News Summary
Generated by OK AI. Editorially reviewed.- भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले सिरहा र धनुषा जोड्ने १५ वर्षदेखि अलपत्र कमला पुलको स्थलगत निरीक्षण गर्नुभएको छ ।
- पुल निर्माणको स्पष्ट कार्ययोजना सार्वजनिक नगरेको भन्दै आक्रोशित स्थानीय युवाहरूले मन्त्री लम्सालबारे नाराबाजी गरेका छन् ।
- अलपत्र कमला पुल निरीक्षणका लागि अहिलेसम्म १८ जना मन्त्री पुगे पनि निर्माण कार्य भने वर्षौंदेखि अधुरो छ ।
२४ जेठ, सिरहा । करिब १५ वर्षदेखि अलपत्र कमला पुलको स्थलगत निरीक्षणमा पुगेका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले ‘काम गरेर देखाउने’ प्रतिबद्धता जनाए पनि स्पष्ट कार्ययोजना नआएको भन्दै स्थानीयले नाराबाजी गरेका छन् ।
सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी राजमार्गमा पर्ने कमला पुलको स्थलगत निरीक्षण गर्न मन्त्री लम्साल शनिबार साँझ करिब ६ बजे पुगेका थिए । स्थानीय केही युवाहरु पनि त्यहाँ पुगेका थिए । उनीहरुले पुल कहिले बन्छ भनेर मन्त्री लम्साललाई प्रश्न गरेका थिए । तर जवाफ नदिई हिँडेको भन्त्री केही युवाहरुले नाराबाजी गरेका थिए ।
हुलाकी कमला पुल संघर्ष समितिका संयोजक इन्जिनियर प्रविन यादवका अनुसार मन्त्री लम्सालले ‘हामी बोल्न होइन, काम गर्न आएका हौं, काम गरेर देखाउँछौं,’ भनेका थिए । संघर्ष समितिका संयोजक यादवका अनुसार मन्त्रीबाट पुल निर्माणको भविष्यबारे कुनै स्पष्ट धारणा नआएपछि स्थानीयवासी आक्रोशित हुँदै नाराबाजीमा उत्रिएका थिए ।
तर स्थानीय नरेशचन्द्र बरबरियाका अनुसार मन्त्री लम्सालले पुल निर्माणमा संलग्न ठेकेदार तथा सम्बन्धित अधिकारीहरूसँग छलफल गर्दै निर्माण प्रक्रिया छिटो अघि बढाउन निर्देशन दिएका थिए ।
मन्त्री निरीक्षणका लागि आउने खबरले स्थानीयमा आशा जगाए पनि उनले कुनै सार्वजनिक धारणा वा प्रतिबद्धता व्यक्त नगरेको भन्दै केही स्थानीय आक्रोशमा आएका थिए ।
अनलाइनखबरलाई प्राप्त एक भिडियोमा केही युवाहरुले मन्त्रीतर्फ मोबाइल तेर्स्याउँदै पुल कहिले बन्छ भनेर प्रश्न गरेको सुनिन्छ । तर मन्त्री बालेको आवाज सुनिँदैन । त्यसपछि पछाडिबाट केही युवाले हात माथि उठाँदै नाराबाजी गरेको आवाज सुनिन्छ ।
संघर्ष समितिका संयोजक यादवले भने, ‘कमला पुल कहिले बन्छ, पुरानै संरचनालाई निरन्तरता दिइन्छ कि नयाँ योजना ल्याइन्छ भन्ने विषयमा मन्त्रीले केही पनि स्पष्ट पार्नुभएन । त्यही भएर स्थानीय आक्रोशमा आए ।’
मन्त्रीको टोली फर्किने क्रममा स्थानीयले नाराबाजी गर्दै ‘फोटो खिचाउन मात्र होइन, जवाफ दिन पनि आउनुपर्छ,’ ‘मधेशलाई उपेक्षा गर्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।
लम्सालबाट सार्वजनिक रुपमा स्पष्ट प्रतिबद्धता नआउँदा पुलबारे जनतामा झन् अन्योल र निराशा बढाएको भन्दै आक्रोशमा आएका केहीले मन्त्री सवार गाडीको बाटो छेक्ने प्रयास समेत गरेको प्रत्यक्षदर्शी बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकले भने मन्त्रीको निरीक्षणपछि सामान्य नाराबाजी भएको स्वीकार गरे तर गाडी नै अवरोध भने नभएको जानकारी दिए । मन्त्रीको सवारी फर्किने क्रममा बाटो व्यवस्थापनका लागि प्रहरीले सामान्य सहजीकरण मात्र गरेको उनले बताए ।
मन्त्री लम्सालसहित अहिलेसम्म १८ जना मन्त्री कमला पुल निरीक्षणका लागि आएको तर निर्माणको काम वर्षौंदेखि अधुरो रहेको भन्दै स्थानीय आक्रोशित छन् ।
प्रतिक्रिया 4