News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखा चुमनुब्री गाउँपालिका–६ लोक्पामा स्थानीयले माथिल्लो भेगबाट सूचना पाएर बाढी आएको थाहा पाई तल्लो क्षेत्रका बासिन्दा सुरक्षित स्थानमा पुगे।
- सरकारी निकायले बाढीबारे मोबाइलमा सूचना ६ बजेर ५३ मिनेटमा पठाएको र प्रहरीले फेसबुकमा साढे ५ बजे सूचना राखेको स्थानीयले बताए।
- बाढी पूर्वानुमान महाशाखाका अनुसार हिमाली क्षेत्रमा पानीको सतह मापन गर्ने उपकरण छैन र देशभर करिब २०० स्वचालित बाढी मापन केन्द्र मात्र छन्।
२६ असोज, काठमाडौं । गोरखा चुमनुब्री गाउँपालिका–६ लोक्पाका सेराप गुरुङले आइतबार बिहान ४ बजेको आसपासमा भूकम्प जस्तो कम्पन महसुस गरे । तर त्यो भूकम्प थिएन, लेदोसहितको बाढी थियो ।
‘रसुवाको जस्तै बाढी रहेछ । त्यसपछि ४ बजेर ३६ मिनेट जाँदा जगत बगर र माछिखोलामा रहेका व्यक्तिहरूलाई फोन गरेर बाढी आएको जानकारी दिएँ,’ उनले भने ।
गुरुङले दिएको सूचनाका आधारमा तलतलका मानिस बाढीबाट जोगिए । ‘तलतल एकले अर्कोलाई बाढी आएको खबर गरियो,’ उनले भने । सुना गुरुङ जगत बगरमा थिए । उनलाई पनि माथिल्लो भेगबाट नै फोन आएको थियो ।
‘बिहानको पौने ४ बजेतिर रसुवाको भन्दा ठूलो बाढी आएको छ, भाग्नु भनेर फोन आएको थियो,’ उनले भने, ‘फोन आएपछि जगत बगरमा सबैलाई उठाएर भागेका हौँ । एउटा घरमा कम्तीमा ५–७ जना हुन्छन् । घर-टहरा गरेर १३–१४ वटा थिए होला । बुढाबुढीलाई तान्दै माथितिर लगियो ।’
माथिल्लो भेगबाट स्थानीयले दिएको सूचनाका कारण जगत बगरका स्थानीय जोगिए । ‘गाडी साइड लगाउन भ्याइएन । घर र गाडी बगे । मान्छे जोगिए,’ उनले भने, ‘थाहा पाउने बित्तिकै फेसबुकमा तलका मान्छे सुरक्षित रहनु भनेर लेखेँ ।’
सुनाले ४ बजेर ५९ मिनेटमा फेसबुकमा तलका बासिन्दालाई सुरक्षित रहन आग्रह गर्दै लेखेका थिए । उनले भिडियो पनि सामाजिक सञ्जालमा हाले । यसरी स्थानीयले माथिल्लो भेगबाट खबर गर्दा तल्लो भेगकाले छिट्टै थाहा पाएका थिए ।
सरकारी सूचना ढिला, हिमालमा प्रविधि नै छैन
सरकारी तबरबाट बाढीको सूचना आउन भने ढिला भएको स्थानीयले बताए । सेराप गुरुङका अनुसार सरकारी संयन्त्रबाट बाढीबाट सुरक्षित रहन भनेर ६ बजेर ५३ मिनेटमा सूचना आएको थियो । ‘मोबाइलमा ढिला सूचना आएको थियो । हामीले त्यसअघि नै थाहा पाइसकेका थियौं,’ उनले भने ।
स्थानीयको मोबाइलमा म्यासेज जानुअघि प्रहरीले साढे ५ बजे फेसबुकमा सूचना राखेको छ । ‘बूढीगण्डकी नदीको बहाब अत्यधिक बढ्न गएको हुँदा तटीय क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण नागरिकहरू सुरक्षीत स्थानमा गई बस्न हुन अनुरोध,’ सूचनामा भनिएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार माथिल्लो भेगमा पानीको सतह मापन गर्ने प्रविधि छैन । पानीको सतह मापन गर्ने स्वचालित सेन्सर आरुघाट पुलमा थियो । त्योभन्दा माथिल्लो भेगमा थिएन ।

‘हिमालमा उपकरण छैनन् । हिमालबाट आएको बाढी तल झरेर सेन्सरसम्म नआइपुग्दासम्म जानकारी प्राप्त हुँदैन । त्यसैले ग्याप छ,’ बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीले भने, ‘हिमाली क्षेत्रमा घटना भइहाल्यो भने स्थानीय पालिका र व्यक्तिबाट सूचना लिने गर्छौँ ।’
बूढीगण्डकीको घटनामा पनि पहिलो सूचना माथिल्लो क्षेत्रको समुदायबाट लिएको उनले बताए । ‘बाढी स्वचालित उपकरणसम्म आइपुग्नुअघि नै सूचना लिनुपर्यो । हामीले त्यसैका आधारमा सूचना प्रवाह गर्यौँ। पछि बाढी तलको उपकरणसम्म आइपुगेपछि थप सूचनाहरू पनि प्रवाह गर्दै गयौँ,’ उनले भने ।
पानीको सहत कति रहेको भनेर आरुघाट आएपछि मात्र मापन गरिएको थियो । ‘आरुघाटमा नदीको सतह ८ मिटर बढेको बताएका थियौँ । त्यो सेन्सरले देखाएको तथ्यांक हो,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले भने ।
आरुघाटमा मापन भएसँगै बाढीले पुलसहित स्वचालित सेन्सर बगाएको थियो । ‘आरुघाटमा उपकरण थियो । त्यसले मापन गर्यो। तर पुल बगाउँदा पुलसँगै उपकरण पनि बग्यो । हाम्रो उपकरण पुलमै राखिएको थियो । त्यसले सूचना त दियो, तर आफैँ पनि बग्यो,’ बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ हाइड्रोलोजिस्ट पराजुलीले भने ।
रसुवा बाढीको हकमा भने उपकरणले सूचना दिनसमेत सकेन । ‘बाढी यति विशाल थियो कि त्यसले केही बाँकी राखेन,’ उनले भने ।
सीमापार विपद् (ट्रान्सबाउन्ड्री डिजास्टर) को विषय बनेको बताउँछन् प्राधिकरणका उपसचिव केसी । ‘चिनियाँ पक्षसँग कूटनीतिक पहल भइरहेको छ । सूचना प्राप्त गर्ने एउटा माध्यम भनेको सम्बन्धित निकायले सीमा जोडिएको सम्बन्धित जिल्लालाई जानकारी गराउनले हो,’ उनले भने, ‘नेपाल भित्रको सन्दर्भमा पूर्वसूचना प्रणाली विभिन्न ठाउँमा जडान गरिएको छ ।’

वर्षा मापन गर्ने प्रणाली र नदीको सतह कति बढेको छ भनेर जानकारी लिन नदीमा सेन्सर जडान गरिएको छ । ‘हाम्रो स्वचालित सेन्सर छ । सेन्सरले त्यहाँको पानीको सतह मापन गर्छ । त्यो मापन गरिएको तथ्यांक राख्न त्यहाँ डाटा हुन्छ,’ महाशाखाका वरिष्ठ हाइड्रोलोजिस्ट पराजुलीले भने, ‘केही सेकेन्डभित्रै डाटा लिएर सर्भरमा पठाइरहेको हुन्छ । यो पूर्ण रूपमा स्वचालित प्रक्रिया हो ।’
उनका अनुसार कम्युनिकेसनका लागि एनटीसी वा एनसेलको सिमकार्ड राखिएको हुन्छ । ‘पहिले तथ्यांक हाम्रो सर्भरमा आउँछ । सर्भरमा गुणस्तर जाँच भएपछि केही सेकेन्डभित्रै वेबसाइटमा जान्छ । यो सबै काम स्वचालित रूपमा हुन्छ,’ उनले भने ।
देशभर २०० स्वचालित बाढी मापन केन्द्र
बाढी पूर्वानुमान महाशाखाका अनुसार देशभरि करिब २०० स्वचालित बाढी मापन केन्द्र राखिएको छ । ‘पहिलो चरणमा बढी जोखिम भएका ठाउँलाई प्राथमिकतामा राख्यौँ । अहिले देशभरि करिब २०० वटा स्वचालित बाढी मापन केन्द्र छन् । यो संख्या अपुग छ, बढाउनुपर्ने छ,’ पराजुलीले भने, ‘पछिल्लो १० वर्षमा केन्द्रहरूलाई स्तरोन्नति गर्दै स्वचालित बनाउने काम गरेका छौँ ।’
धेरै ठाउँमा एकैपटक उपकरण राख्न सम्भव नभएको उनले बताए । ‘हामीलाई जोखिम बढी भएका क्षेत्रबारे थाहा नभएको होइन । तर सबै ठाउँमा एकैपटक उपकरण राख्न सम्भव हुँदैन,’ उनले भने, ‘पछिल्लो १०–१२ वर्षमा २०० भन्दा बढी स्वचालित बाढी मापन केन्द्र स्थापना गर्नु आफैँमा ठूलो उपलब्धि हो।’
पछिल्ला घटनाले मापन केन्द्र रूपमा बढाउनुपर्ने देखिएको छ । ‘सबै ठाउँमा एकैपटक उपकरण राख्न लगानी र जनशक्ति लगायतका विषय आउँछन् । त्यसैले विस्तारै विस्तार गर्दै आएका थियौँ । अहिलेका घटनाले यो कामलाई छिटो र व्यापक रूपमा अघि बढाउनुपर्ने देखाएको छ,’ उनले भने ।

जहाँ जडान गरिएको छ, ती केन्द्रमा भने २४ घण्टा नै निगरानी गर्ने गरिएको उनले बताए । ‘हामी २४ घण्टा नै निगरानी गर्छौँ र सेवा पनि उपलब्ध छ । मुख्य काम मापन केन्द्रहरूको विस्तार हो । एउटा स्वचालित बाढी मापन केन्द्र बनाउन १०–१२ लाख रुपैयाँ खर्च हुन्छ,’ पराजुलीले भने, ‘अहिलेको अवस्थाले यी केन्द्र अपुग छन् भन्ने देखाएको छ । हिमाली क्षेत्रसम्म पनि यस्ता उपकरण विस्तार गर्नुपर्ने देखिएको छ ।’
राखेका केन्द्रहरू पनि बाढीले बगाउन थालेपछि अर्को समस्या आएको छ । ‘पहिले राखिएको उचाइभन्दा पनि ठूलो बाढी आउन थालेपछि वैकल्पिक उपायबारे सोच्नुपर्ने भएको छ,’ पराजुलीले भने, ‘सीसी क्यामेरा पनि राख्दै गएका छौँ । सीसी क्यामेराले त्यहाँको वस्तुस्थितिबारे जानकारी दिन्छ ।’
विदेशमा पनि स्वचालित उपकरणहरू राख्ने, तिनको माध्यमबाट समयमै बाढी पत्ता लगाउने र सीसी क्यामेराबाट निगरानी गर्ने अभ्यास रहेको उनले बताए । ‘हामीले प्रयोग गरिरहेका सेन्सरहरू विश्वभरि प्रयोग हुन्छन् । बाढी मापन गर्ने विभिन्न प्रकारका सेन्सर छन् । अहिले हामीले प्रयोग गरिरहेकोलाई राडार लेभल सेन्सर (आरएलएस) भनिन्छ ।
राडार लेभल सेन्सरले रेडियो वेभका आधारमा काम गर्छ । यसले छिटो तथ्यांक दिन्छ । यसलाई जसरी सेट गरिएको हुन्छ, त्यहीअनुसार दुई–दुई सेकेन्डमा पनि तथ्यांक मापन गरेर पठाउन सक्छ,’ उनले भने ।
तर, अहिले नेपालमा १०–१० मिनेटमा तथ्यांक पठाउने गरी राखिएको छ । ‘कहिलेकाहीँ आकस्मिक बाढी आउँदा १० मिनेटको अन्तराल लामो भयो भन्ने पनि छ । हामीले त्यसलाई सुधारिसकेका छौँ,’ पराजुलीले भने ।
प्रतिक्रिया 4