसमा हवाई, व्यक्तिगत सवारी र मोटरसाइकलमा बाहिरिएका यात्रुको सङ्ख्या जोडिएको छैन।

पोखरा, बुटवल, नेपालगन्ज र धनगढीका बसपार्क अनि भारतसँगका सीमा नाका पनि उस्तै भरिन्छन्। गन्तव्य फरक, बाध्यता एउटै: घरनजिक काम छैन। यो लर्को एउटा मौन स्वीकारोक्ति पनि हो: हामी वर्षभरि बस्ने ठाउँ हाम्रो घर होइन, र घरमा हामी वर्षमा केही दिनका पाहुना मात्र हौँ।

यो लेख त्यही पाहुना पुस्ता र घरमा बाटो कुरिरहेका दुई पुस्ताको कथा हो। यसको केन्द्रमा एउटै प्रश्न छ: आमाबुवासँग बस्न हामीसँग अब कति समय बाँकी छ ?

तीन बाटो, एउटै बिछोड

नेपालीले घर छाड्ने तीन बाटा छन्: कमाउन विदेश, कमाउन सहर र पढ्न गाउँबाट सहर हुँदै राजधानी वा विदेश। तीनवटै बाटाले एउटै ठाउँमा पुर्‍याउँछन्: आमाबुवाबाट टाढा।

राष्ट्रिय जनगणना २०७८ अनुसार २१ लाख ९० हजार ५९२ नेपाली विदेशमा छन्। तीमध्ये ८२.२ प्रतिशत पुरुष छन् भने ७५.८ प्रतिशत १५ देखि ३४ वर्ष उमेर समूहका छन्। गाउँबाट हराएका अधिकांश अनुहार जवान छोरा, लोग्ने र बुवाका हुन्।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा करिब ७ लाख ९२ हजार जनाले श्रम स्वीकृति लिए। पहिलोपटक जानेको सङ्ख्या घटे पनि छोटो बिदामा घर आएर फेरि उतै फर्कनेको सङ्ख्या ३ लाख ३३ हजारबाट बढेर ३ लाख ८६ हजार पुगेको छ।

घर अब स्थायी रूपमा बस्ने थलो रहेन, वर्षमा एकपटक भिसा र करारको बीचमा ओर्लिने चौतारीजस्तो बन्न पुगेको छ। परदेशको बसाइ लम्बिँदै गएको छ, घरको पर्खाइ पनि।

देशभित्रको बसाइँसराइ झन् ठूलो छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनअनुसार आन्तरिक बसाइँसराइ दर २९.२ प्रतिशत छ। सबैभन्दा बढी बसाइँसराइ पहाडी क्षेत्रमा (३२ प्रतिशत) देखिन्छ। १८ जिल्लाले आफ्नै जिल्लामा जन्मेका २० प्रतिशतभन्दा बढी मानिस गुमाएका छन् भने ३४ जिल्लाको जनसङ्ख्या १० वर्षअघिभन्दा घटेको छ।

श्रमिकको संसार झन् कठोर छ, चाहे काठमाडौँ वा विराटनगरका कारखाना हुन्, चाहे खाडी र मलेसियाका निर्माणस्थल।

यो बिछोड प्रायः पढाइबाट सुरु हुन्छ। कक्षा १० सकेको किशोर प्लस टु पढ्न सदरमुकाम पुग्छ; स्नातक पढ्न पोखरा, नेपालगन्ज वा विराटनगर; तयारीका लागि राजधानी; अनि त्यहाँबाट विदेश। आर्थिक सर्वेक्षणअनुसार हाल देशमा उच्च शिक्षा पढ्ने विद्यार्थीको कुल सङ्ख्या ७ लाख ४५ हजार पुगेको छ।

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्याङ्कअनुसार पछिल्लो ६ वर्षमा मात्रै ५ लाख ४८ हजारभन्दा बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन्। आर्थिक वर्ष २०८२/८३ मा मात्रै १ लाख १४ हजारले एनओसी लिएका छन्, अर्थात् दैनिक ३०० भन्दा बढीले। पढ्न घर छाडेको किशोर प्रायः फेरि घर बस्न फर्कँदैन: पढाइपछि जागिर, जागिरपछि सहरमै बसाइ।

यो सिँढी राज्यले बनाएको हो। ठूला अस्पताल, विश्वविद्यालय, मन्त्रालय, दूतावास र रोजगारीका अवसर अधिकांश राजधानीमै थुप्रिएका छन्। त्यसैले बसाइँ सर्नेको पहिलो रोजाइ बागमती बनेको छ। देशकै सबैभन्दा उच्च जनसङ्ख्या वृद्धिदर (३.३२ प्रतिशत) उपत्यकाकै भक्तपुरमा छ। अवसर प्रदेश र जिल्लातिर नझरेसम्म आमाबुवासँगको दूरी घट्दैन।

 बत्ती बलेका सहर, अँध्यारा मन

सहर पसेको यो जनसङ्ख्याको दिन घडीको सुईसँगै दौडिन्छ: बिहान अलार्म, दिनभरि कामको समयसीमा, साँझ ट्राफिक जाम। जाममा अड्किएको मान्छेको मन कोठाभाडा, किस्ता र बच्चाको विद्यालय शुल्कमा अल्झिरहन्छ। यसको मूल्य शरीरले तिरिरहेको छ।

स्टेप्स सर्वेक्षण २०१९ अनुसार राष्ट्रिय स्तरमा १५ देखि ६९ वर्ष उमेर समूहका २९.८ प्रतिशत पुरुष र १९.७ प्रतिशत महिलामा उच्च रक्तचाप भेटिएको थियो। अनुसन्धानकर्ताले तनावलाई पनि यसको प्रमुख कारण मानेका छन्। राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार हरेक १० वयस्कमध्ये एक जनाले जीवनमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या भोगेका छन्। सहरमा छोराछोरीसँग आएका वृद्धवृद्धा भने फ्ल्याटका चार भित्ताभित्र सीमित छन्: न चौतारी, न दौंतरी, न आँगनको घाम।

चौबीस घण्टाको निर्मम बहीखाता

श्रमिकको संसार झन् कठोर छ, चाहे काठमाडौँ वा विराटनगरका कारखाना हुन्, चाहे खाडी र मलेसियाका निर्माणस्थल। उनीहरूको दिनको हिसाब यस्तो छ: १२ घण्टा काम, १ घण्टा आउजाउ, ७ घण्टा निद्रा ।

बाँकी ४ घण्टा पनि भात पकाउन, भाँडा माझ्न र लुगा धुनमै सकिन्छन्। त्यसपछि बाँकी रहन्छ समय होइन, थकान। हप्ताको ७२ घण्टा मेसिनझैँ खट्नु श्रम ऐनले तोकेको सामान्य सीमाको उपहास हो। कम ज्यालाका कारण आफ्नो ऊर्जा र सम्बन्धलाई अतिरिक्त कामको नाममा बन्धकी राख्नुपर्ने श्रमिकको यो ठूलो विवशता हो।

वर्षभरि उकालो चढेको जनसङ्ख्या दशैँमा केही दिन उल्टो बग्छ। तर काठमाडौँबाहेकका सहरबाट गाउँ जानेको कुनै सरकारी गणना छैन। हामी विप्रेषणको हिसाब महिनैपिच्छे राख्छौँ, तर घर फर्कने मानिसको हिसाब राख्दैनौँ।

यसैबीच फोन बज्छ, स्क्रिनमा देखिन्छ-

‘आमा’।

‘खाना खाइस् ?’

‘खाएँ आमा, अलि थाकेको छु, भोलि कुरा गरौँला।’

भोलि पनि त्यस्तै हुन्छ। छोरा खाडीमा भए समयको फरकले त्यो दुई मिनेट झन् दुर्लभ बनाउँछ। मेसिन चलाउँदाचलाउँदै हामी आफैँ मेसिन बन्दै गएका छौँ।

 रित्तिँदो आँगन, बाटो कुर्ने आँखा

गाउँका घर साना र रित्ता हुँदै छन्। परिवारको औसत आकार १० वर्षमा ४.८८ बाट ४.३७ मा झरेको छ। पहाडका खेत बाँझिएका छन्, ढोकामा ताल्चा झुन्डिएका छन् र बत्ती बलेका घरमा प्रायः वृद्ध आमाबुवा मात्र छन्।

देशमा ६० वर्षमाथिका २९ लाख ७७ हजार ज्येष्ठ नागरिक छन्। कतिका सन्तान खाडीमा छन्, कतिले काठमाडौँ वा नेपालगन्जमा घर बनाएर बसेका छन्। दूरी फरक होला, आँगनको सुनसान उस्तै हो।

साउनमा भन्छन्, दशैँमा आउँछु। फागुनमा भन्छन्, अर्को दशैँमा आउँछु। बिरामी पर्दा अस्पताल लैजाने हात छैन, राति सास फेर्न गाह्रो हुँदा पानी दिने कोही छैन। दशैँ–तिहारमा आँगन भरिन्छ, तर निधारको टीका नसुक्दै फेरि बिदाइको बेला आउँछ।

 उल्टो बग्ने खोला : सहरबाट गाउँसम्म

दशैँको यात्रा एउटा सिँढीजस्तो छ। राजधानीबाट लाखौँ मानिस झरेर प्रदेशका सहरमा ओर्लिन्छन्; ती सहरमा बस्नेहरू सदरमुकामतिर लाग्छन्; अनि सदरमुकामबाट जीप वा पैदल गाउँसम्मको अन्तिम यात्रा सुरु हुन्छ।

वर्षभरि उकालो चढेको जनसङ्ख्या दशैँमा केही दिन उल्टो बग्छ। तर काठमाडौँबाहेकका सहरबाट गाउँ जानेको कुनै सरकारी गणना छैन। हामी विप्रेषणको हिसाब महिनैपिच्छे राख्छौँ, तर घर फर्कने मानिसको हिसाब राख्दैनौँ।

अर्को लर्को दक्षिणी सिमानाबाट छिर्छ। जनगणनाअनुसार औपचारिक रूपमा करिब २ लाख ३४ हजार नेपाली भारतमा देखिए पनि खुला सिमानाका कारण विभिन्न अध्ययन र अनुमानले यो सङ्ख्या ३० लाखभन्दा बढी रहेको देखाएका छन्।

यीमध्ये धेरैजसो सुदूरपश्चिम र कर्णालीका मजदुर रोपाइँ सकेर भारत जान्छन्, दशैँको खर्च जुटाएर फर्कन्छन् र तिहार सकिनेबित्तिकै फेरि उतै लाग्छन्। श्रम स्वीकृति नचाहिने भएकाले सरकारी तथ्याङ्कमा यो विशाल र पीडादायी लर्को कतै देखिँदैन।

चार सय दिनको हिसाब

अब एउटा सानो तर निर्मम हिसाब गरौँ। मानौँ, तपाईंका आमाबुवा अझै २० वर्ष बाँच्नुहुन्छ र तपाईं सहरमा नोकरी गर्दै वर्षमा बढीमा २० दिन घर जानुहुन्छ। २० दिन × २० वर्ष = ४०० दिन, अर्थात् एक वर्ष र एक महिनाजति।

जसले जीवनका सबैभन्दा ऊर्जावान् ३०–३५ वर्ष हामीलाई हुर्काउन खर्चिए, उनीहरूको जीवनको अन्तिम प्रहरमा हामीसँग बाँकी साथ यत्ति हो। दुई वर्षमा एक महिना घर आउने खाडीका कामदारका लागि त २० वर्षमा जम्मा ३०० दिन मात्र हुन्छ।

पढ्नका लागि १६ वर्षमै घर छाड्नेहरूका लागि यो हिसाब झन् चिसो छ। जन्मदेखि १६ वर्षसम्म आमाबुवासँग बिताएका करिब ५ हजार ८४० दिनको तुलनामा त्यसपछिका २० वर्षमा जम्मा ४०० दिन।

अर्थात्, जीवनभर आमाबुवासँग बिताउने समयको करिब ९४ प्रतिशत हामी १६ वर्ष नपुग्दै खर्चिसकेका हुन्छौँ, त्यो पनि थाहै नपाई। प्लस टु पढ्न घरको आँगन छाडेको दिन नै धेरैका लागि आमाबुवासँगको दैनिक जीवनको अन्तिम दिन बन्छ।

ती दिन पनि पूरै आमाबुवाका हुँदैनन्। केही समय यात्रामा, केही नातेदार भेट्न र टीका लगाउन जाँदैमा, बाँकी घरायसी काम र मोबाइलको स्क्रिनमा बित्छ। घर बसेका दिनमा पनि औसत ६ घण्टा मात्र साँच्चै साथ बस्छौँ भने चार सय दिन झन्डै १०० दिनमा खुम्चिन्छ। सय दिन, जीवन दिएका मान्छेलाई फर्काउने समय, तीन महिना पनि होइन। यो पढेर आँखा रसाए त्यो कमजोरी होइन, चेतना हो।

 भिडियो कलमा हुर्केका बालबालिका

रित्तिएको घरको अर्को कुनामा अबोध बालबालिका छन्। विदेश गएकामध्ये धेरैजसो कसैका बुवा हुन्। देशभित्रै काम गर्नेको कथा पनि फरक छैन: बुवा वीरगन्जको कारखानामा वा अर्को जिल्लामा सरुवा भएर बस्छन्, आमा र बच्चा गाउँमा।

परिवारको कोही सदस्य बाहिर नभएको घर अब अपवाद बन्दै छ। मनोविज्ञानमा यसलाई ‘बुवाको अनुपस्थिति’ भनिन्छ; गाउँको भाषामा भने, ‘बुवा त बाहिर हुनुहुन्छ।’

यी बालबालिकाका लागि बुवा मोबाइलको स्क्रिनमा देखिने अनुहार हुन्, जुन सञ्जाल कमजोर हुँदा स्थिर हुन्छ र संवाद टुट्छ। अभिभावक भेलामा, साइकल सिक्दा वा लडेर घुँडा फुटाउँदा भरोसा दिने काँध नहुँदा मनमा खाली ठाउँ बन्छ।

मनोविज्ञहरूका अनुसार यसले भावनात्मक असुरक्षा र हीनताबोध जन्माउन सक्छ तथा किशोरावस्थामा गलत सङ्गत र दुर्व्यसनको जोखिम बढाउन सक्छ। भविष्यको सुरक्षा किन्न वर्तमानको सामीप्यता बेचिरहेको यो पुस्ताले थाहै नपाई आफ्नै सन्तानको बाल्यकालमा आफ्नो उपस्थिति गुमाइरहेको छ।

यसको प्रत्यक्ष असर पढाइमा पनि देखिन्छ। नेपाल जीवनस्तर सर्वेक्षणको तथ्याङ्कमा आधारित एक अध्ययनले विप्रेषणले पढाइमा लगानी बढाए पनि अभिभावकको अनुपस्थितिले शिक्षामा उल्लेख्य अवरोध पुर्‍याउने देखाएको छ।

घर अब स्थायी रूपमा बस्ने थलो रहेन, वर्षमा एकपटक भिसा र करारको बीचमा ओर्लिने चौतारीजस्तो बन्न पुगेको छ। परदेशको बसाइ लम्बिँदै गएको छ, घरको पर्खाइ पनि।

गैँडाकोटमा गरिएको अर्को अध्ययनले अभिभावक बाहिर गएका घरका बालबालिकाको स्वास्थ्य र शैक्षिक उपलब्धि दुवै कमजोर पाएको थियो। सहरमै बसेका बालबालिकाका लागि पनि आमाबुवा दुवै काममा हुँदा कोठाको साँचो र मोबाइल नै साथी बन्छ।

यो सबैको भारी आमाको काँधमा पर्छ। उनी आमा पनि हुन्, बुवा पनि; घरकी व्यवस्थापक, खेतकी किसान र सासूससुराकी हेरचाहकर्ता पनि। उनको थकानको हिसाब कुनै सर्वेक्षणले राख्दैन।

प्रगति कि पलायन ?

यसको अर्थ विदेश जानु वा सहर पस्नु गलत हो भन्ने होइन। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विप्रेषण रु. २३ खर्ब ६३ अर्ब पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको करिब ३३ प्रतिशत हो। यही पैसाले माटोका घर पक्की भए, बच्चाहरू राम्रा विद्यालय पुगे र लाखौँ परिवार गरिबीबाट उक्लिए। यो उपलब्धि नकार्नु बेइमानी हुनेछ।

तर हामी एउटा यस्तो मूल्य चुकाइरहेका छौँ, जसको बिल आउँदैन र जुन कुनै राष्ट्रिय लेखामा देखिँदैन। यो तथाकथित प्रगतिले दुई पुस्तालाई एकैसाथ भित्रभित्रै खोक्रो र एकाकी बनाइरहेको छ: बाटो कुर्दाकुर्दै बूढा भएका आमाबुवा र बुवाको न्यानो नपाई हुर्किरहेका बालबालिका। बीचको पुस्ता, अर्थात् हामी, परदेशको करार र सहरको कामको समयसीमाबीच थिचिएका छौँ।

राज्यले रोजगारी, उच्च शिक्षा र विशेषज्ञ अस्पताल काठमाडौँबाहिर पुर्‍याउनुपर्छ, आठ घण्टे कार्यसमय कडाइका साथ लागू गर्नुपर्छ, र गाउँमा एक्ला ज्येष्ठ नागरिक तथा बुवा टाढा भएका बालबालिकाका लागि हेरचाह र परामर्शको व्यवस्था गर्नुपर्छ। घर छाड्ने र फर्कने मानिसको हिसाब पनि राख्नुपर्छ, किनकि जुन समस्या गनिँदैन, त्यसका लागि नीति पनि बन्दैन।

व्यक्तिका रूपमा पनि हामी केही गर्न सक्छौँ। आमालाई ‘थाकेको छु’ भन्नुको सट्टा १० मिनेट उहाँको कुरा सुन्न सक्छौँ। यो दशैँमा मोबाइल एकातिर राखेर बुवासँग एक कप चिया पिउन सक्छौँ। बच्चालाई भिडियो कलमा ‘के किन्ने?’ होइन, ‘आज स्कुलमा के सिक्यौ?’ भनेर सोध्न सक्छौँ।

अन्त्यमा एउटा प्रश्न: हामी जुन घर बनाउन परदेश र सहर पसेका थियौँ, त्यो बनिसक्दा त्यसभित्र बस्ने मानिस बाँकी रहलान् ? जुन बच्चाको भविष्यका लागि वर्तमान त्यागिरहेका छौँ, उसले हामीलाई चिन्ला ? आमाबुवाको बाँकी जीवनको अन्तिम प्रहरमा हाम्रो भागमा परेको त्यो ४०० दिनको हिसाब भोलि हाम्रा छोराछोरीले हाम्रो हकमा कसरी निकाल्लान् ?

पैसाले भरिएको तर मान्छेले रित्तो यो घरलाई प्रगति मान्ने कि सामूहिक पलायन ? घडीको सुई रोकिएको छैन, चार सय दिनको हिसाब चलिरहेकै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?