News Summary
Generated by OK AI. Editorially reviewed.- गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोही हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार भेटिएको छ ।
- ङिस्याङ गाउँपालिका–६ स्थित गङ्गापूर्ण हिमालको दक्षिणी भागमा करिब ६ हजार ३०० मिटर उचाइमा दुवैको शव फेला परेको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले बताए ।
- उनीहरू असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए र शव काठमाडौं पठाएर परिवारलाई जिम्मा लगाइने भएको छ ।
७ कात्तिक, मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटिएको छ ।
ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार भेटिएको हो ।
प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाडौंस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शक सहित हिमाल आरोहणमा गएका उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए ।
‘करिब सात हजार ५० मिटरको उचाइबाट सम्पर्क विच्छेद भएपछि उनीहरूको खोजीका लागि हेलिकप्टर र उद्धार टोली परिचालन गरिएको थियो । खोजीका क्रममा उनीहरूले प्रयोग गरेका झोला तथा आरोहण सामग्री फेला परेका थिए’, प्रमुख जिल्ला अधिकारी खनालले भने, ‘लगातारको खोजीपछि शुक्रबार गङ्गापूर्ण हिमालको दक्षिणी भागमा करिब छ हजार ३०० मिटर उचाइमा दुवैको शव फेला परेको हो ।’
शव काठमाडौं पठाउने तयारी भइरहेको र परीक्षणपछि नेपालस्थित जापानी राजदूतावासको समन्वयमा परिवारलाई जिम्मा लगाइने उनले बताए ।
गङ्गापूर्ण हिमालको आरोहण अभियानमा गएका दुई जना जापानी पर्वतारोही गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन भएका हुन् । रासस
प्रतिक्रिया 4