१० कात्तिक, सिड्नी । नेपालका बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले अस्ट्रेलियाको सन्साइन कोस्ट निवासी फिल्म निर्माता एन्ड्र्यु हाइडले आफ्नो चलचित्र ‘चेजिङ केओस’ प्रदर्शनबाट संकलित रकम नेपाल पठाएका छन्।
हालै ब्रिस्बेनमा आयोजित प्रदर्शनबाट संकलित रकममध्ये उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ हजार अस्ट्रेलियन डलर जम्मा गरिसकेको जानकारी दिएका छन्।
अनलाइनखबरसँग कुरा गर्दै निर्देशक हाइडले अस्ट्रेलियाका विभिन्न सहरमा भएका चलचित्र प्रदर्शन सफल रहेको बताए। आगामी दिनमा अस्ट्रेलियाका अन्य सहरसँगै विदेशमा समेत चलचित्र प्रदर्शन गरेर सहयोग जुटाउने अभियानलाई निरन्तरता दिने उनले जानकारी दिए।
‘चेजिङ केओस’ नेपालमा छायांकन नभए पनि यसको कथावस्तु नेपालको हालको परिस्थितिसँग मेल खाने निर्देशक हाइडले बताए। विपद्मा राहतको प्रतीक्षामा बस्नुभन्दा जनस्तरबाटै बेलैमा मानवीय सहयोगका लागि हातेमालो गर्न सके क्षति न्यूनीकरण गर्न सकिन्छ भन्ने चलचित्रको मुख्य सार रहेको उनको भनाइ छ।
चलचित्रमार्फत नेपालका बाढीपीडितलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै हाइडले यो मानवीय अभियान जारी राख्ने प्रतिबद्धता जनाएका छन्। तर, चलचित्र प्रदर्शनमा नेपाली मूलका दर्शकहरूको न्यून उपस्थितिप्रति भने उनले दुःख व्यक्त गरेका छन्।
नेपाली समुदायकै लागि सहयोग जुटाउने उद्देश्य जोडिएको यस अभियानमा आगामी दिनमा नेपालीहरूको उल्लेख्य सहभागिता रहने उनको अपेक्षा छ।
यसैबीच, ‘एनसीएक्स इन्टरनेसनल’ले हाइडको आगामी चलचित्र प्रदर्शनलाई संयोजन गरिरहेको छ। आगामी नोभेम्बर १० (मंगलबार) साँझ ६:४५ बजे क्यानबेराको ‘डेन्डी सिनेमा’मा चलचित्र प्रदर्शन हुने तय भएको छ। दर्शकले डेन्डी सिनेमाको आधिकारिक वेबसाइटबाट टिकट खरिद गर्न सक्नेछन्।
‘एनसीएक्स इन्टरनेसनल’ले अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई चलचित्र हेरेर यस मानवीय अभियानमा साथ दिन आग्रह गरेको छ।
प्रतिक्रिया 4