News Summary
Generated by OK AI. Editorially reviewed.- बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा करिब एक साताभन्दा लामो समय वर्षा हुन सक्ने मौसमविद् डा. विनोद पोखरेलले बताएका छन्।
- उनले केही स्थानमा भारी तथा असिनासहित वर्षा हुन सक्ने संकेत देखिएको र स्थान तथा मात्राबारे मोडेलअनुसार फरक अनुमान आएको बताएका छन्।
- धान काट्ने तयारीमा रहेका किसानलाई मौसम हेरेर योजना बनाउन, सम्भव भए मंगलबारअघि नै धान काटेर सुरक्षित राख्न वा वर्षा रोकिएपछि मात्र काट्न उनले सुझाव दिएका छन्।
५ कात्तिक, काठमाडौं । अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुने संकेत देखिएको मौसमविदले बताएका छन् । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले वर्षाको सम्भावना देखिएको हो ।
मौसमविद् डा. विनोद पोखरेलका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि करिब एक साता वर्षा हुन सक्ने सम्भावना देखाएका छन् ।
चारवटा मौसम पूर्वानुमान मोडेलको औसत पूर्वानुमान चित्र फेसबुकमा सार्वजनिक गर्दै उनले केही स्थानमा भारी वर्षासमेत हुन सक्ने संकेत देखिएको बताएका छन् ।
उनका अनुसार विभिन्न मोडेलले वर्षाको स्थान र मात्राबारे फरक–फरक अनुमान गरेका छन् । त्यसैले अहिले नै कुन ठाउँमा कति वर्षा हुन्छ भन्ने यकिन गर्न कठिन छ । आगामी दिनमा मौसम पूर्वानुमानमा परिवर्तन आउन सक्ने भएकाले पछिल्ला अपडेटलाई ध्यान दिनुपर्ने उनले बताएका छन् ।
धान काटिहाल्न सुझाव
वर्षाको सम्भावनालाई ध्यानमा राख्दै उनले धान काट्ने तयारीमा रहेका किसानलाई मौसमको पूर्वानुमान हेरेर योजना बनाउन सुझाव दिएका छन् ।
अर्को साताको मंगलबारदेखि धान काट्ने योजना बनाएका किसानले सम्भव भए त्यसअघि नै धान काटेर सुरक्षित रूपमा भित्राउन वा वर्षा रोकिएपछि मात्र काट्ने गरी तयारी गर्नुपर्ने उनको भनाइ छ ।

केही स्थानमा असिनासहित वर्षा हुन सक्ने सम्भावना पनि देखिएकाले किसानले थप सतर्कता अपनाउनुपर्ने मौसमविदको भनाइ छ ।
यसैगरी, हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुँदा जोखिम बढ्न सक्ने भएकाले यात्रा तथा पदयात्रामा निस्कनेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । यात्रा वा ट्रेकिङको तयारीमा रहेकाहरूले नियमित मौसम पूर्वानुमान र आधिकारिक सूचनाका आधारमा आफ्नो योजना बनाउन सुझाव दिइएको छ ।
मौसम पूर्वानुमान अझै परिवर्तन हुन सक्ने भएकाले सम्भावित वर्षाको प्रभावबाट जोगिन किसान, यात्रु तथा सम्बन्धित क्षेत्रका नागरिकले पछिल्ला मौसम अपडेटमा ध्यान दिनु आवश्यक छ ।
प्रतिक्रिया 4