News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘चमेलीको पोइ’को ट्रेलर सार्वजनिक भएको छ, जसमा मायाप्रेम र दाम्पत्य जीवनका उतारचढाव देखाइएको छ ।
- एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको फिल्म असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउने छ ।
- १८ वर्षपछि कमब्याक गरेका अभिनेता नारायण त्रिपाठीले यो फिल्मबाट पुनः दर्शकमाझ आउन चाहेको बताएका छन् ।
काठमाडौं । फिल्म ‘चमेलीको पोइ’को ट्रेलर सार्वजनिक गरिएको छ । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको फिल्मको ट्रेलरमा मायाप्रेम र दाम्पत्य जीवनमा आउने उतावचढावको कथा प्रस्तुत गरिएको छ ।
फिल्म असोज १६ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ ।
पत्रकार सम्मेलनमा निर्देशक बोहराले ‘चमेलीको पोइ’ विशुद्ध मनोरञ्जनक फिल्म भएको बताए । १८ बर्षको अन्तरालपछि यही फिल्मबाट कमब्याक गरेका अभिनेता नारायण त्रिपाठीले यो फिल्मबाट आशावादी रहेको बताए ।
अमेरिकामा आयोजित विशेष शोजबाट दर्शकको माया पाएको भन्दै उनी खुसी देखिए । ‘अमेरिकामा रहे पछि म नेपाली चलचित्रमा पुनरागमन गर्न चाहन्थें । बीचमा आफै फिल्म निर्माण गर्ने कोसिस पनि गरेको थिएँ । तर परिस्थितिले साथ दिएन’ उनले भने, ‘यो फिल्मबाट पुनः दर्शकमाझ आउँदैछु । यो मेरो अहोभाग्य हो ।’
उनले पहिलेजस्तै फिल्म अभिनयमा निरन्तरता दिन चाहेको उनले बताए । उनी दुई दशकअघिसम्म ‘प्रेमचरो’ उपनामले फिल्म अभिनयमा प्रसिद्ध रहे । त्यसबीच अमेरिका उडेपछि भने ठूलो पर्दाका फिल्म अभिनयमा बिराम लागेको थियो ।
अभिनेता मुकुन भुसालले फिल्मले हँसाउनुका साथै दर्शकलाई गम्भीर पनि तुल्याउने बताए । अभिनेता विल्सविक्रम राईले फिल्म मनोरञ्जनले भरिपूर्ण भएको बताए ।
निर्माता रामनारायण उपाध्यायले आफूहरुले उत्कृष्ट फिल्म बनाउन कुनै कसर बाँकी नराखेको बताए । उनले दर्शकलाई भरपुर मनोरञ्जन दिने उद्देश्यले फिल्म बनाइएको र त्यसमा समाजिक सदभाव र पारिवारिक प्रेमको कथा समेत समाविष्ट भएको उल्लेख गरे ।
शेरबहादुर तामाङले खिचेको फिल्मको पटकथामा निर्देशक बोहरालाई शिवम अधिकारीले सघाएका छन् । धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा पन्त, रवीन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, उमेश राई, अंशु महर्जन, बाबिन राई, तारा शर्मा, खड्गबहादुर पुन, रजनी गुरुङ, सुनीता सापकोटा, मीना आरएल शाही, रितु मल्ल ठकुरी, श्रेया नारायणको अभिनय छ ।
सुनिता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा उदयविक्रम राणा, रितु मल्ल ठकुरी, सुमित्रा थापा र कपिल आचार्य छन् ।
प्रतिक्रिया 4