News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारसँग देशभरिका गोदाममा ८७ हजार ८ सय ९२ टन रासायनिक मल मौज्दात रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।
- मौज्दातमध्ये ४० हजार ५ सय २५ टन युरिया, ३२ हजार ७ सय ८५ टन डीएपी र १४ हजार ५ सय ८१ टन पोटास छ ।
- मन्त्रालयका अनुसार थप ८२ हजार ९ सय ५५ टन मल मार्गस्थ छ, र १ असोजसम्म कुल १ लाख ३० हजार ९ सय ७५ टन मल बिक्री भइसकेको छ ।
५ असोज, काठमाडौं । सरकारसँग हाल देशभरिका गोदामहरूमा ८७ हजार ८ सय ९२ टन रासायनिक मल मौज्दात रहेको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष १ साउनदेखि १ असोजसम्मको विवरण अनुसार किसानलाई वितरण गर्न कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका गोदामहरूमा उक्त परिमाणको मल मौज्दात छ ।
मौज्दात मलमध्ये युरियाको मात्रा सबैभन्दा बढी छ । मन्त्रालयको तथ्यांक अनुसार हाल गोदाममा ४० हजार ५ सय २५ टन युरिया, ३२ हजार ७ सय ८५ टन डीएपी र १४ हजार ५ सय ८१ टन पोटास मल मौज्दात छ ।
सरकारले मल आपूर्ति र वितरण जिम्मा दिएका दुई सरकारी निकायमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग सबैभन्दा धेरै ६३ हजार ८ सय ६ टन मल मौज्दात छ । त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा २४ हजार ८५ टन मौज्दात छ ।
थप ८२ हजार टन आउँदै
हाल गोदाममा रहेको वितरण हुँदै गर्दा बाहिरी देशबाट थप मलसमेत भित्रिने क्रममा रहेको मन्त्रालयले जनाएको छ । तथ्यांक अनुसार हाल ८२ हजार ९ सय ५५ टन रासायनिक मल मार्गस्थ (बाटोमा आउँदै गरेको) अवस्थामा छ ।
मार्गस्थ अवस्थामा रहेको मलमा युरिया र डीएपी मात्रै छ, जसमा ६५ हजार ९ सय ७० टन युरिया र १६ हजार ९ सय ८५ टन डीएपी छ ।
बाटोमा रहेको मलमध्ये कृषि सामग्री कम्पनीले ६० हजार २ सय २० र साल्ट ट्रेडिङले २२ हजार ७ सय ३५ टन मल ल्याइरहेका छन् ।
हालसम्म १ लाख ३० हजार टन बिक्री
सरकारले किसानलाई मल वितरण पनि निरन्तर गरिरहेको जनाएको छ । गत आव २०८२/८३ को बाँकी मौज्दात समेत गरी १ असोजसम्म कुल १ लाख ३० हजार ९ सय ७५ टन रासायनिक मल बिक्री भइसकेको छ ।
यस अवधिमा ८० हजार १ सय ९६ टन युरिया, ४७ हजार २ सय ७४ टन डीएपी र ३ हजार ५ सय ३ टन पोटास किसानको खेतबारीसम्म पुगिसकेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।
कुल बिक्री भएको मलमध्ये कृषि सामग्री कम्पनी मार्फत ९८ हजार ८ सय ९३ टन र साल्ट ट्रेडिङ मार्फत ३२ हजार ८१ टन मल वितरण भएको हो ।
यस वर्ष सरकारले ५ लाख ५० हजार टन रासायनिक मल ल्याउने लक्ष्य राखेको छ । यसका लागि ३२ अर्ब ४६ करोड १९ लाख विनियोजन गरिएको छ भने हालसम्म २ लाख ४० हजार टन मल खरिदका लागि टेन्डर प्रक्रिया समेत सम्पन्न भइसकेको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयको तथ्यांक अनुसार गत आवको मार्गस्थ समेत गरी हालसम्म कुल १ लाख ४७ हजार ११ टन मल आपूर्ति भइसकेको छ ।
प्रतिक्रिया 4