News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मौसम विज्ञान विभागले प्रविधि, जनशक्ति र स्रोतसाधनको अभावका कारण मौसम पूर्वानुमान र विपद् पूर्वसूचना सेवा प्रभावकारी बनाउन नसकेको श्वेतपत्र सार्वजनिक गरेको छ।
- विभागले उच्च पहाडी र हिमाली क्षेत्रमा मौसम केन्द्र विस्तार, राडार सञ्चालन, मर्मतसम्भार र नाउकास्टिङका लागि आधुनिक पूर्वाधार र वित्तीय स्रोतको कमी रहेको जनाएको छ।
- बूढीगण्डकी र भोटेकोशी–त्रिशूली बाढीका बेला समयमै पूर्वसूचना दिन नसकेको आलोचनापछि विभागले २२ बुँदे समस्या र चुनौती समेटेको छ।
८ कात्तिक, काठमाडौं । प्राकृतिक विपद्का घटना बढिरहेका बेला नेपाल मौसम विज्ञान विभागले भने प्रविधि, जनशक्ति र स्रोतसाधनको अभाव झेलिरहेको छ ।
आफैं अनेकौं नीतिगत र प्राविधिक समस्याबाट गुज्रिरहेको विभागले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई स्थानगत सही सूचना समयमै प्रवाह गर्न पनि सकिरहेको छैन ।
आफ्नो कार्यक्षेत्र, सेवाप्रवाहको दायरा र उपलब्ध स्रोतसाधनको अवस्थालाई समेटेर विभागले सार्वजनिक गरेको श्वेतपत्रमा प्रविधि, जनशक्ति र स्रोतसाधन अभावका कारण सेवा प्रवाहमा गम्भीर चुनौति झेल्नुपरेको उल्लेख छ ।
भौगोलिक कठिनाइ, आधुनिक प्रविधिको अपर्याप्ततादेखि कुशल जनशक्ति र पर्याप्त वित्तीय स्रोतको अभावले गर्दा मौसम पूर्वानुमान र विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन ठूला अवरोधहरू सिर्जना भएको विभागले जारी गरेको श्वेतपत्रमा उल्लेख छ ।
देशका उच्च पहाडी, हिमाली तथा दुर्गम क्षेत्रहरूमा मौसम केन्द्रहरूको पर्याप्त विस्तार, आधुनिकीकरण, सुदृढीकरण, नियमित अनुगमन र मर्मतसम्भार गर्न भौगोलिक जटिलता प्रमुख चुनौति छ । त्यसमा पनि पर्याप्त स्रोतसाधन र प्राविधिक जनशक्ति दुवैको अभाव छ ।
मौसम अवलोकन, पूर्वानुमान, उच्च क्षमताको कम्प्युटर प्रणाली (एचपीसी), गणितीय मौसम पूर्वानुमान प्रणाली लगायतका आधुनिक पूर्वाधारको पर्याप्त विकास पनि हुन सकेको छैन । साथै, उच्च हिमाली क्षेत्रको अनुगमन र तत्कालिन मौसम पूर्वानुमान (नाउकास्टिङ) का लागि आवश्यक प्रविधिको पनि कमी रहेको विभागले जनाएको छ ।
नेपालमा स्थापित तीनवटा मौसम राडारको नियमित सञ्चालन तथा मर्मतसम्भार पनि विभागका लागि टाउको दुखाइको विषय बनेको छ । मौसम राडार अतिसंवेदनशील उपकरण भएकाले यसका लागि विदेशबाट महँगा स्पेयर पार्टस आयात गर्नुपर्ने बाध्यता छ । भरपर्दो विद्युत् आपूर्तिको अभावमा जेनेरेटर चलाउँदा अत्यधिक डिजेल खर्च हुने गरेको छ । चट्याङका कारण हुने क्षतिले उच्च मर्मत खर्च व्यहोर्नुपर्ने अवस्था विभागलाई छ ।
हाल विभागसँग सुर्खेत, पाल्पा र उदयपुरमा अत्याधुनिक मौसम राडार छन् । मौसमी अवस्थाको रियलटाइम तथ्यांक संकलनका लागि विभागले अमेरिकी कम्पनी इन्टरप्राइज इलेक्ट्रोनिक कर्पोरेसन (ईईसी)बाट २०–२० करोड रुपैयाँ खर्च गरेर अत्याधुनिक राडार किनेको थियो । पूरै नेपालको भूगोल समेटिने गरी कर्णाली प्रदेशको रातानाङ्ला (सुर्खेत), लुम्बिनी प्रदेशको रिब्दीकोट (पाल्पा) र कोशी प्रदेशको चित्रेडाँडा (उदयपुर)मा ती राडार स्थापना गरिएको छ ।
तर सुर्खेतको राडार चट्याङ लागेर बिग्रिएको वर्षौं भइसकेको छ । त्यसको उपकरण फेरेर यसै वर्षदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको विभागका कर्मचारीहरु बताउँछन् ।
अत्याधुनिक ती मौसमी राडारहरुको नियमित सञ्चालन, मर्मतसम्भार तथा दिगोपनाको चुनौति रहेको विभागले जारी गरेको श्वेतपत्रमा उल्लेख छ । ती राडार कुनै कारणबस बिग्रिएमा पाटपुर्जासमेत अमेरिकाबाटै झिकाउनुपर्ने र त्यसको जडान वा मर्मतका लागि जनशक्ति पनि अमेरिकाबाटै बोलाउनुपर्ने बाध्यता छ ।
त्यसैले विभागले श्वेतपत्रमा भनेको छ, ‘राडारको नियमित सञ्चालन, महँगा पार्टपुर्जाको आपूर्ति तथा विशेषज्ञ प्राविधिक सेवा सीमित सालबसाली बजेटबाट व्यवस्थापन गर्न कठिन भएकाले अन्तर्राष्ट्रियस्तरको बहुवर्षीय मर्मतसम्भार सम्झौता, सुनिश्चित वित्तीय स्रोत तथा स्वदेशी प्राविधिक क्षमता विकासको आवश्यकता रहनु ।’
मौसम पूर्वानुमान, जलवायु विश्लेषण र गर्ने आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति पनि पर्याप्त नभएको विभागले जनाएको छ ।
साथै, यन्त्रहरूको क्यालिब्रेसन र नियमित मर्मतका लागि पर्याप्त प्रयोगशालाको कमी पनि विभागले झेल्दै आएको छ ।
विभागका अनुसार अतिवृष्टि, बाढी, पहिरो जस्ता चरम मौसमी घटनाहरूको जोखिममा रहेका समुदायसम्म समयमै प्रभावमा आधारित पूर्वसूचना पुर्याउन आवश्यक संयन्त्रको पर्याप्त विकास हुन सकेको छैन ।
हालै भोटेकोशी–त्रिशूली र बूढीगण्डकी नदीमा आएका विनासकारी बाढीका बेला विभागले समयमै पूर्वसूचना पुर्याउन नसकेको भनेर कतिपयले आलोचना पनि गरेका थिए ।
गत असोज २५ गते बिहान करिब ५ बजेतिर नै स्थानीय सेराप गुरुङले फेसबुक लाइभ गरेर बूढीगण्डकीमा बाढी आएको जानकारी दिएका थिए । सोही पहिलो सूचनाको आधारमा कतिपयले ज्यान जोगाएका थिए । तर मौसम विज्ञान विभागबाट बिहान ६ बजेपछि मात्रै सतर्कताको सूचना जारी भएको थियो ।
वैज्ञानिक अध्ययन तथा अनुसन्धान कम
साथै, मौसम पूर्वानुमानमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) प्रविधिको पर्याप्त अनुसन्धान र व्यावहारिक प्रयोग हुन सकेको छैन ।
पर्वतीय हवाई मार्ग र हिमाली विमानस्थलहरूमा उडान मार्ग मौसम पूर्वानुमानका लागि आवश्यक आधुनिक उपकरण र दक्ष जनशक्ति पनि सीमित छन् । यसका साथै, नेपालको भौगोलिक विशिष्टता अनुसार जलवायु परिवर्तनको प्रभाव र पर्वतीय मौसम प्रणालीसम्बन्धी विस्तृत वैज्ञानिक अध्ययन तथा अनुसन्धानको पर्याप्तता छैन ।
विभागले झेल्दै आएका समस्या र चुनौतिहरुलाई २२ बुँदामा समेटेको छ । ती समस्या तथा चुनौतीहरूको समाधानका लागि मार्गचित्र तयार गर्दै आधुनिक, वैज्ञानिक र प्रविधिमैत्री राष्ट्रिय मौसम तथा जलवायु सेवा प्रदायक संस्थाका रूपमा विकास गर्न नीतिगत प्राथमिकताहरू अघि सार्नुपर्ने विभागले जनाएको छ ।
प्रतिक्रिया 4