+
+
Shares

अपडेट : गुल्मी स्कार्पियो दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुग्यो

दुर्घटनामा परी घटनास्थलमै पाँच र उपचारका क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनिल खत्री अनिल खत्री
२०८३ कात्तिक ९ गते १८:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कार्पियो करिब २५० मिटर तल खस्दा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
  • स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो सोमबार दिउँसो करिब ४ बजे दुर्घटना भएको हो।
  • मृतकमा चालक दिलीपकुमार बगाले, शिव पराजुली, लोकनाथ पाण्डे, सीता पाण्डे र कुलानन्द पाण्डे रहेका छन्।
  • दुर्घटनामा घाइते निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

९ कात्तिक, गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कार्पियो सोमबार दिउँसो करिब ४ बजे कालीगण्डकी करिडोर सडक खण्डबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घटनास्थलमै पाँच जनाको र उपचारका क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्कार्पियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ–१० का शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सोही ठाउँकी सीता पाण्डे र कुलानन्द पाण्डे रहेका छन् ।

घटनास्थलमै मृत्यु हुनेमध्ये एक जनाको विवरण पुष्टि हुन बाँकी छ ।

त्यस्तै, दुर्घटनामा घाइते भएकी निता बगालेको उपचारका क्रममा कालीगण्डकी सामुदायिक अस्पताल मिर्मी, स्याङ्जामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये छविलाल पाण्डेको अवस्था गम्भीर रहेको छ ।

गोमता पाण्डे र बालकृष्ण सुवेदीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी पुर्तिघाट, इलाका प्रहरी कार्यालय रिडी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली उद्धारका लागि खटिएको थियो ।

प्रहरी निरीक्षक सुदीप नेपालीका अनुसार, दुर्घटनाबारे थप विवरण संकलन भइरहेको छ । घटनामा परी घाइते भएका तथा मृतकको विवरण थप पुष्टि गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?