+
+
Shares

लिमी उपत्यकामा हिमपात, नाका अवरुद्ध हुँदा खाद्यान्न संकट

हिमपातले प्राकृतिक नाकाबन्दीमा परेको हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको लिमीका तीन बस्तीमा खाद्यान्न अभाव हुन थालेको छ ।

हेमन्त केसी हेमन्त केसी
२०८३ कात्तिक १२ गते १६:५६

१२ कात्तिक, सुर्खेत । हिमपातले प्राकृतिक नाकाबन्दीमा परेको हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको लिमीका तीन बस्तीमा खाद्यान्न अभाव हुन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न एक वर्षदेखि नपुगेपछि तिल, हल्जी र जाङ गाउँका स्थानीय खाद्यान्न संकटमा परेका हुन् ।

लिमीको हल्जी गाउँमा खाद्यान्न बिक्री केन्द्र भए पनि त्यहाँ हालसम्म खाद्यान्न पुग्न सकेको छैन । बिक्री केन्द्रमा खाद्यान्न नहुँदा स्थानीयले सरकारी अनुदानको खाद्यान्न खरिद गर्न पाएका छैनन् ।

लिमीमा एक वर्षदेखि ढुवानी अनुदानको खाद्यान्न पुग्न नसकेको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । लामो समयसम्म खाद्यान्न नपुगेपछि स्थानीयमा खाद्यान्न समस्या देखिन थालेको उनको भनाइ छ । गत साउनमा लिमीको बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यान्न ल्याउने प्रयास गरिए पनि सम्भव नभएको उनले बताए ।

लिमीका लागि छुट्याइएको खाद्यान्न नाम्खा गाउँपालिका केन्द्र याल्वाङसम्म पुगेको छ । तर,  असोज १० र ११ गते भएको हिमपातले लिमी प्रवेश गर्ने न्यालु लेकको सडकमा हिउँ जमाएपछि ढुवानी रोकिएको हो । सडकमा जमेको हिउँ नपन्छाएसम्म खाद्यान्न लिमी पुर्‍याउन सम्भव छैन ।

लिमीमा खाद्यान्न पठाउने तयारी भइरहेका बेला हिमपात भएपछि समस्या भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखाले जनाएको छ । गत वर्ष असोजमा तीन सय क्विन्टल खाद्यान्न पुगेयता लिमीका स्थानीयले सरकारी अनुदानको खाद्यान्न पाउन सकेका छैनन् ।

सडक अवरुद्ध हुँदा दैनिक जनजीवन प्रभावित

हिमपातले खाद्यान्न ढुवानी मात्र रोकिएको छैन, लिमीका बासिन्दाको आवतजावत र अत्यावश्यक सेवामा पहुँचसमेत प्रभावित भएको छ ।

न्यालु लेकमा साढे तीन फिटसम्म हिउँ जमेको, दाउराको अभाव भएको र धारामा पानी जम्दा खानेपानीको समस्यासमेत देखिएको जनाएको छ । सडक अवरुद्ध भएपछि बिरामीलाई उपचारका लागि बाहिर लैजानुपर्दा हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था रहेको वडाध्यक्ष तामाङले बताए ।

हिमपातले पाकेको बालीसमेत नष्ट

खाद्यान्न अभाव भइरहेका बेला हिमपातले स्थानीयको उत्पादनमा समेत क्षति पुर्‍याएको छ । असोज १० र ११ गते परेको हिमपातले पाकेको उवा, फापर, केराउ, मुलालगायत बालीमा क्षति पुर्‍याएको हल्जी गाउँका स्थानीय नाक्याप लामाले बताए ।

तीन हप्तासम्म बाली हिउँले पुरिएपछि पाकेको अन्न कुहिएर काम नलाग्ने भएको उनले बताए । स्थानीय उत्पादनमा क्षति पुग्नु र सरकारी अनुदानको खाद्यान्नसमेत नपुग्नुले लिमीमा खाद्यान्न समस्या थपिएको उनको भनाइ छ ।

‘किसानले लगाएको बाली हिउँले नष्ट गर्‍यो । खाद्यान्न पनि लिमी पुगेको छैन । चीनको ताक्लाकोटबाट समेत खाद्यान्न आउन नसकेपछि स्थानीयलाई समस्या भएको छ,’ लामाले भने ।

तीन बस्तीका १११ घरधुरी प्रभावित

लिमीका तीन बस्तीमध्ये तिलमा १८, हल्जीमा ९० र जाङमा तीन घरधुरी छन् । सरकारी अनुदानको खाद्यान्न नपुग्नु, स्थानीय उत्पादनमा क्षति पुग्नु र चीनको ताक्लाकोटबाट समेत खाद्यान्न आपूर्ति हुन नसक्दा यी बस्तीका बासिन्दाको खाद्य सुरक्षामा चुनौती थपिएको छ ।

यस विषयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख केशवराज बुढाले बुझेर मात्र जानकारी दिने बताए ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?