+
+
Shares

कादर खान : चरम गरिबीमा बित्यो बाल्यकाल, बलिउडमा बनाए ठूलो नाम

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ५ गते १०:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कादर खानले सन् १९७२ को ‘जवानी दीवानी’ का संवाद लेखेर सुरुवाती फिल्मी पहिचान पाएका थिए।
  • उनी सन् १९७३ को ‘दाग’ बाट अभिनेताका रूपमा बलिउडमा प्रवेश गरेका थिए।
  • कादर खानले ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए र ‘अमर अकबर एन्थोनी’, ‘मुकद्दर का सिकन्दर’ लगायतका फिल्मका संवाद लेखेका थिए।

भारतीय अभिनेता कादर खान अहिले यो दुनियाँमा छैनन् । तर, उनले छाडेर गएका बेजोड अभिनय कलाले उनलाई अमर बनाएको छ । यसै सन्दर्भमा उनको जीवनभोगाइ र त्यससँग जोडिएका किस्साहरू यहाँ उल्लेख गरिएको छ ।

बलिउडमा उत्कृष्ट हास्य कलाकार र संवाद लेखकको कुरा गर्दा कादर खानको नाम आउँछ । कहिले आफ्नो हास्य अभिनयले दर्शकलाई हँसाउने त कहिले खलनायक बनेर डर पैदा गर्ने कादर खानले हिन्दी सिनेमामा छुट्टै पहिचान बनाएका थिए । पर्दामा हँसाउने कादर खानको वास्तविक जीवन भने निकै सङ्घर्षपूर्ण थियो ।

बाल्यकालमा गरिबी भोगे, परिवारका लागि सङ्घर्ष गरे र त्यसपछि आफ्नै मेहनतका भरमा बलिउडमा ठूलो स्थान हासिल गरे । २२ अक्टोबर १९३७ मा अफगानिस्तानको काबुलमा जन्मिएका कादर खानको बाल्यकाल, परिवार, फिल्मी करियर र जीवनसँग जोडिएका केही रोचक प्रसङ्ग  ।

परिवारले किन छाडेको थियो अफगानिस्तान ?

कादर खानको जन्म सामान्य परिवारमा भएको थियो । उनका बुबा अब्दुल रहमान खान अरबी तथा इस्लामिक साहित्यका विद्वान् थिए भने आमाको नाम इकबाल बेगम थियो । कादर खानको जन्म हुनुअघि उनका तीन दाजुभाइको सानै उमेरमा मृत्यु भएको थियो । यसले उनकी आमालाई निकै चिन्तित बनाएको थियो ।

एक अन्तर्वार्तामा कादर खानले आफ्ना दाजुभाइको मृत्युपछि आमालाई काबुलको वातावरण आफ्ना सन्तानका लागि उपयुक्त छैन भन्ने लाग्न थालेको बताएका थिए ।

यही कारण परिवारले अफगानिस्तान छाड्ने निर्णय गर्‍यो र मुम्बई आयो । मुम्बई पुगेपछि उनको परिवार कमाठीपुरा क्षेत्रमा बस्न थाल्यो । त्यहाँ  उनको बाल्यकाल बित्यो । परिवारको आर्थिक अवस्था यति कमजोर थियो कि कतिपय बेला खानाका लागि समेत पैसा हुँदैनथ्यो ।

इन्जिनियरिङका प्राध्यापक पनि थिए कादर खान

कादर खान सामान्य जीवनबाट उठेर असाधारण पहिचान बनाउने व्यक्तिमध्ये एक थिए । अभिनयमा आफ्नो क्षमता देखाएका उनले पढाइमा पनि राम्रो गरेका थिए भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

उनले इन्जिनियरिङको अध्ययन गरेका थिए । पढाइ पूरा गरेपछि उनी सिद्दिकी कलेज अफ इन्जिनियरिङमा प्राध्यापकसमेत बनेका थिए ।

मसानघाटमा संवाद बोलेर गर्थे अभ्यास

कादर खानको जीवनसँग जोडिएको एउटा रोचक प्रसङ्ग उनको अभिनय यात्राको सुरुवाती दिनसँग सम्बन्धित छ । उनलाई बाल्यकालदेखि नै नाटक गर्ने र संवाद बोल्ने रुचि थियो । त्यसैले उनी दक्षिण मुम्बईको एउटा मसानघाटमा एक्लै गएर संवाद बोल्ने अभ्यास गर्थे ।

त्यहाँ उनलाई कसैले बाधा पुर्‍याउँदैनथ्यो । उनी खुलेर अभिनयको अभ्यास गर्न पाउँथे ।

यही क्रममा एक दिन अभिनेता अशरफ खानको नजर उनीमाथि पर्‍यो । अशरफ खानले उनको प्रतिभा पहिचान गरे र नाटकमा काम गर्नेबारे सोधे । त्यसपछि कादर खानको नाटकमा काम गर्ने यात्रा सुरु भयो । बिस्तारै उनले रङ्गमञ्चको दुनियाँमा आफ्नो पहिचान बनाउन थाले ।

लेखकका रूपमा पाएको थियो सुरुवाती पहिचान

कलेजका दिनमा कादर खान नाटकमा निकै सक्रिय थिए । उनको अभिनय र संवाद बोल्ने शैलीले धेरैलाई प्रभावित पारेको थियो । केही समाचारअनुसार, दिग्गज अभिनेता दिलीप कुमारले समेत कलेजमा उनको नाटक हेरेका थिए र उनको प्रतिभाबाट प्रभावित भएका थिए ।

यद्यपि, फिल्मी दुनियाँमा कादर खानले सुरुवाती पहिचान लेखकका रूपमा पा ए। उनले सन् १९७२ मा रिलिज भएको फिल्म ‘जवानी दीवानी’ का संवाद लेखेका थिए ।

त्यसपछि सन् १९७३ मा यश चोपडाको फिल्म ‘दाग’ बाट उनले अभिनेताका रूपमा बलिउडमा प्रवेश गरे । राजेश खन्ना, शर्मिला टैगोर र राखी अभिनीत उक्त फिल्ममा उनले वकिलको भूमिका निर्वाह गरेका थिए ।

पहिलो फिल्मका संवाद लेखेबापत पाएका थिए भारु १ हजार ५०० रुपैयाँ

कादर खानले एक अन्तर्वार्तामा फिल्म ‘जवानी दीवानी’ का संवाद लेखेबापत आफूले भारु १ हजार ५०० रुपैयाँ पाएको बताएका थिए । त्यसपछिको फिल्मका लागि उनलाई २१ हजार रुपैयाँ दिइएको थियो । त्यतिबेला शिक्षकका रूपमा उनको मासिक तलब जम्मा ४०० रुपैयाँ थियो ।

त्यसैले फिल्मबाट प्राप्त हुने रकम उनका लागि निकै ठूलो थियो ।

उनको करियरमा ठूलो परिवर्तन त्यतिबेला आयो, जब फिल्म निर्माता मनमोहन देसाईले उनलाई फिल्म ‘रोटी’ का संवाद लेख्ने अवसर दिए । उक्त कामका लागि उनले १ लाख २१ हजार रुपैयाँ पारिश्रमिक पाएका थिए ।

अमिताभ बच्चनका धेरै हिट फिल्मका संवाद लेखे

कादर खान उत्कृष्ट अभिनेता मात्र थिएनन्, उनी प्रभावशाली संवाद लेखक पनि थिए । उनले ‘अमर अकबर एन्थोनी’, ‘मुकद्दर का सिकन्दर’, ‘लावारिस’, ‘शराबी’, ‘कुली’ र ‘अग्निपथ’ जस्ता फिल्मका संवाद लेखेका थिए ।

गम्भीर विषयलाई पनि सरल र प्रभावशाली शब्दमा प्रस्तुत गर्नु उनको विशेषता थियो । अमिताभ बच्चनको ‘एङ्ग्री योङ म्यान’ छविको लोकप्रियताको समयमा कादर खानले लेखेका संवादले विशेष चर्चा पाएका थिए ।

आफ्नो फिल्मी करियरमा कादर खानले ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए । अभिनय र लेखन दुवै क्षेत्रमा योगदान दिएका उनी हिन्दी सिनेमाका सम्झनलायक कलाकार तथा संवाद लेखकका रूपमा चिनिन्छन् ।

अमर उजालाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?