+
+
Shares

जोर्डनको चर्चमा गोली चल्दा ७ जनाको मृत्यु, ३४ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ७ गते १०:५५

जोर्डनको काराक प्रान्तस्थित हमूद क्षेत्रको एक चर्चमा अन्त्यसंस्कार चलिरहेका बेला अज्ञात बन्दुकधारीहरूले गरेको अन्धाधुन्ध गोलीबारीमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ३४ जनाभन्दा बढी घाइते भएका छन्।

शुक्रबार घटेको यो घटनाले मुस्लिम बहुल जोर्डनमा ठूलो शोक र आक्रोश पैदा गरेको छ। शान्त मानिने यस देशमा यस प्रकारका घातक हिंसाका घटनाहरू निकै कम मात्र हुने गर्छन्।

घटनाको विवरण र सीसीटीभी फुटेज

प्रत्यक्षदर्शी र सुरक्षा अधिकारीहरूका अनुसार अज्ञात आक्रमणकारीहरू गाडीमा चढेर चर्चमा आएका थिए। उनीहरू भित्र प्रवेश गरेर अन्धाधुन्ध गोली चलाएपछि त्यहाँबाट फरार भएका थिए। हालसम्म यो आक्रमणको जिम्मा कसैले पनि लिएको छैन।

सीसीटीभी फुटेजमा तीन जना बन्दुकधारीहरू सडकबाट चर्चतर्फ जाँदै गरेको प्रष्ट देखिन्छ । दुई जना आक्रमणकारी चर्चको प्रवेशद्वारतर्फ जान्छन् । त्यसपछि केहीबेर पछि हटेर तेस्रो व्यक्तिसँगै फेरि फर्किन्छन्। तीनै जनाको हातमा अत्याधुनिक बन्दुकहरू देखिन्छन्।आक्रमणपछि चर्चभित्र भागदौड मच्चिएको थियो । जमिनमा मृत तथा घाइतेहरू थिए।

गवाहीहरूको बयान: ‘युद्धको मैदानजस्तै बन्यो चर्च’

चर्चभित्र उपस्थित खालिद अल-मदानतले बिबिसी अरेबीलाई बताए अनुसार गोलीबारी करिब १५ मिनेटसम्म चलेको थियो। ‘बच्नका लागि मानिसहरूले एक-अर्कालाई धकेल्ने र जमिनमा लुक्ने प्रयास गरे। केही मानिसहरू लुकिरहेका थिए, केहीले आफ्ना मृत आफन्तलाई काखमा बोकेका थिए भने केहीले आफ्ना छोराछोरीलाई समातेर भागिरहेका थिए,’ उनले भने।

अर्का एक गवाही भने, ‘मैले त यस्तो आवाज सुनेँ जस्तो कि कुनै युद्ध चलिरहेको छ। पहिले त मलाई बिजुलीको सर्ट सर्किट होला जस्तो लाग्यो, तर पछि मानिसहरू रगतमा लतपतिएर ढलेको देखेँ।’

प्रार्थना सुरु भएको केही सेकेन्डमै मेसिनगनको आवाज र सिसा फुटेको आवाज आएको चर्चभित्र रहेकी एक महिलाले बताइन्।

सरकारको प्रतिक्रिया र राजा अब्दुल्ला द्वितीयको चेतावनी

जोर्डनका गृहमन्त्री माजेन अल-फरायाले हमलाकारीहरूलाई ‘चरमपन्थीहरूको गिरोह’ को रूपमा वर्णन गर्दै अधिकारीहरूले उनीहरूलाई पक्रन तीव्र खोजी अभियान चलाइरहेको बताएका छन्।

जोर्डनका राजा अब्दुल्ला द्वितीयले काराकलाई लक्षित गरेर गरिएको यो आतङ्ककारी कृत्यविरुद्ध सरकारले कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन्। घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न राजा स्वयं अस्पताल जाने कार्यक्रम रहेकाले काराक अस्पताल वरपर सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ।

मृत्यु हुनेको सङ्ख्या सुरुमा ७ भनिए पनि सरकारी प्रवक्ताले ६ जनाको पुष्टि गरेका थिए । यद्यपि पछिल्लो विवरण अनुसार अधिकारीहरूले मृतकको सङ्ख्या ७ नै रहेको पुष्टि गरेका छन्।

लेबनानका राष्ट्रपति जोसेफ औनले पनि यस ‘जघन्य आतङ्ककारी हमला’ को भर्त्सना गर्दै यो घटनाले मृत्यु र अन्त्यसंस्कारजस्तो पवित्र संस्कारको समेत उल्लङ्घन गरेको बताएका छन्। काराकमा ठूलो सङ्ख्यामा ईसाई समुदाय बसोबास गर्ने भएकाले घटनापछि स्थानीय बासिन्दा र पीडित परिवारमा चरम आक्रोश र शोकको वातावरण छाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?