News Summary
Generated by OK AI. Editorially reviewed.- टीएमएस होस्टिङ पूर्वाधारमा र्यान्समवेयर आक्रमण भएपछि सोमबार सेयर कारोबार स्थगित गरिएको छ।
- डेटा हब प्रालिले असोज ४ गते बिहान करिब साढे ५ बजेतिर आक्रमण पहिचान गरेको जनाएको छ।
- सेबोनले असोज १२ गतेभित्र सुधारसहितको प्रतिवेदन पेस गर्न नेप्सेलाई निर्देशन दिएको छ।
५ असोज, काठमाडौं । सेयर कारोबार प्रणाली (टीएमएस) होस्टिङ पूर्वाधारमा र्यान्समवेयर आक्रमण भएपछि सोमबार सेयर बजार नै बन्द गर्नुपर्यो ।
होस्टिङ कम्पनी डेटा हब प्रालिका अनुसार असोज ४ गते बिहान करिब साढे ५ बजेतिर होस्टिङ पूर्वाधारमा भएको आक्रमणको पहिचान गरिएको हो ।
यसरी आक्रमण भएर सेयर बजार बन्द भएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ध्यानाकर्षण भएको जनाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट धितोपत्र दलाल व्यवसायीको कार्य गर्न अनुमति पाएका ७२ व्यवसायीको सर्भर राखिएको डेटा सेन्टरमा र्यान्समवेयर आक्रमण भएर सोमबार बजार नै बन्द गर्नुपर्यो ।
यस्तो आक्रमणपछि नेप्सेको अन्य कारोबार प्रणालीमा असर नपरोस् भन्ने उद्देश्यले सोमबार धितोपत्र कारोबार स्थगित गरिएको थियो । यहीं घटनाप्रति बोर्डले ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको छ ।
बोर्डले उक्त घटनाबारे आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्ता घटना पुनः दोहोरिन नदिन आवश्यक सुधारसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेस गर्न नेप्सेलाई निर्देशन दिएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली पनि गठन गरिएको बोर्डले जनाएको छ।
टोलीले कारोबार स्थगित गर्नुपर्ने अवस्था आउनुको कारणसहित प्राविधिक तथा अन्य समस्या पहिचान गर्ने र घटनाको विस्तृत अध्ययन गर्ने बोर्डले जनाएको छ।
बोर्डका अनुसार निरीक्षण टोलीबाट प्राप्त हुने सुझाव तथा प्रतिवेदनका आधारमा आगामी दिनमा नेपालको धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित एवं पारदर्शी बनाउन थप कार्यक्रम अघि बढाइनेछ।
बोर्डले घटनासँग सम्बन्धित विषयमा आगामी दिनमा गरिने काम तथा प्रगतिबारे सबै सरोकारवालालाई जानकारी गराइने जनाएको छ।
प्रतिक्रिया 4