+
+
Shares

पत्रकारमाथिको प्रहरी हस्तक्षेप लोकतन्त्रमाथिकै प्रहार : जवाफदेहिता निगरानी समिति

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १४ गते ६:३८

१४ कात्तिक, काठमाडौं । जवाफदेहिता निगरानी समिति (एडब्लूसी) ले पत्रकारहरूको गिरफ्तारी, धरपकड तथा प्रेस स्वतन्त्रताको उपभोगमा अवरोध पुर्‍याउने गरी भएका प्रहरी हस्तक्षेपका घटनाप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको निन्दा गरेको छ।

जवाफदेहिता समितिका तर्फबाट राजुप्रसाद चापागाई (संयोजक), राजन कुईंकेल (सहसंयोजक), रुकमनी महर्जन (सहसंयोजक) लगायतले विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप लोकतन्त्रमाथिकै प्रहार भएको जनाएका छन् ।

स्वतन्त्र प्रेस लोकतन्त्रको पहरेदार तथा राज्यलाई नागरिकप्रति जवाफदेही बनाउने सशक्त माध्यम भएको उल्लेख गर्दै सार्वजनिक निकायका कामकारबाहीमाथि प्रश्न उठाउने, अनियमितता उजागर गर्ने र नागरिकलाई सत्यतथ्य सूचना प्रवाह गर्ने पत्रकारिताको संवैधानिक दायित्व रहेको समितिको भनाइ छ।

पत्रकारलाई त्रसित बनाउने, पक्राउ गर्ने वा सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने कार्य कुनै पनि अवस्थामा स्वीकार्य नहुने समितिले स्पष्ट पारेको छ।

राज्यका निकायबाटै संविधान र कानुनी मर्यादाको उल्लङ्घन हुने प्रवृत्तिले सरकारको वैधतामाथि प्रश्न उठाउनुका साथै लोकतान्त्रिक संस्थाप्रतिको जनविश्वास कमजोर बनाउने विज्ञप्तिमा उल्लेख छ।

समितिले पत्रकारमाथि भएका गैरकानुनी धरपकड तथा प्रहरी हस्तक्षेपका घटनाको निष्पक्ष छानबिन गर्न, अधिकार दुरुपयोग गर्ने पदाधिकारीलाई कानुनी जवाफदेहिताको दायरामा ल्याउन तथा पत्रकारको सुरक्षा, प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हक सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेको छ।

प्रश्न गर्ने आवाज दबाएर सुशासन स्थापित हुन नसक्ने भन्दै समितिले जवाफदेहिता र पारदर्शिताबाट मात्रै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गरेको छ। साथै प्रेस स्वतन्त्रता, मानव अधिकार, विधिको शासन र उत्तरदायी शासन व्यवस्थाको पक्षमा निरन्तर निगरानी तथा पैरवी गर्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?