News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘पशुपतिप्रसाद’मा हनुमानजीको भेषमा भेटी सङ्कलन गर्ने पात्रले आफ्नो असली अनुहार लुकाएर पशुपतिमा बाँच्ने कथा देखाइएको छ।
- रविन्द्र सिंह बानियाँले हनुमानजीको भूमिका निभाएका छन्, भने विपिन कार्कीले भष्मे डनको पात्रमार्फत फिल्ममा परिचय बनाएका छन्।
- लेखमा मुखुण्डोभित्रको मान्छे, लोभ, डर र पथभ्रष्टताले समाजमा नक्कली अनुहार धारण गर्नुपर्ने बाध्यता देखाइएको छ।
कुनै पनि मान्छे तपाईं जस्तो देख्नुहुन्छ, ठ्याक्कै त्यस्तै हुन्छ त ? यो प्रश्नले तपाईंलाई रनभुल्ल पार्न सक्छ । किनभने अक्सर मान्छे दुईवटा अनुहार लिएर बाँच्छन् । एउटा देखाउने र अर्को लुकाउने ।
मान्छे आफूलाई सज्जन, भलाद्मी, धर्मात्मा, महान् देखाउने चेष्टामा हुन्छ । र, अर्कोतिर आफ्नो सक्कली अनुहार लुकाउने यत्नमा हुन्छ । यही विरोधाभासमा मान्छेहरू बाँचिरहेका हुन्छन् ।
तपाईंले फिल्म ‘पशुपतिप्रसाद’ हेर्नुभयो नि ? यो प्रसङ्ग सोही फिल्मको हो । फिल्मको भन्दा पनि पात्रको । त्यहाँ एउटा गजब पात्र निर्माण गरिएको छ, हनुमानजी ।
हनुमानजीको भूमिकामा को छन् ? मान्छेले फिल्मको सुरुदेखि अन्त्यसम्म थाहा पाउँदैनन् । किनभने सो पात्रले आफ्नो मुखुण्डो नै खोल्दैन । उनको बोलीचालीले भने धेरै कुरा भन्छ। ऊ कुन मनोदशाबाट गुज्रिरहेको छ ?
यो पात्रलाई जीवन्तता दिएका छन्, रविन्द्र सिंह बानियाँले ।
दीपेन्द्र के खनाल निर्देशित यो फिल्मबाट खलपात्रको रूपमा विपिन कार्की सर्वत्र चिनिए । फिल्मी यात्रामा फड्को मार्नका लागि विपिनलाई त्यही पात्रले सहयोग गर्यो। फिल्ममा उनी भष्मे डनको रूपमा छन् ।
फिल्मको मूल कथालाई पशुपति (खगेन्द्र लामिछाने)ले डोहोर्याएका छन् । उनी आफ्नो थातथलो छाडेर पशुपति आर्यघाटमा बरालिन आइपुगेका हुन्छन् । त्यहाँ आउनुको पछाडि उनको आफ्नै दुःखको महाभारत छ । तर, मान्छे दुःखबाट भागेर कहाँ जान सक्छ ?
उसलाई त्यहाँ दुःख दिन आइपुग्छन्, भष्मे डन । अर्थात्, विपिन कार्की । यी दुई पात्रको नोकझोँकसँगै कथा अगाडि बढ्छ । फिल्म ‘पशुपतिप्रसाद’मा मूलतः यही दुई पात्रलाई केन्द्रमा राखिएको छ । तर, यसको कुनामा लुकेको अर्को पात्र हुन्, हनुमानजी ।

हनुमानजीको चरित्र निर्माण निकै रोचक छ । यो पात्र पशुपति आसपासमा हनुमानजीको भेषमा डुलिहिँड्ने गर्छन् । उनले हनुमानको मुकुट लगाएका छन्, पुच्छर लगाएका छन् । लुगाफाटो पनि हनुमानजीको जस्तै छ । हातमा गदा बोकेर भक्तजनहरूका अघिल्तिर ‘जय हनुमानजी’ भन्दै पुग्छन् । त्यसरी पुग्नुको एउटै उद्देश्य हुन्छ, भेटी ।
अर्थात्, उनी हनुमानजीको भेषमा बसेर भेटी सङ्कलन गर्छन् । भक्तजनका लागि त्यो ‘भेटी’ हो । हनुमानजीका लागि ‘बाँच्ने मेलो’। उनी यसलाई ‘मालपानी’ भन्छन् ।
हनुमानजीलाई आवरणमा देख्नेहरूले श्रद्धा गर्छन् । उनीहरूले पौराणिक पात्र हनुमानको रूपमा पूज्छन् । धर्म कमाउन भनी पशुपति परिसरमा पुग्नेहरू हनुमानजीलाई देखेर भक्तिभावले ओतप्रोत पनि हुन्छन्। ढोग्नै खोज्छन् ।
तर, त्यही हनुमानजीको आवरणभित्र लुकेको मान्छे भने अर्कै छ ।
ऊ तामसिक छ । तनावमा छ । उसको आफ्नै दशा छ । मौका मिल्नासाथ ऊ खुसुक्क फ्रुटी खान्छ । पत्रिका हेर्छ । पत्रिकामा उसको आफ्नै खबर छापिएला कि भन्ने डर छ । उसको तीनपुस्ते बैंकको कालोसूचीमा चढिसकेको जस्तो लाग्छ । सबै कुरा त खुल्दैन । तर, ऊ सद्धे र सज्जन मान्छे होइन । उसको जीवन सहीसलामत छैन ।
त्यही कारण ऊ समाजलाई आफ्नो असली अनुहार लुकाएर बाँच्न बाध्य छ । असली अनुहार त लुकाउन सकिएला । तर, अर्को बाध्यता पनि छ-भोक । त्यो कसरी मेट्ने ?
यसैका लागि ऊ हनुमान बन्न पुग्छ । पशुपतिमा आउने भक्तजनहरूले श्रद्धाले दिने भेटीले उसको भोक मेट्नुपर्छ ।
हनुमानजीले त्यही आफ्नो कर्मथलो बनाएका छन्, जहाँ दिनहुँ लास जलाइन्छ । त्यहाँ देखिने नियमित दृश्य हो, दनदनी बलिरहेको चिता । एउटा सग्लो मान्छे क्षणभरमै कसरी खरानी हुन्छ ? कसरी धुवाँ हुन्छ ? उसले नहेरे पनि देखिरहन्छ।
हिजो बाँचुञ्जेल त्यो मान्छेको फुर्ती कस्तो थियो होला ? के–के गरे होलान् ? कति घरघडेरी जोडे होलान् ? पैसाका लागि कति कुस्ती खेले होलान् ? सम्बन्धका लागि कति लफडा गरे होलान् ? तर, त्यो कतिदिन रहने रहेछ ?
आखिर शरीरबाट सास उम्केर गएपछि उसको धन, दौलत, मानप्रतिष्ठा केही बाँकी नरहने रहेछ । मान्छे त खरानी रहेछ ।
हिजो बाँचुञ्जेल त्यो मान्छेको फुर्ती कस्तो थियो होला ? के–के गरे होलान् ? कति घरघडेरी जोडे होलान् ? पैसाका लागि कति कुस्ती खेले होलान् ? सम्बन्धका लागि कति लफडा गरे होलान् ? तर, त्यो कतिदिन रहने रहेछ ?
आखिर शरीरबाट सास उम्केर गएपछि उसको धन, दौलत, मानप्रतिष्ठा केही बाँकी नरहने रहेछ । मान्छे त खरानी रहेछ ।
बेलाबखत आदर्शको गफ हाँक्ने हनुमानजीलाई यी कुराहरूको तत्त्वबोध पक्कै नभएको होइन होला । तैपनि उनी फेरि सांसारिक जीवनबाट छुट्न सक्दैनन् । फ्रुटीको रसले उनलाई तानिहाल्छ, पत्रिकामा आउने बैंकको सूचनाले भयभीत बनाइहाल्छ।
फिल्म ‘पशुपतिप्रसाद’मा यो पात्रलाई बढाइचढाइ देखाइएको छैन । ऊ बेलाबखत पशुपतिलाई सहयोग गर्न प्रकट हुन्छ । त्यो पनि भष्मे डनको दादागिरीबाट बचाउन । भष्मे डन ऊसँग औधी डराउँछ । तर, किन ?
फिल्ममा स्पष्ट खुलाइएको छैन । तर, के हुन सक्छ भने उसले त्यहाँ रहँदा–बस्दा भष्मे डनका थुप्रै कमी–कमजोरी फेला पारिसकेको छ । भष्मे डनको बदमासी उसले थाहा पाइसकेको छ। यसरी कसैको कमजोरीको साक्षी भइसकेपछि फेरि उसको तागत स्वतः बढ्छ । पोल खुल्ने भयले ।
आफ्ना तमाम पोल खुल्छन् भनेरै भष्मे डन हनुमानजीको अगाडि लाचार हुन पुग्छ । बिचरा भष्मेलाई थाहा छैन, हनुमानजीको मुकुण्डो खोलियो भने त्यहाँभित्र कसको पोल खुल्छ ?
दीपेन्द्र के खनाल र खगेन्द्र लामिछानेले यो चरित्र कसरी निर्माण गरे ? थाहा छैन । तर, यो पात्रले वास्तवमै ठूलो अर्थ बोकेको छ ।
सांसारिक जीवनमा फस्दै गएपछि मान्छेहरू लोभ, डर, घृणा, आसक्तिले पथभ्रष्ट हुँदै जान्छन् । यो क्रमले एक दिन त्यही ठाउँमा पुर्याउँछ, जहाँ उनीहरू आफ्नो अनुहार देखाएर बाँच्न सक्ने स्थितिमा हुँदैनन् । अनि नक्कली अनुहार धारण गर्नुपर्ने हुन्छ । खासगरी नेपाली राजनीतिमा यस्ता अनुहार छ्यापछ्याप्ती छन् । सोच्नुहोस् त, मुखले एउटा भन्ने, व्यवहारले अर्को गर्ने कुन–कुन नेताको अनुहार देख्नुभयो ?
प्रतिक्रिया 4