+
+
Shares

कमला पुल मंसिर पहिलो साताभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ : मन्त्री लम्साल

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते ८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कमला पुल निर्माण तीव्र गतिमा अघि बढिरहेको र मंसिरको पहिलो साताभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताएका छन्।
  • उनका अनुसार बाँकी तीन स्पानमध्ये पहिलो स्पानको स्ल्याब ढलान सम्पन्न भएको छ र बाँकी दुई स्पानको स्ल्याब कास्टिङ पाँच दिनभित्र सकिने तालिका छ।
  • सिरहा र धनुषा जोड्ने कमला पुल सञ्चालन नहुँदा स्थानीय बासिन्दा, यात्रु र व्यवसायीले लामो समयदेखि आवतजावतमा समस्या भोग्दै आएका छन्।

१३ कात्तिक, सिरहा । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले  सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको बताएका छन्। मन्त्री लाम्सालले सामाजिक सञ्जाल फेसबुकमा २१ सेकेन्डको भिडियो सार्वजनिक गर्दै कमला पुलको प्रतीक्षा अब धेरै गर्नु नपर्ने दाबी गरेका हुन्।

कमला पुल निर्माणमा भइरहेको ढिलाइ र नागरिकले भोग्दै आएको सास्तीबारे अनलाइनखबरले बिहीबार समाचार प्रकाशित गरेको थियो । ‘कमला पुलमा राजनीति : नेता–मन्त्री ढाँटेको ढाँट्यै, नागरिकका दुःख ज्युँका त्युँ’ शीर्षकमा समाचार प्रकाशित भएको थियो।

समाचार प्रकाशित भएपछि मन्त्री लम्सालले पुल निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै आगामी मंसिरको पहिलो साताभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको बताएका छन्।

मन्त्री लम्सालका अनुसार कमला पुलका बाँकी तीन स्पानमध्ये पहिलो स्पानको स्ल्याब ढलान सम्पन्न भइसकेको छ। बाँकी दुई स्प्यानको स्ल्याब कास्टिङको काम आगामी पाँच दिनभित्र सम्पन्न गर्ने तालिका रहेको उनले उल्लेख गरेका छन्।

त्यसैगरी, पुल निर्माणसँगै नदी नियन्त्रणको काम पनि निरन्तर अघि बढिरहेको मन्त्रीको भनाइ छ। निर्माण कार्यलाई तीव्रता दिएर मंसिरको पहिलो साताभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनले बताएका छन्।

‘१५ वर्षदेखि रुग्ण बनेको आयोजनाको सञ्चालन हाम्रो प्राथमिकतामा छ,’ मन्त्री लम्सालले फेसबुकमा लेखेका छन्।

सिरहा र धनुषालाई जोड्ने कमला पुल लामो समयदेखि निर्माण सम्पन्न हुन नसक्दा दुवै जिल्लाका नागरिकले आवतजावतमा समस्या भोग्दै आएका छन्। पुल सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा, यात्रु तथा व्यवसायीसमेत प्रभावित हुँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?