+
+
Shares

७२ प्रतिशत युट्युब क्रिएटरले प्रयोग गर्छन् जेनेरेटिभ एआई

आफैँलाई डिजिटल पात्र बनाउने क्रेज बढ्दै

प्रतिवेदनले एआई टुलको प्रयोग साधारण भिडियो सम्पादनमा मात्र सीमित नरहेर नयाँ रचनात्मक संसार निर्माण गर्नसमेत भइरहेको देखाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ५ गते १६:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युट्युबको अध्ययनअनुसार पछिल्लो १२ महिनामा भिडियो अपलोड गरेका १४ देखि ४४ वर्षका ७२ प्रतिशत क्रिएटरले भिडियो वा तस्बिर बनाउन एआई प्रयोग गरेका छन्।
  • युट्युबका अनुसार एआई भिडियो पोस्ट गर्ने दुई-तिहाइभन्दा बढीले आफैँलाई भिडियो सामग्रीको केन्द्रमा प्रस्तुत गरेका छन्, र ६१ प्रतिशतले आफूलाई भिडियोभित्र 'इन्सर्ट' गर्न चाहेका छन्।
  • प्रतिवेदनले एआईको प्रयोगले रचनात्मकता बढाए पनि भ्रामक सूचना, गलत पहिचान र 'एआई स्लप' बढेर गुणस्तरीय कथावाचन जोगाउन चुनौती बढेको देखाएको छ।

युट्युबले भिडियो क्रिएटरहरूले आफ्नो काममा एआई टुलको प्रयोग कसरी गरिरहेका छन् भन्नेबारे नयाँ अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ।

युट्युबको ‘कल्चर एन्ड ट्रेन्ड्स’ शृङ्खलाअन्तर्गत अनुसन्धान संस्था एनआरजीसँग मिलेर गरिएको यस अध्ययनले क्रिएटरहरूमा जेनेरेटिभ एआईप्रतिको आकर्षण तीव्र रूपमा बढेको देखाएको छ।

अध्ययनअनुसार, पछिल्लो १२ महिनामा कम्तीमा एउटा भिडियो अपलोड गरेका १४ देखि ४४ वर्ष उमेर समूहका क्रिएटरमध्ये ७२ प्रतिशतले भिडियो वा तस्बिर बनाउन एआई प्रविधिको प्रयोग गरेको पाइएको छ।

आफैँलाई एआई भिडियोमा प्रस्तुत गर्ने ट्रेन्ड र जोखिम

जेनेरेटिभ भिडियो प्रविधिको उपयोगिताबारे अनेकौँ शङ्का–उपशङ्का कायम रहेकै बेला मानिसहरूले यसलाई व्यक्तिगत मनोरञ्जन र रचनात्मकताका लागि व्यापक प्रयोग गर्न थालेका छन्।

युट्युबका अनुसार एआई भिडियो पोस्ट गर्ने दुई–तिहाइभन्दा बढी मानिसले एआईको मद्दतले आफैँलाई भिडियो सामग्रीको केन्द्रमा प्रस्तुत गरेका छन्। सर्वेक्षणमा सहभागी ६१ प्रतिशत मानिसले एआईमार्फत आफैँलाई भिडियोभित्र ‘इन्सर्ट’ गर्न इच्छुक रहेको बताएका छन्।

युट्युबमा यो फिचर सबैभन्दा लोकप्रिय बने पनि यसले नयाँ चुनौतीहरू थपेको विश्लेषकहरूको भनाइ छ। भिडियोमा कुनै व्यक्तिलाई एआईमार्फत फरक परिवेश वा भूमिकामा ढाल्दा भ्रामक सूचना, गलत पहिचान वा सामाजिक भ्रामकता फैलाउने जोखिम उच्च रहन्छ।

युट्युबले यसबारे टिप्पणी गर्दै भनेको छ, ‘आफैँलाई एआई सामग्रीमा जोड्दा मानिसहरूलाई आफ्नो जीवनको निर्देशक आफैँ बनेको अनुभूति हुन्छ जहाँ उनीहरूले आफूलाई कुनै कमेडी नाटकको मुख्य पात्र बनाउन सक्छन् वा आफ्नो पारिवारिक इतिहासलाई एउटा ऐतिहासिक कालखण्डको चलचित्रमा ढाल्न सक्छन्।‘

फेसन डिजाइनदेखि गेमिङ र सिनेमाटिक संसारसम्म

प्रतिवेदनले एआई टुलको प्रयोग साधारण भिडियो सम्पादनमा मात्र सीमित नरहेर नयाँ रचनात्मक संसार निर्माण गर्नसमेत भइरहेको देखाएको छ।

मानिसहरूले डिजिटल माध्यमबाट आफ्नो भूमिका परिवर्तन गरिरहेका छन्। उदाहरणका लागि, भिडियोमा शारीरिक व्यायाम शिक्षकलाई विद्यार्थीहरूको नजरमा डाक्टर, न्यायाधीश वा ‘सुपरहिरो’को भूमिकामा रूपान्तरण गरिएको छ।

त्यस्तै, नयाँ फेसन डिजाइनरहरूले आफ्ना परिकल्पनाहरूलाई वास्तविक रूप दिन एआई प्रयोग गरिरहेका छन् भने कतिपयले भिडियो गेमका दृश्यहरूभित्र आफूलाई समावेश गराएका छन्।

युट्युबका अनुसार धेरै क्रिएटरहरूले आफ्नो दिमागमा रहेका काल्पनिक र सिनेमाटिक ब्रह्माण्डलाई स्क्रिनमा ल्याउन एआईको प्रयोग गरिरहेका छन्, जसले उनीहरूलाई उच्च गुणस्तरको भिडियो दृश्य निर्माण गर्न सक्षम बनाएको छ।

के हो बढेको चुनौती ?

एआई प्रविधिको पहुँचले गर्दा पहिले असम्भव मानिएका विचारहरूलाई पनि भिडियोमा उतार्न सहज भएको छ, जसले मानिसको रचनात्मक अभिव्यक्तिलाई नयाँ उचाइ दिएको छ।

यद्यपि, अहिले सामाजिक सञ्जाल र भिडियो प्लेटफर्महरूमा एआईद्वारा बनाइएका कम गुणस्तरका वा सस्तो खालका सामग्री (एआई स्लप) को बाढी आइरहेको छ।

यस्तो अवस्थामा गुणस्तरीय र अर्थपूर्ण कथावाचनलाई कसरी जोगाउने र प्रवर्द्धन गर्ने भन्ने नयाँ चुनौती युट्युबजस्ता प्लेटफर्महरूका अगाडि खडा भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?