News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीले शनिबारदेखि मङ्सिर २५ गतेसम्म दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सुरू गरेको छ ।
- सहसंयोजक माधवकुमार नेपालले अभियानको उद्देश्य संविधान, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै जनतासँग प्रत्यक्ष संवाद गर्ने बताउनुभयो ।
- अभियानमा केन्द्रीय नेताहरू गाउँ, वडा र टोलमा पुगेर किसान, मजदुर, युवा, विद्यार्थी र महिलासँग गुनासो संकलन गरी सरकारी निकायमा बुझाइनेछ ।
७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ ।
अभियानको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका सहसंयोजक माधव कुमार नेपालले यसको उद्देश्य जनतासँग जोडिने र संविधान, गणतन्त्रसहितका प्राप्त उपलब्धिको रक्षा गर्नु रहेको बताएका छन् ।
उनका अनुसार, शनिबारदेखि आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुनेगरी अभियानको उद्देश्य संविधान, गणतन्त्रको रक्षा गर्न जनतामा जागरण जगाउने रहेको छ ।
लोकतान्त्रिक गणतन्त्रको रक्षा, समावेशिताको नीतिलाई अवलम्बन गर्ने कुरालाई संस्थागत गरेको यो संविधानलाई रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा छ’ उनले भनेका छन्, ‘यो संविधानको रक्षा गर्ने सन्दर्भमा जनताको बीचमा एउटा सन्देश दिनुपर्ने आवश्यकता छ ।’
वर्तमान संविधानलाई जनताको हितको रक्षा गर्ने यो संविधानको रुपमा चर्चा गर्दै उनले भने, ‘हाम्रो रगत र पसिनाबाट निर्माण भएको छ । यसलाई समाप्त गर्न कसैले खोज्छ भने त्यो स्वीकर्य हुन सक्दैन ।’
उनले नेकपालाई देशमा परिवर्तनको लागि पहल गर्दै आएको अभियन्ताको रुपमा प्रस्तुत गरे । उनी भन्छन्, ‘हामीले जनताको संविधान निर्माण गरेर विश्वकै सन्दर्भमा एउटा किर्तिमान कायम गरेको हुनाले पनि यो जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त भएको उपलब्धीको रक्षा गर्ने, संविधानको रक्षा गर्ने सन्देश दिन चाहेका छौं ।’
गणतन्त्र विरोधी गतिविधि बढेकोले पनि चुप लागेर बस्न नसकेको उनको भनाइ छ ।
सह–संयोजक नेपालले भनेका छन्, ‘यो अभियानले देशको स्वाधिनताको रक्षा गर्नेछ । लोकतन्त्रको रक्षा गर्नेछ । गणतन्त्रलाई जोगाउनेछ । अझ सुदृढ गर्नेछ । तर अनेकौं खालका कुराहरू देखिरहँदा, सुनिरहँदा स्वभाविक रुपमा हामी तमासी भएर बस्न सक्दैनौं ।’
यस सन्दर्भमा अभियान लिएर जनतामा जान लागेको उनले बताए ।
उनका अनुसार अभियानकाका क्रममा जनतासँग प्रत्यक्ष संवाद हुनेछ । अभियान अन्तर्गत पार्टीका केन्द्रीय नेताहरू गाउँ, वडा र टोल–टोलमा पुगेर किसान, मजदुर, युवा, विद्यार्थी र महिला लगायतका नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूको आलोचना सुन्ने कार्यतालिका छ ।
अभियानले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा, जनअधिकारको संरक्षण, सामाजिक न्याय, र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने सन्दर्भमा जागर पैदा गर्नेछ ।
सहसंयोजक नेपालका अनुसार अभियानका क्रममा जनसरोकारका मुद्दाहरू पनि उठाइनेछ ।
देशमा व्याप्त महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, आर्थिक असुरक्षा, र सार्वजनिक सेवामा हुने ढिलासुस्ती जस्ता समस्याहरूका बारेमा नागरिकबाट सुझाव तथा गुनासो संकलन गरिनेछ ।
संकलित जनसमस्याहरूलाई प्रतिवेदनका रूपमा तयार पारी सम्बन्धित सरकारी निकायहरूमा बुझाइनेछ र समाधानका लागि पहल गरिनेछ ।
अभियान अवधिभर विगतका कमजोरीहरूको आत्मसमीक्षा गर्ने, पार्टी समायोजनका बाँकी काम टुंग्याउने, सदस्यता नवीकरण गर्ने र संगठनलाई जगैदेखि सुदृढ बनाउने योजना राखिएको छ ।
प्रतिक्रिया 4