१२ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले प्रदेशका १० वटै जिल्लाका प्रहरी कार्यालय प्रमुखसहित प्रदेश प्रहरी कार्यालय मातहतका सबै निकायलाई भर्चुअल माध्यमबाट आवश्यक निर्देशन दिएका छन्।
बैठकमा शान्ति सुरक्षा, प्रहरीका समसामयिक कामकारबाही तथा तिहार र छठ पर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीका विषयमा छलफल भएको छ।
चाडपर्वका बेला हुन सक्ने शान्ति सुरक्षा उल्लङ्घनका घटना रोकथाम तथा नियन्त्रण, सुरक्षा व्यवस्थापन र उपलब्ध स्रोतसाधनको समुचित प्रयोगलगायतका विषयमा छलफल गर्दै आवश्यक निर्देशन दिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौरले जानकारी दिए।
बैठकमा जिल्लाहरूमा हालसम्म भएका कामकारबाहीको विवरण लिइएको थियो। साथै, आगामी दिनमा गर्नुपर्ने काम, सुरक्षा व्यवस्थापन र प्रहरी परिचालनका विषयमा समेत छलफल भएको राठौरले बताए।
चाडपर्वका समयमा नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन तथा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर प्रहरीका कामकारबाही प्रभावकारी बनाउन निर्देशन दिइएको उनले जानकारी दिए।
प्रतिक्रिया 4