News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिल्लीमा नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने युग सकिएको बताएपछि राप्रपा नेता कमल थापाले आपत्ति जनाएका छन्।
- थापाले विदेशी मञ्चमा राष्ट्रिय सरोकारका मुद्दा कमजोर बनाउने तर्क गैरजिम्मेवार भएको भन्दै सरकारको धारणा माग गरेका छन्।
- एमाले नेता गोकुल बास्कोटाले पनि वाग्लेको अभिव्यक्तिलाई बौद्धिक ज्ञानको टाट पल्टाई भन्दै आलोचना गरेका छन्।
८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा व्यक्त गरेको धारणाको विरोध गरेका छन् ।
‘नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो’ पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
अर्थमन्त्री डा. वाग्ले भारत भ्रमणमा छन् । भ्रमणका क्रममा भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै उनले नेपाली राष्ट्रवादलाई भारतको विरोधका रूपमा बुझ्ने युगको अन्त्य भएको बताएका थिए ।
नयाँ पुस्ताको आकांक्षा आर्थिक समृद्धि र सुशासन रहेको स्पष्ट पार्दै नेपालको परराष्ट्र नीति सकारात्मक दिशामा अघि बढेको बताएका हुन् ।
विगतमा दशकौंसम्म निश्चित वैचारिक प्रशिक्षणका कारण नेपाली राष्ट्रवादलाई भारत–विरोधसँग जोडेर हेर्ने भाष्य निर्माण भएको उनले बताएका छन् ।
‘तर, हाम्रो पुस्ता फरक छ । हामीले विश्व देखेका छौँ, हाम्रा आकांक्षाहरू आर्थिक छन् । हामी राम्रो रोजगारी, सुशासन र असल छिमेकी सम्बन्ध चाहन्छौँ,’ डा. वाग्लेले भनेका छन्, ‘त्यसैले म निकै खुसीका साथ भन्न सक्छु कि नेपाली राष्ट्रवादलाई ‘एन्टी–इन्डियनिज्म’ सँग जोड्ने त्यो युग अब सकियो ।’
अर्थमन्त्री वाग्लेको यस्तो अभिव्यक्तिप्रति राप्रपाका नेता थापाले विरोध जनाएका हुन् । ‘नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा टिकेको छैन’, नेता थापाले लेखेका छन्, ‘विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उहाँको तर्क पूर्णतया गैरजिम्मेवार छ ।’
सानो समुहको केही अपवादमुलक धारणालाई लिएर सिंगो मुलुकको राष्ट्रिय भावनालाई संकुचित देख्नु अर्थमन्त्री डा. वाग्लेको पूर्वाग्रही चस्माको उपज भएको थापाले बताएका छन् ।
नेपालको राष्ट्रियता आफ्नो देशको सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित रहेको उल्लेख गर्दै उनले भारतसँग नेपालले समानता र सम्मानजनक सम्बन्ध चाहने बताएका छन् । ‘तर, सीमा मिचिनु, डुबान हुनु वा नाकाबन्दीजस्ता ज्यादतीविरुद्ध बोल्नु भारतविरोध होइन, राष्ट्रप्रतिको अविभाज्य निष्ठा हो’ उनी अगाडि लेख्छन्, ‘के राष्ट्रहितमा उठ्ने यी आवाजहरू अब असान्दर्भिक भइसकेका हुन् ? वाग्लेको यो अभिव्यक्ति कतै विगतमा उहाँले अघि सारेको आत्मघाती ‘मनरो डक्ट्रिन’ कै उपज त होइन ?’

रास्वपाले २०८० साल फागुन २१ गते ऊर्जा क्षेत्रको विषयमा नीतिगत छलफल राखेको थियो । उक्त कार्यक्रममा डा. वाग्लेले नेपालको जलविद्युतको प्रयोग, विदेश निर्यात लगायतको विषयमा भूराजनीतिलाई समेत जोडेर ब्याख्या गरेका थिए । ‘सबैभन्दा ठूलो र अहिले अलि पेचिलो जियोपोलिटिकल (भूराजनीतिक) पनि भइराख्या छ । अब इन्डियाले यो होल गेममा हामी अवेर (सचेत) हुनुपर्छ’, उनले भनेका थिए, ‘चाइनिज पुँजी, चाइनिज कन्ट्याक्टरहरू र चाइनिज तकनिकी (प्रविधि) उपयोग भएकोमा हामी लिँदैनौँ भनेर अब उसले भन्न पायो । आफ्नो स्वभरिनिटी च्वाइस पनि हो ।’
नेपालले भारतसँग १० वर्षमा १० हजार मेगावाट विजुली बिक्री गर्ने गरी दीर्घकालीन विद्युत व्यापार सम्झौता गरेको छ । तर चिनियाँ लगानी वा निर्माण प्रक्रियामा चिनियाँ ठेकदार कम्पनी संलग्न भएको जलविद्युत आयोजनाको विद्युत खरिद गर्न भारतले मानेको छैन ।
यसले नेपालका सबै खोलानाल तथा जलविद्युत आयोजनामा भारतको एकाधिकार स्थापित हुने कतिपयको चिन्ता छ । तर, डा. वाग्लेले भारतको अडानलाई सहयोग हुने गरी धारणा राखे । भारतको अडानको व्याख्या गर्दै डा. वाग्लेले भने, ‘हाम्रो लेऊ भनेको पनि हुन सक्छ वा अब किन जानीजानी आफ्नो जियोपोलिटिकल राइबल (प्रतिस्पर्धी) लाई उठाउन दिने भन्ने पनि छ ।’
चीनसँग १४० अर्ब डलरको व्यापार गर्ने भारतले एक दुई करोडका आयोजनामा किन यसो गरेको होला भन्ने प्रश्न गर्दै उनले एउटा सन्देश दिन खोजेको हुन सक्ने बताए । उनले अगाडि भनेका थिए, ‘यसलाई साउथ एशियन मनरो डक्ट्रिन पनि भन्न सकिन्छ ।’
१८२३ मा अमेरिकाका पाँचौँ राष्ट्रपति जेम्स मनरोले अमेरिकी कंग्रेसमा भाषण गर्ने क्रममा एउटा नीति वक्तव्य दिएका थिए । जसमा उनले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रलाई अमेरिकाको प्रभावक्षेत्र (स्फेयर अफ इन्फ्लुयन्स) का रुपमा व्याख्या गरेका थिए । ‘त्यसलाई मनरो डक्ट्रिन पनि भनिन्छ’ डा. वाग्ले स्वयंले भनेका थिए ।
अहिले भारतले ‘दक्षिण एसियाली मनरो डक्ट्रिन’ अघि सार्दै यो क्षेत्र आफ्नो भएको र अरुलाई नआउन भनेको वाग्लेको विश्लेषण छ । उनी त्यतिमै रोकिएका थिएनन् ‘अब इन्डिया इज अ राइजिङ पावर । उसले भन्यो कि – यो स्फेयर अफ इन्फ्लुयन्समा तिमी बाहिरी शक्तिहरू दखल नगर । राइजिङ पावरहरुको यो कुरा हामीले पनि बुझिदिनुपर्छ ।’
भूराजनीतिक विषयमा प्राक्टिकल र व्यवहारिक हुनुपर्ने भन्दै डा. वाग्लेले कच्चा राष्ट्रवाद जाग्न नहुने समेत बताएका थिए । उनले भनेका थिए, ‘यो जिङगोइजम (अति राष्ट्रवाद) लाई अलिकति मेलो गरेर प्राक्टिकल साधन के हो ? साध्य के हो ? भनेर छुट्याएर गयौं भने धेरै कुराहरु क्लियर हुन्छ ।’
त्यसबेला डा. वाग्ले यस्तो अभिव्यक्तिका कारण विवादमा परेका थिए ।
अहिले फेरि भारत भ्रमणका क्रममा डा. वाग्ले नेपाली राष्ट्रवादलाई भारतको विरोधका रूपमा बुझ्ने युगको अन्त्य भएको बताए सँगै विवादमा तानिएका छन् ।
राप्रपा नेता थापाले डा. स्वर्णिम वाग्लेले दिल्लीमा दिएको अभिव्यक्तिउपर सरकारको धारणा नै माग गरेका छन् । ‘जिम्मेवार ओहोदामा बसेका व्यक्तिले यसको जवाफ दिनैपर्छ । के सरकारको धारणा यही हो’ प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)लाई मेन्सन गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
डा. वाग्लेको अभिव्यक्तिलाई लिएर अन्य दलका नेता/कार्यकर्ताले समेत प्रश्न उठाएका छन् ।
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अर्थमन्त्री डा. वाग्लेले भारत भ्रमणका क्रममा व्यक्त गरेको धारणालाई बौद्धिक ज्ञानको टाट पल्टाईको संज्ञा दिन्छन् ।
‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन तब नेपाल राष्ट्र विरुद्ध छाद्छन’ बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो, त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रबाद र राष्ट्रिय हित सम्बन्धि राजनीतिक, कूटनीतिक, ऐतिहासिक रुपपा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाई हो ।’
प्रतिक्रिया 4