News Summary
Generated by OK AI. Editorially reviewed.- टाइगर श्रफमाथि गोली प्रहारको घटनामा कोटाबाट पक्राउ परेका तीन अभियुक्तमध्ये ऋतिक कुमारलाई अदालतले अक्टोबर ३१ सम्म प्रहरी हिरासतमा राख्न आदेश दिएको छ।
- बिहारको बेगुसराय डुमरी मोहल्लाको घरका मालिक ऋतिक कुमार भएको खुलेको छ, जसलाई सुरुमा उनकी आमाले चिन्न अस्वीकार गरेकी थिइन्।
- संयुक्ता देवीका अनुसार ऋतिक मुम्बईमा कुक काम गर्थे र उनीलाई फसाइँदै छ भन्दै छोरा निर्दोष रहेको दाबी गरिएको छ।
बिहारको बेगुसराय सहरमा रहेको सामान्य देखिने एउटा घर यतिबेला चर्चामा छ ।
सहरको डुमरी मोहल्लामा रहेको यो घर करिब ६०० वर्गफिट क्षेत्रफलमा फैलिएको छ । घरनजिकैबाट आवतजावत गर्ने मानिसहरू यसलाई जिज्ञासापूर्वक हेर्ने गर्छन् ।
वास्तवमा, यो घर ऋतिक कुमार उर्फ रोशनको हो ।
अभिनेता टाइगर श्रफमाथि भएको गोली प्रहारको घटनामा राजस्थानको कोटाबाट पक्राउ परेका तीन अभियुक्तमध्ये ऋतिक कुमार पनि एक हुन् ।
यस घटनामा अदालतले तीनै अभियुक्तलाई अक्टोबर ३१ सम्म प्रहरी हिरासतमा राख्न आदेश दिएको छ ।
अक्टोबर १९ मा ऋतिक कुमार पक्राउ परेपछि उनकी आमा संयुक्ता देवीले सुरुमा उनलाई आफ्नो छोरा मान्न अस्वीकार गरेकी थिइन् । तर, पछि पक्राउ परेका ऋतिक आफ्नै छोरा भएको उनले पुष्टि गरिन् ।
को हुन् ऋतिक कुमार ?
ऋतिक कुमार बदलपुरा गाउँका बासिन्दा हुन् ।
ऋतिकको परिवार करिब १५ वर्षअघि मटिहानीबाट बेगुसराय सहरमा बसाइँ सरेको थियो । यहाँ आएपछि उनीहरूले पिपरा नामक ठाउँमा समोसा बेच्ने सानो पसल खोलेका थिए । साथै, उनीहरूले अर्को सानो पसल पनि सञ्चालन गरेका थिए, जहाँ साडी र देवीदेवताको पूजामा प्रयोग हुने कपडाहरू बिक्री गरिन्थ्यो ।
ऋतिकका बुबाको नाम रामु महतो र आमाको नाम संयुक्ता देवी हो। उनीहरूका तीन सन्तान छन् । ऋतिक, उनका कान्छा भाइ र एक बहिनी। बहिनीको विवाह भइसकेको छ ।
रामु महतो समोसाको पसल चलाउँछन् भने उनकी पत्नी संयुक्ता देवी कपडाको पसल सञ्चालन गर्छिन् ।
यस दम्पतीले करिब दुई वर्षअघि बेगुसराय सहरको डुमरी मोहल्लामा एउटा घर बनाएका थिए । उक्त घरमा अझै रङरोगन गरिएको छैन ।
रामु महतोका एक छिमेकीले नाम नखुलाउने सर्तमा बताए, ‘ऋतिक करिब २२ वर्षका छन् । उनी दुई वर्षअघि मात्रै यहाँबाट दिल्ली गएका थिए । उनलाई स्टाइलमा हिँड्न मन पर्थ्यो । कपाल लामो पाल्थे, जिम जान्थे र शरीरमा ट्याटु बनाउने सोख थियो । केही समय बुबाको पसलमा काम गरे । त्यसपछि उनी दिल्लीमा कतै खाना पकाउने काम गर्न थालेको थाहा भयो ।’
‘मेरो छोरा कुक हो, उसलाई फसाइँदै छ’
ऋतिक पक्राउ परेपछि स्थानीय पत्रकारहरूले उनकी आमा संयुक्ता देवीसँग कुराकानी गर्न खोज्दा उनले सुरुमा ऋतिकलाई चिन्न अस्वीकार गरेकी थिइन् ।
सुरुमा उनले अस्वीकार गरेकी थिइन् । तर, पछि कोटा र मुम्बई प्रहरीले फोन गरेपछि पक्राउ परेका युवक आफ्नै छोरा ऋतिक भएको विश्वास गरिन् ।
संयुक्ताका अनुसार ऋतिक केही महिनाअघि दिल्लीबाट मुम्बई गएका थिए । त्यहाँ पनि उनी खाना पकाउने काम गर्थे । केही दिनअघि उनले घरबाटै सेकेन्ड ह्यान्ड मोटरसाइकल किन्न ४० हजार रुपैयाँ लिएका थिए । उनी अगस्ट महिनामा बेगुसराय आएका थिए र अक्टोबर १ मा फर्किएका थिए ।
उनका अनुसार ऋतिकको कपाल निकै लामो थियो । तर, एउटा मनोकामना पूरा गर्ने धार्मिक सङ्कल्पका कारण उनले कपाल मुण्डन गराएका थिए ।
संयुक्ता देवीले स्थानीय सञ्चारमाध्यमलाई ऋतिकको एउटी युवतीसँग प्रेमसम्बन्ध रहेको र दुवै विवाह गर्न चाहेको पनि बताएकी छन् । तर, युवतीका बुबा यो सम्बन्धप्रति असन्तुष्ट थिए ।
उनले भनिन्, ‘मेरो छोरालाई फसाइँदै छ। मेरो छोरा पढेलेखेको छ। उसले कसैलाई मार्न सक्दैन र गोली पनि चलाउन सक्दैन ।’
तर, ऋतिक र्यापिडोमा मोटरसाइकल चालकका रूपमा पनि काम गर्थे । ऋतिक अक्टोबर १४ देखि र्यापिडोका चालकका रूपमा सक्रिय थिएनन् । तर, टाइगर श्रफमाथि गोली प्रहार भएको दिन अर्थात् अक्टोबर १८ मा उनले ग्राहकका रूपमा र्यापिडो सेवा प्रयोग गरेका थिए ।
ऋतिकका साथीहरूले उनी आफ्नो रूपरङ, व्यक्तित्व र शारीरिक तन्दुरुस्तीप्रति सचेत रहने गरेको बताएका छन् । उनको सामाजिक सञ्जालमा कडा शारीरिक अभ्यास, ट्याटु र बीएमडब्ल्यू कारसँगका भिडियोहरू चर्चामा छन् । तर, उनको सामाजिक सञ्जालमा देखिने जीवनशैली र वास्तविक आर्थिक अवस्थाबीच ठूलो अन्तर रहेको उल्लेख छ ।
बिबिसीबाट
प्रतिक्रिया 4