१४ कात्तिक, काठमाडौं । अमेरिकाले युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० वटा प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ । रुसले युक्रेनमाथि हवाई आक्रमण तीव्र पारिरहेका बेला अमेरिकी सरकारले अत्यावश्यक मानिएको प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न अनुमति दिएको हो ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार अत्याधुनिक पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्र बिक्रीको मूल्य २ अर्ब १० करोड अमेरिकी डलर हुनेछ । उक्त खरिदका लागि आवश्यक रकम युरोपेली देश र क्यानडाले उपलब्ध गराउनेछन् । यसमा अमेरिकी सरकारको कुनै रकम खर्च नहुने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयका अनुसार क्यानडा, जर्मनी र नर्वेले ‘जम्पस्टार्ट’ कार्यक्रममार्फत उपलब्ध गराउने सहयोग तथा युरोपेली संघको युक्रेन सहायता ऋणबाट प्राप्त रकम प्रयोग गरेर युक्रेनले क्षेप्यास्त्र खरिद गर्नेछ । यसको मुख्य आपूर्तिकर्ता अमेरिकी कम्पनी लकहिड मार्टिन हुनेछ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार राति अमेरिकालाई प्याट्रियट क्षेप्यास्त्र युक्रेनमा छिटो पठाउन आग्रह गरेका थिए । यद्यपि क्षेप्यास्त्र आपूर्ति हुन ‘केही वर्ष’ लाग्न सक्ने अनुमान गरिएको छ ।
प्याट्रियट प्रणालीलाई रुसी ब्यालेस्टिक क्षेप्यास्त्र खसाल्न प्रभावकारी मानिन्छ । रुसले पछिल्लो समय युक्रेनका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र बनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रस्तावित बिक्रीले युरोपको राजनीतिक तथा आर्थिक स्थायित्वमा योगदान पुर्याउने साझेदार मुलुक युक्रेनको सुरक्षा मजबुत बनाउने उल्लेख छ ।
ट्रम्प–जेलेन्स्की सम्बन्धमा तनाव देखिएका बेला क्षेप्यास्त्र बिक्रीको स्वीकृति
क्षेप्यास्त्र बिक्रीको स्वीकृति यस्तो समयमा आएको छ, जतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच सम्बन्धमा तनाव देखिएको थियो ।
यसै महिनाको सुरुमा रुसबाट डिजेल आपूर्ति सुनिश्चित गर्ने सम्झौताको हिस्साका रूपमा अमेरिकाले रुसमाथिका केही प्रतिबन्ध खुकुलो पारेपछि जेलेन्स्कीले असन्तुष्टि जनाएका थिए ।
ट्रम्पले रुससँग युद्ध अन्त्य गर्ने सम्झौताका लागि युक्रेनलाई नयाँ नेतृत्व आवश्यक रहेको अभिव्यक्तिसमेत दिएका थिए ।
तर, अक्टोबर २० मा नर्वेको ओस्लोमा जेलेन्स्कीले अमेरिकी प्रतिनिधिहरूसँग वार्ता गरेपछि दुई देशबीचको तनाव केही मत्थर भएको थियो ।
रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको थियो । त्यसअघि नै रुसले सन् २०१४ मा क्रिमिया र पूर्वी युक्रेनको डोनबास क्षेत्रका केही भूभाग नियन्त्रणमा लिइसकेको थियो ।
प्रतिक्रिया 4