News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगर–६ का ६५ वर्षीय व्यवसायी लालजीप्रसाद गुप्ता केशलिया खोलाको पुल नजिकै मृत फेला परेका छन्।
- भारतीय नागरिक गुप्ता ३० वर्षदेखि विराटनगरमा ‘लाल ब्याट्री पसल’ सञ्चालन गर्दै आएका थिए।
- प्रहरीले शव बोरामा बेरिएको र घटना शंकास्पद भएकाले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।
८ असाेज, विराटनगर । विराटनगरमा व्यवसाय गर्दै आएका एक पुरुष केशलिया खोलामा मृत फेला परेका छन्।
मोरङको विराटनगर महानगरपालिका–६ र सुनसरीको बर्जु गाउँपालिका जोड्ने केशलिया खोलाको पुल नजिकै ६५ वर्षीय लालजीप्रसाद गुप्ता मृत फेला परेका हुन् ।
गुप्ता पछिल्लो ३० वर्षदेखि विराटनगर महानगरपालिका–६ महावीर रोडमा ‘लाल ब्याट्री पसल’ सञ्चालन गर्दै आएका थिए । उनी भारतीय नागरिक रहेकाे बताइएकाे छ ।
सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरतर्फको खोला किनारमा आइतबार बिहान स्थानीयले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चन्द्र खड्काका अनुसार मृत फेला परेका गुप्ता विराटनगर– ६ मा ब्याट्री मर्मतसम्बन्धी पसल सञ्चालन गर्दै आएका थिए ।
घटनाको प्रकृति हेर्दा हत्या गरेर शव फालिएको जस्तो देखिएको उनले बताए ।
‘बोराले बेरिएको अवस्थामा शव फेला परेकाले घटना शंकास्पद छ,’ डीएसपी खड्काले भने, ‘ विभिन्न कोणबाट विस्तृत अनुसन्धान गरिरहेका छौँ।’
घटनास्थलमा तालिमप्राप्त कुकुरसहित प्राविधिक टोली परिचालन गरेर प्रमाण संकलन गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4