News Summary
Generated by OK AI. Editorially reviewed.- पोर्चुगलको लिस्बनमा वृन्दा रिजाल र रमेशराज बास्तोलाले छ वर्षदेखि ‘कटेरो टहरो’ नामको नेपाली शैलीको होमस्टे सञ्चालन गरिरहेका छन्।
- कटेरो टहरोमा विदेशी पाहुनाले नेपाली खाना, संस्कृति र टीका–दक्षिणा अनुभव गर्दै बस्ने गरेका छन्।
- बास्तोला दम्पतीले म्याग्दी, पर्वत वा बागलुङमध्ये कुनै एक जिल्लामा ‘कटेरो टहरो’ विस्तार गर्ने योजना बनाएका छन्।
५ कात्तिक, लिस्बन (पोर्चुगल) । सन् २०२६ अक्टोबर २२, बडादशैँको टीकाको दिन। पोर्चुगलको राजधानी लिस्बनको व्यस्त सहरमा वृन्दा रिजाललाई भ्याइनभ्याइ छ। परिवारसँग दशैँ मनाउने र टीका लगाउने चटारो त छँदै छ, विदेशी पाहुनालाई नेपाली संस्कृति देखाउँदै आफ्नो कटेरो टहरोमा स्वागत गर्ने तयारी पनि गर्नुछ।
विभिन्न देशका सयौँ पाहुनालाई आफ्नो घरमा महिनौँसम्म राखिसकेकी वृन्दाका लागि यो दैनिकी सामान्यजस्तै हो। तर, दशैँको टीकाकै दिन तीन देशका नौ जना पाहुना एकैपटक आउने भएपछि यसपालि उनलाई अलि बढी चटारो परेको छ। उनलाई श्रीमान् रमेशराज बास्तोलाले सघाइरहेका छन्।
‘विदेशी पाहुनाहरू भोलिदेखि हाम्रो कटेरो टहरोमा बस्न आउने कुरा थियो। तर, नेपालीहरूको ठूलो चाड दशैँको टीका भएकाले नेपाली संस्कृतिलाई नजिकबाट नियाल्न पाऊन् भनेर आजै बोलाएका हौँ,’ वृन्दाले भनिन्।
विदेशी पाहुनालाई चखाउन वृन्दा र रमेशराजले राति नै दूधको कुराउनी र सेलरोटी तयार पारिसकेका छन्।
लिस्बनस्थित ‘कटेरो टहरो’मा दशैँका बेला देखिने यो दृश्य अन्य चाडपर्व र सामान्य दिनमा पनि दोहोरिरहन्छ। पोर्चुगल घुम्न आउने विदेशी हुन् वा नेपालबाटै पुग्ने नेपाली, उनीहरू प्रायः होटल, होस्टल वा अपार्टमेन्ट भाडामा लिएर बस्छन्।
तर, यही चलनबीच नेपाली घर र होमस्टेको झल्को दिने गरी वृन्दा र रमेशराजले विदेशी पाहुनालाई लक्षित गरेर ‘कटेरो टहरो’ सञ्चालन गरिरहेका छन्।

पोर्चुगलमा होमस्टेको अवधारणा त्यति प्रचलित छैन। तर, यो दम्पतीले छ वर्षदेखि नेपाली शैलीको होमस्टे सञ्चालन गर्दै लिस्बनसहित चार स्थानबाट विदेशी पाहुनालाई नेपाली संस्कृति, खानपान र आत्मीयतासँग परिचित गराइरहेको छ। पोर्चुगल आउने विभिन्न देशका पर्यटक उनीहरूको होमस्टेमा पुग्छन्। त्यहाँ नेपाली खानाका परिकार, कला, संस्कृति र परम्पराको अनुभव लिन पाउँछन्।
विदेशी पाहुना अनलाइनबाट कोठा बुक गरेर आउँछन्। नेपालीहरू भने ‘कटेरो टहरो कस्तो छ, एकपटक हेरौँ’ भन्दै पुग्ने गरेको वृन्दा बताउँछिन्।
‘हामी बस्ने घर नै हो, यहाँ खासै हेर्ने कुरा केही हुँदैन। तैपनि हामीले सकेको स्वागत सत्कार गर्ने गरेका छौँ,’ उनी भन्छिन्।
बाहिरबाट हेर्दा कटेरो टहरो खास विशेष देखिँदैन। तर, भित्र पस्दै जाँदा नेपाली संस्कृति, खानपान र आत्मीयताको झल्को दिने एउटा सानो सङ्ग्रहालयजस्तै अनुभूति हुन्छ।
पोर्चुगलमा रहेका लेखक तथा विश्लेषक दिल निसानी मगर कटेरो टहरोले पोर्चुगलबाट विश्वसामु नेपाललाई चिनाइरहेको बताउँछन्। अमेरिकाको कोलोराडोबाट चौथोपटक लिस्बन आएका प्राध्यापक रिचर्ड ब्रोन हरेकपटक कटेरो टहरोमै बस्न जाने गरेको प्रसङ्ग सुनाउँदै मगर भन्छन्, ‘केही समयअघि मैले उनलाई कटेरोमै भेटेको थिएँ। प्राध्यापक रिचर्ड नेपाल घुम्न जाँदा बन्दीपुरमा बसेका रहेछन्। कटेरो टहरोमा बस्दा उनलाई त्यहाँको होमस्टेको जस्तै झल्को आउने रहेछ।’
यसपालिको गर्मी बिदामा पनि लिस्बनको कटेरो टहरोमा बसेका रिचर्डको यो चौथो भ्रमण हो।
‘हामीकहाँ त्यस्तो विशेष केही छैन। विदेशीहरू रमाएर नेपाली दालभात तरकारी खान्छन्, खसीको भुटुवा खान्छन्। नेपाली परिकारको स्वाद लिन्छन्,’ वृन्दा भन्छिन्, ‘त्यसपछि मादल बजाउँछन्, सारङ्गी रेट्छन्, सनई बजाउँछन्। पर्यटकहरू नेपाली खाना खान्छन् र नेपाली धुनमा नाच्छन्। उनीहरू यसैमा रमाएका छन्।’

उनका अनुसार विभिन्न देशका अवकाशप्राप्त कर्मचारी, अध्येता, अनुसन्धानकर्ता र विद्यार्थी कटेरो टहरोमा बढी आउने गरेका छन्।
‘हामीले कोठाको शुल्क तय गरेर अनलाइन माध्यममा राखेका छौँ। त्यहीँबाट बुकिङ गरेर पाहुनाहरू आउनुहुन्छ,’ वृन्दा भन्छिन्, ‘पाहुनाको उमेर, पेसा र व्यवहार हेरेर कोठाको भाडा घटाइदिने पनि गरेका छौँ। खानाको पैसा खासै लिँदैनौँ। हाम्रो भान्छामा जे पाक्छ, उहाँहरूले त्यही खानुहुन्छ। म हरेक दिन आफ्नै हातले पकाएर खुवाउँछु।’
कटेरो टहरो लिस्बनमा यति परिचित भइसकेको छ कि एक किलोमिटर वरपरका स्थानीयले समेत त्यहाँ पुग्ने बाटो बताइदिन्छन्। यसको अनुभव गरेका छन्, पोर्चुगलमा रहेका नेपालीबारे विद्यावारिधि गर्न नेपालबाट आएका प्राध्यापक विजय राज अर्यालले।
केही महिनाअघि बास्तोला दम्पती र उनीहरूको कटेरो टहरो खोज्ने क्रममा अर्याल अलमलिएका थिए। स्थानीयसँग सोध्दा उनीहरूले सहजै बाटो बताइदिए।
‘लिस्बनमा कटेरो टहरो प्रख्यात रहेछ,’ प्राध्यापक अर्याल भन्छन्, ‘यहाँका स्थानीयले रमेशराज बास्तोला र उहाँहरूको कटेरो टहरोलाई सहजै चिन्दा रहेछन्। परदेशी भूमिको घना बस्तीमा नेपालीले कमाएको यो ख्यातिले मलाई गद्गद् बनायो।’
के छ कटेरो टहरोमा ?
फ्रान्सका चलचित्र समीक्षक पिया अदुवे बुधबार साँझ कटेरो टहरोमा खसीको मासु हातले समातेर खाइरहेका थिए। निधारमा रातो टीका लगाएका उनी पलेँटी कसेर बसेका थिए। नेपाली शैलीमा मासु खाइरहेको उनको दृश्य रोचक थियो।
‘आजको रातिको खाना साथीहरूसँग बाहिर खाने योजना थियो। तर, यहाँको खानाले यति लोभ्यायो कि यहाँ खान पाउने भएपछि साथीसँगको रात्रिभोज नै रद्द गरेँ,’ उनले सुनाए।
केही दिनअघि पनि उनले कटेरो टहरोमा खसीको मासु, मासको दाल र भात खाएका रहेछन्। त्यही स्वादले उनलाई फेरि यहाँ तानेको थियो।
दशैँको टीका लगाएर रमेशराजले दक्षिणासहितको खाम हातमा राखिदिएपछि भने अदुवे अलमलमा परे। पहिलोपटक नेपाली संस्कृति अनुभव गरिरहेका उनले सोधे, ‘अब मैले पनि रमेशलाई यस्तै गर्ने हो ?’
खाममा भएको दक्षिणा निकालेर गन्दै उनले रमेशराजलाई अर्को प्रश्न गरे, ‘आज यहाँ भएका सबै मानिसलाई पैसा बाँडेको हो ? नेपालीहरू यसरी बाँड्न पुग्ने गरी पनि पैसा कमाउँछन् ?’
उनको जिज्ञासा मेटाउँदै बास्तोला दम्पतीले नेपाली संस्कृति र दशैँको महत्त्वबारे बुझाए।

दुई वर्षअघि बुकिङ डटकममार्फत कटेरो टहरोमा बस्न आएका फ्रान्सेली वृद्धको प्रसङ्ग पनि वृन्दा र रमेशराजका लागि अविस्मरणीय छ। उनी अघिल्लो महिनासहित तीनपटक कटेरो टहरोमा बसिसकेका छन्। पछिल्लोपटक त उनी लगातार दुई महिना त्यहीँ बसे।
ती फ्रान्सेली वृद्ध सुरुका दिनमा बाहिर गएर खाना खान्थे। किनभने, उनले नेपाली खाना कहिल्यै खाएका थिएनन्। उनी शारीरिक कमजोरी र शरीर काँप्ने समस्याबाट पनि पीडित थिए।
वृन्दा सम्झिन्छिन्, ‘एक दिन मैले खसीको मासुमा अदुवा, लसुन, टिमुरलगायतका मसला राखेर सुप बनाएर खुवाएँ। दार्चुलाबाट उपहार आएको यार्सागुम्बाको धुलो पनि दूधमा मिसाएर पिउन दिएँ। त्यस दिन भाङको चटनी, सिमीको दाल र मार्सी चामलको भात खुवाएकी थिएँ। त्यसपछि आफ्नो स्वास्थ्यमा सुधार भएको महसुस गरेको बताउँदै उनी हाम्रै भान्छामा खाना खान थाले।’
कटेरो टहरोमा बस्ने विदेशी पाहुनाको दैनिकी पनि नेपाली घरको जस्तै हुन्छ। बिहान उठेपछि उनीहरू नेपाली शैलीमा उमालेको चिया पिउँछन्। दिउँसो अन्य पाहुनासँगै बसेर सामूहिक रूपमा खाना खान्छन्।
कटेरो टहरोका एक सहयोगी कर्मचारी भन्छन्, ‘वृन्दा भाउजूको हातले बनाएको खानाको स्वाद नै विशेष हुन्छ। नेपाली शैलीमा पाकेको मासु, मार्सी चामल, सागसब्जी र दालको स्वादमा विदेशीहरू मोहित हुन्छन्।’
विदेशीले नेपाली खानाको असली स्वाद पाऊन् भनेर वृन्दा आफैँ भान्छामा पस्छिन्। अरू काम सहयोगीलाई जिम्मा दिए पनि खाना पकाउने र मसलाको तयारी गर्ने काम उनी आफैँ गर्छिन्।
‘कति जनालाई खुवाएँ होला, हिसाबै छैन। विश्वका डेढ सयभन्दा बढी देशका पाहुनालाई आफ्नै हातले तयार पारेको नेपाली खाना खुवाइसकेँ, त्यो पनि आफ्नै घरमा,’ उनी भन्छिन्।
कटेरो टहरोमा खिर, कुराउनी र सेलरोटीजस्ता परम्परागत नेपाली परिकार आगोमै पकाइन्छ। युरोपको व्यस्त सहरमा दाउरा जुटाएर आगो बाल्नु आफैँमा चुनौतीपूर्ण काम हो। तर, स्वादका लागि बास्तोला दम्पतीले यो परम्परागत शैलीलाई निरन्तरता दिइरहेका छन्।

‘उहाँहरूले स्वादका लागि यसरी नै मेहनत गरिरहनुभएको छ,’ उनीहरूका छिमेकी नेपाली अर्जुन पौडेल भन्छन्।
होमस्टेमा आवश्यक सबै सुविधा छन्। घरपछाडि ठूलो बगैँचा र तरकारीबारी छ। बगैँचामा मौसमअनुसारका फलफूलका बोटसँगै तीन जातका गुराँस पनि रोपिएका छन्। लिस्बनकै अर्को स्थानमा रहेको कटेरो टहरोमा पनि यस्तै परिवेश छ।
उनीहरूले आवश्यक पर्ने अधिकांश सागसब्जी आफ्नै बारीमा उमार्छन्। मासुका लागि आफ्नै फार्म हाउससमेत सञ्चालन गरेका छन्। मार्सी चामल र अधिकांश दाल भने नेपालबाटै मगाउँछन्।
उत्कृष्ट पाककला भएकी वृन्दाले बाहिर काम गरेर राम्रो आम्दानी गर्न सक्छिन्। तर, संसारभरिका पाहुनालाई नेपाली खाना खुवाउने रहरले उनलाई आफ्नै भान्छामा व्यस्त राखेको छ।
वृन्दा नेपालीबाहेक डेनिस, पोर्चुगिज, अंग्रेजी, डच, जापानी र हिन्दी गरी छ भाषा बोल्न सक्छिन्। उनी इटालियन खानाका परिकार बनाउने सेफसमेत भइसकेकी छन्। कुनै समय जापानी भाषाकी शिक्षिका पनि थिइन्।
रमेशराज भने घरव्यवहार र होमस्टेको सञ्चालन तथा रेखदेखसँगै बाहिरी काम पनि गर्छन्। उनी पोर्चुगलको प्रख्यात बैंक नोभो बैंकमा कार्यरत छन्।
कोरोनाले जन्माएको कटेरो टहरो
कोभिड–१९ को असर सन् २०२० को सुरुवातदेखि नै विश्व अर्थतन्त्रमा पर्न थालेको थियो। पर्वतमा जन्मिएका रमेशराज बास्तोला डेनमार्क हुँदै पोर्चुगल पुगेका थिए। श्रीमती वृन्दा र छोरासहित उनी लिस्बनमा बस्दै आएका थिए।
नेपालमै पर्यटन व्यवसायमा काम गरेको अनुभव भएका उनीहरूले पोर्चुगल पुगेपछि पनि यही क्षेत्रमा काम सुरु गरे। बास्तोलाले ‘घुमघाम पोर्चुगल’ नामक फेसबुक पेजमार्फत नेपाली तथा विदेशी पर्यटकलाई पोर्चुगलका गाउँ र सहर घुमाउने काम गर्थे।
तर, कोरोना महामारीका कारण पोर्चुगलको पर्यटन व्यवसाय धराशायी भयो। यसले नेपाली समुदायका व्यवसायी र कामदारलाई पनि प्रभावित पार्यो। बास्तोलाले आफ्नो जीविकोपार्जनको एकमात्र माध्यम गुमाए।
त्यही समयमा नर्वेकी एक प्राध्यापकको फोनले उनको व्यावसायिक जीवनमा नयाँ मोड ल्यायो। ती प्राध्यापक यसअघि पोर्चुगल भ्रमणमा आउँदा बास्तोलाले नै उनलाई घुमाएका थिए। कोरोना महामारीकै बीच फेरि पोर्चुगल आइपुगेकी उनले होटलमा बस्न मन नभएको भन्दै बास्तोलाको घरमा बस्न मिल्छ कि भनेर सोधिन्।
भर्खरै जन्मिएको छोरा, श्रीमती र आफू जसोतसो गुजारा गरिरहेका बेला बेरोजगार बास्तोलाले तत्कालै हुन्छ भन्न सकेनन्। तर, वृन्दाले भने फ्याट्टै भनिन्, ‘हुन्छ।’
वृन्दा सम्झिन्छिन्, ‘ती विदेशीले हाम्रै घरमा बस्छु भनेर फोन गर्दा मलाई नेपालका विभिन्न ठाउँमा सञ्चालित होमस्टेको याद आयो। त्यसपछि अबको व्यावसायिक जीवन यसरी सुरु गर्नुपर्छ भन्ने लाग्यो र तत्कालै निर्णय लिएँ।’
ती नर्वेली प्राध्यापकलाई घरमा राखेकै दिन बास्तोला दम्पतीले आफ्नो घरको नाम जुराए, ‘कटेरो टहरो’।
यसरी सुरु भएको कटेरो टहरो छ वर्षको अवधिमा पोर्चुगलका चार स्थानमा फैलिएको छ। लिस्बनका दुई स्थान, उत्तरी पोर्चुगलको भेरार्देमौरस र सेतुबाल जिल्लाको सेइसालमा उनीहरूले होमस्टे सञ्चालन गरिरहेका छन्।
अब यो ‘ब्रान्ड’ नेपालमा पनि विस्तार गर्ने उनीहरूको योजना छ। म्याग्दी, पर्वत र बागलुङमध्ये कुनै एक जिल्लामा कटेरो टहरो नामकै होमस्टे सञ्चालन गर्ने तयारी भइरहेको रमेशराजले बताए।
‘त्यसका लागि सम्भावित स्थानमा जग्गा खरिद गर्न हेर्ने काम भइरहेको छ। अर्को वर्ष त्यसैका लागि नेपाल जाँदै छु,’ उनले भने।
प्रतिक्रिया 4