५ कात्तिक, काठमाडौं । अमेरिकी विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले स्टेयरिङ ह्विल र ब्रेक तथा एक्सेलेरेटर पेडलबिनाको दुई सिटे पूर्ण स्वचालित कार ‘साइबरक्याब’ यसै वर्षको अन्त्यसम्ममा ग्राहकलाई बिक्री गर्न सुरु गर्ने घोषणा गरेको छ।
अमेरिकाको सडक सुरक्षा मापदण्डअनुसार यस्तो गाडी चलाउन मिल्ने–नमिल्ने विषयमा नियामक निकायले छानबिन गरिरहेका बेला टेस्लाले बिक्री योजना सार्वजनिक गरेको हो।
रोबोट्याक्सीका रूपमा प्रयोग गर्ने योजना
टेस्लाका इन्जिनियरिङ उपाध्यक्ष लार्स मोराभीले कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा हाल उत्पादन भइरहेका साइबरक्याब मुख्यतः टेस्लाकै रोबोट्याक्सी सेवाका लागि प्रयोग भइरहेको बताए। सुरुमा सीमित संख्यामा बिक्री गरेर क्रमशः ग्राहकसम्म पुर्याउने कम्पनीको योजना छ।
टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले भने साइबरक्याब व्यक्तिगत स्वामित्वमा राख्नेभन्दा पनि भाडामा आधारित यातायात सेवाका लागि उपयोगी हुने बताएका छन्।
उनका अनुसार साइबरक्याबको ठूलो हिस्सा टेस्लाकै स्वामित्वमा रहनेछ। व्यक्तिगत प्रयोगका लागि ग्राहकले मोडल ३, मोडल वाई वा रोडस्टरजस्ता गाडी रोज्ने उनको भनाइ छ।
पूर्ण स्वचालित प्रविधिमा अझै ढिलाइ
मस्कले यसअघि नै ग्राहकसँग रहेका पुराना टेस्ला गाडीलाई सफ्टवेयर अद्यावधिक गरेर स्वचालित रोबोट्याक्सीमा रूपान्तरण गर्ने दाबी गर्दै आएका थिए। तर, यो योजना अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन।
हाल टेस्लाका गाडीमा उपलब्ध ‘फुल सेल्फ ड्राइभिङ (सुपरभाइज्ड)’ प्रणालीले गाडी आफैँ चलाउन सहयोग गरे पनि चालकको निगरानी अनिवार्य हुन्छ।
मस्कका अनुसार मानवीय निगरानी आवश्यक नपर्ने ‘अनसुपरभाइज्ड एफएसडी’ अर्को वर्षको दोस्रो त्रैमासिकसम्ममा मात्र ग्राहकका लागि उपलब्ध हुन सक्छ।
यो समयसीमा कायम रहेमा व्यक्तिगत टेस्ला धनीले आफ्नै गाडीमा पूर्ण स्वचालित प्रविधि प्रयोग गर्न पाउनुअघि नै व्यावसायिक प्रयोजनका लागि साइबरक्याब खरिद गरेर सञ्चालन गर्न सक्नेछन्।
सडक सुरक्षा निकायको छानबिन
साइबरक्याब बिक्री योजनामा अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासन (एनएचटीएसए) को अनुसन्धान प्रमुख चुनौती बनेको छ। गत महिना अस्टिनका सार्वजनिक सडकमा साइबरक्याब देखिन थालेको केही घण्टामै नियामक निकायले यसबारे अनुसन्धान सुरु गरेको थियो।
अमेरिकाको संघीय मोटर सवारी सुरक्षा मापदण्ड (एफएमभीएसएस) अन्तर्गत सवारीसाधनमा स्टेयरिङ, पेडल र साइड तथा रियरभ्यु ऐनाजस्ता परम्परागत नियन्त्रण तथा सुरक्षा उपकरणसम्बन्धी प्रावधान छन्। म्यानुअल नियन्त्रण नभएका गाडीले यी मापदण्ड पूरा गर्नुपर्ने विषय नै साइबरक्याबका सन्दर्भमा मुख्य प्रश्न बनेको छ।
टेस्लाले आफ्नै प्राविधिक तथ्यांकका आधारमा साइबरक्याब सुरक्षित रहेको प्रमाणीकरण गरेको छ। तर, एनएचटीएसएले कम्पनीले कुन प्राविधिक आधारमा यस्तो प्रमाणीकरण गर्यो र गाडीले विद्यमान सुरक्षा मापदण्ड पूरा गर्छ कि गर्दैन भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।
स्रोत : टेकक्रन्च
प्रतिक्रिया 4