+
+
Shares

सेयर बजारमा र्‍यान्समवेयर आक्रमणबारे नेप्सेको झारा टार्ने सुझाव

आईटीसम्बन्धी नीति ल्याउँदै बोर्ड

प्रतिवेदनमार्फत नेप्सेले दिएको सुझावले ठोस समाधान नदिने बोर्डका एक अधिकारीले बताए । ‘नेप्सेलाई एक साताको मात्रै समय भएकाले होला, उसले दिएको साइबर आक्रमणविरुद्ध सुधारसम्बन्धी सुझाव सतही मात्रै छन्’ ती अधिकारीले भने।

कमल नेपाल कमल नेपाल
२०८३ कात्तिक १३ गते १२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डेटा सेन्टरमा र्‍यान्समवेयर आक्रमणपछि ७२ ब्रोकरको टीएमएस अवरुद्ध भई असोज ५ गते सेयर कारोबार बन्द गरिएको थियो ।
  • डेटा हबले फिरौती नतिरी बुटवलको डिजास्टर रिकभरी सेन्टरबाट ब्याकअप रिस्टोर गरेर भोलिपल्टै कारोबार सञ्चालन गराएको थियो ।
  • धितोपत्र बोर्डले नेप्सेबाट प्राप्त सुधार प्रतिवेदनका आधारमा पूँजी बजारका लागि नयाँ आईटी नीति ल्याउने भएको छ ।

१३ कात्तिक, काठमाडौं । डेटा सेन्टरमा र्‍यान्समवेयर आक्रमण भएपछि असोज ५ गते सेयर कारोबार नै बन्द गर्नुपर्‍यो । यस्तो आक्रमणपछि डेटा सेन्टर सञ्चालन गर्ने कम्पनी ‘डेटा हब’ले होस्टिङ गरेका ७२ ब्रोकर कम्पनीको कारोबार प्रणाली (टीएमएस) अवरुद्ध भएको थियो ।

र्‍यान्समवेयर आक्रमण हुँदा ब्रोकरका कारोबार प्रणाली, ग्राहकका विवरण वा कारोबार सञ्चालन गर्न आवश्यक तथ्यांकमा पहुँच अवरुद्ध हुन जान्छ । यस्तो आक्रमणमा ह्याकरहरूले सर्भरभित्र छिरेर फाइलहरूलाई इन्क्रिप्ट गरिदिने र उनीहरूले सिस्टमको पहुँच लिएर महत्त्वपूर्ण फाइलहरूको एक्स्टेन्सन नै परिवर्तन गरिदिन्छन् । त्यसपछि डेटा सर्भरमा भए पनि खोलिँदैन, चल्दैन ।

यस्ता आक्रमणपछि फाइलहरू खोल्ने साँचो उपलब्ध गराउने भन्दै फिरौती माग्ने गरियो । डेटा हबले फिरौती तिर्नतिर नलागी ‘इन्क्रिप्ट’ गरिएका डेटा हटाएर, सुरक्षाका थप मापदण्ड अपनाई बुटवलमा रहेको डिजास्टर रिकभरी सेन्टरको ब्याकअपबाट सबै डेटा रिस्टोर गर्‍यो । जसले भोलिपल्टबाटै कारोबार सञ्चालन हुन सफल भएको डेटा हबका एक अधिकारीले बताए ।

डेटा हबको पूर्वाधारमा र्‍यान्समवेयर आक्रमणपछि धितोपत्र बोर्डले यस्ता समस्या दोहोरिन नदिन सुधारसहितको प्रतिवेदन एक साताभित्र बुझाउन नेप्सेलाई निर्देशन दिएको थियो ।

यो निर्देशनपछि नेप्सेले सुधार सुझाव प्रतिवेदन बोर्डलाई बुझाएको छ । नेप्सेले बोर्डलाई बुझाएको प्रतिवेदन भने झारा टार्ने किसिमको मात्रै पाइएको छ । अर्थात् प्रतिवेदनमार्फत नेप्सेले दिएको सुझावले ठोस समाधान नदिने बोर्डका एक अधिकारीले बताए । ‘नेप्सेलाई एक साताको मात्रै समय भएकाले होला, उसले दिएको साइबर आक्रमणविरुद्ध सुधारसम्बन्धी सुझाव सतही मात्रै छन्’ ती अधिकारीले भने।

डेटाको पूर्वाधारमा आक्रमणपछि प्राप्त जानकारी, त्यसपछि अन्य प्रणालीमा हुन सक्ने जोखिम रोक्न गरिएका काम, यस्ता समस्या न्यूनीकरण गर्न गरिनुपर्ने प्रयासबारे प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार असोज ४ गते बिहान साढे ५ बजे इमेल र फोनमार्फत डेटा हबले पूर्वाधारमा आक्रमणको जानकारी प्राप्त गरेको थियो । सो दिन आइतबार भएकाले सरकारी विदाका कारण बजार बन्द नै थियो ।

भोलिपल्ट सोमबार बिहान सबै पक्षसँग समन्वय भएको र थप जोखिम हुन नदिन बजार बन्द गरिएको प्रतिवेदनमा उल्लेख छ । ‘सुरक्षाको दृष्टिकोणबाट तत्काल नेप्सेको प्रणालीमा टीएमएस नेटवर्क आवद्ध गराइरहँदा जोखिम देखिएकाले प्रणाली अलग्याइएको हो’ प्रतिवेदनमा उल्लेख छ ।

‘एउटै कम्पनीले ७२ ब्रोकर कम्पनीको डेटा होस्टिङ गर्नुको साटो छुट्टाछुट्टै धेरै कम्पनीमार्फत वा ब्रोकर कम्पनी आफैले पूर्वाधार तयार गरेको भएमा समस्या आउँदा पनि सीमितमा समस्या देखिन्छ, जसले सेयर बजार नै बन्द गर्नुपर्ने अवस्था हुँदैन’

शुक्रबारसम्मको कारोबार ब्याकअप डिजास्टर रिकभरी डेटा सेन्टरमा सुरक्षित रहेपछि त्यहाँबाट रिस्टोर गरी समस्या समाधान गरिएको डेटा हबले जनाएको विषय प्रतिवेदनमा छ ।

‘भविष्यमा यस्ता घटना हुन नदिन सुरक्षाका न्यूनतम मापदण्ड अनिवार्य अवलम्बन गर्नुपर्नेछ’ प्रतिवेदनको निष्कर्षमा लेखिएको छ । प्रतिवेदनमा सुधारका लागि गर्नुपर्ने प्रयास पनि समेटिएको छ ।

समयमै कम्प्युटर प्रणाली, सफ्टवेयर, सर्भर, अन्य डिजिटल प्रणालीको परीक्षण (आईटी अडिट) गर्नुपर्ने सुझावमा उल्लेख छ । पूँजी बजारमा आबद्ध हरेक प्रयोगकर्ताले साइबर सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्नुपर्ने जरुरत रहेको उल्लेख छ।

कम्प्युटर प्रणाली, सफ्टवेयर, सर्भर वा नेटवर्कमा रहेका सुरक्षा कमजोरी पत्ता लगाउन प्रत्येक तीन महिनामा परीक्षण ( भल्नरेबिलिटी टेस्ट) गर्नुपर्ने नेप्सेको सुधार सुझाव प्रतिवेदनमा उल्लेख छ ।

कुनै निश्चित समय तोकेर वा रियल टाइममै डेटा ब्याकअप गर्नुपर्ने व्यवस्था लागु गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । यसको अर्थ कम्प्युटर प्रणालीमा भएका महत्त्वपूर्ण तथ्याङ्कलाई नियमित समयको अन्तरालमा वा तथ्याङ्क परिवर्तन हुनासाथ अर्को सुरक्षित स्थानमा प्रतिलिपि राख्ने व्यवस्था गर्नु हो । जसले मुख्य प्रणालीमा समस्या आए पनि तथ्याङ्क हराउँदैन र त्यहीं तथ्यांक पछि मुख्य प्रणालीमा सार्न सकिन्छ ।

ब्याकअपलाई मुख्य प्रणालीबाट अलग र सुरक्षित राख्नु, अनधिकृत पहुँचबाट जोगाउनु तथा आवश्यक पर्दा तथ्याङ्क पुनः प्राप्त गर्न सकिने बनाउनुपर्दछ । कतिपय प्रणाली सञ्चालनका हकमा मल्टिपल फ्याक्टर अथेन्टिकेसन (एकभन्दा बढी किसिमका गोप्य संकेत) प्रयोग गर्नुपर्ने व्यवस्था लागु गर्नुपर्ने सुझाव नेप्सेले दिएको छ ।

साइबर सेक्युरिटीका विषयमा बोर्ड, नेप्से लगायत सम्बद्ध कम्पनीले कर्मचारीलाई तालिम प्रदान गर्नेजस्ता सुझाव समेटिएका छन् ।

आधिकारिक एन्टिभाइरसको प्रयोग गरी कार्यालयका कम्प्युटर तथा ल्यापटपको पूर्ण स्क्यान गर्ने, इमेल तथा अन्य माध्यममा अनाधिकृत शंका लागेका सन्देश नखोल्नेजस्ता सुझाव पनि समेटिएका छन् ।

‘हेर्दा कतिपय सुझाव साना देखिन्छन्, तर तिनै साना सुधारका कारण ठूला साइबर आक्रमणका जोखिम न्यूनीकरण गर्न मद्दत पुग्छ’ नेप्सेका एक अधिकारीले भने । प्रत्येक ब्रोकर कम्पनीका आ–आफ्ना कारोबार प्रणाली हुनुपर्ने, आफैँ डेटा स्टोर तथा ब्याकअपको पूर्वाधार तयार गर्नुपर्नेमा यहाँ अर्को छुट्टै कम्पनीलाई जिम्मा दिने गरिएको छ ।

ब्रोकर कम्पनीले आफूले नै पूर्वाधार थप्नुभन्दा भाडा तिरेर अरु कम्पनीसँग सेवा लिने गरेका छन् । यसले जोखिम झन बढाएको नेप्सेका ती अधिकारी बताउँछन् ।

‘एउटै कम्पनीले ७२ ब्रोकर कम्पनीको डेटा होस्टिङ गर्नुको साटो छुट्टाछुट्टै धेरै कम्पनीमार्फत वा ब्रोकर कम्पनी आफैले पूर्वाधार तयार गरेको भएमा समस्या आउँदा पनि सीमितमा समस्या देखिन्छ, जसले सेयर बजार नै बन्द गर्नुपर्ने अवस्था हुँदैन’ नेप्सेका ती अधिकारीले भने ‘तर यहाँ ब्रोकर कम्पनीले आफूले लगानी गरेर पूर्वाधार थप्नुभन्दा मासिक भाडा दिनेगरी अर्को कम्पनीलाई जिम्मा दिन सहज ठानिरहेका छन् ।’

भाडा तिरेर एउटा कम्पनीमार्फत कारोबार प्रणाली लिने, अर्को कम्पनीलाई डेटा स्टोर तथा ब्याकअपको जिम्मा दिने गरेका छन् ।

सेयर बजारमा आईटीसम्बन्धी नीति ल्याइँदै

नेप्सेले दिएको सुधारसम्बन्धी प्रतिवेदन तथा बोर्डमा रहेका आईटी विज्ञको सुझावलाई समेटेर नेपाल धितोपत्र बोर्डले सेयर बजारसँग सम्बन्धित आईटी नीति ल्याउने भएको छ।

‘हामीले समयसापेक्ष हुनेगरी आईटी पोलिसी ल्याउँदैछौं, जसमा धितोपत्र बजार, व्यवसायी, बोर्ड तथा यससँग प्राविधिक रुपमा जोडिएका कम्पनीलाई पनि लागु हुनेछ’ बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले भने ।

बोर्डमा रहेका आईटी विज्ञहरू अहिले यही नीति ल्याउनेगरी जुटेका छन् । आईटी नीति करिब करिब अन्तिम चरणमा पुगेको भट्टले जानकारी दिए । ‘त्यो नीतिले पूँजी बजारसँग सम्बन्धित सबै प्राविधिक पक्षलाई गाइड गर्नेछ’ उनले भने ।

नेप्सेले हालै धितोपत्र बोर्डलाई बुझाएको पूँजी बजारमा प्राविधिक सुरक्षा सुधार प्रतिवेदनमा उल्लेखित विषय र विगतमा देखिएका कैफियतलाई समेत समेट्नेगरी आईटीसम्बन्धी नयाँ नीति आउने अध्यक्ष भट्टले जानकारी दिए ।

लेखक
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?