+
+
Shares

सत्यजीत रेको टू : दुई सामाजिक वर्गको मौन चित्रण

धनी बालकले शक्ति राष्ट्रको प्रतिनिधित्व गर्छ । विपन्न बालकले भियतनाम वा तेस्रो विश्वका साना, संघर्षशील देशहरूको प्रतिनिधित्व गर्छ

कञ्चन कञ्चन
२०८३ कात्तिक १६ गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सत्यजीत रेले सर्ट फिल्म ‘टु’मा संवादविनै वर्गीय असमानता, पुँजीवादी अहंकार र उपभोक्तावादमाथि प्रहार गरेका छन् ।
  • फिल्ममा माथिल्लो तलामा बस्ने सम्भ्रान्त बालक र भुइँमा रमाउने विपन्न बालकबीच खेलौना युद्ध हुन्छ, जसमा धनी बालकले चङ्गा खसालिदिन्छ ।

सामान्यतया सत्यजीत रे आफ्ना फिल्महरूमा संवाद, बङ्गाली साहित्यको प्रभाव र मानवीय सम्बन्धका जटिलतालाई चित्रण गर्छन्। तर, सर्ट फिल्म ‘टु’ मा उनले कुनै पनि संवादको प्रयोग नगरी विशुद्ध दृश्य भाषा, ध्वनि र संगीतको माध्यमबाट वर्गीय असमानता, पुँजीवादी अहंकार र उपभोक्तावादमाथि प्रहार गरेका छन् । १२ मिनेटमा समाज र मानवीय मनोविज्ञानलाई पर्दामा उतारेका छन् ।

रूपरेखा

फिल्मको कथा निकै सरल र गम्भीर प्रतीकहरूले भरिएको छ । यसमा केवल दुईवटा पात्रहरू छन्—दुई फरक आर्थिक र सामाजिक वर्गका बालकहरू ।

कथाको सुरुवात एउटा ठूलो, सम्पन्न र आधुनिक घरबाट हुन्छ । जहाँ एक सम्भ्रान्त परिवारको बालक (रवि किरण) एक्लै छ । उनका आमाबुबा घरमा छैनन् । उसको आसपास महँगा, मेकानिकल र आधुनिक खेलौनाहरूको चाङ् छ । ऊ कोका-कोला पिउँदै, मिकी माउसको टोपी लगाएर आफ्ना महँगा खेलौनाहरूसँग खेलिरहेको छ । तर, यति धेरै भौतिक सुखसुविधाका बाबजुद उसको अनुहारमा एक्लोपन, दिक्दारी र छटपटी देखिन्छ ।

यत्तिकैमा उसको ध्यान झ्याल बाहिर जान्छ । घरमुनिको एउटा विपन्न बस्तीमा अर्को एउटा बालक (बाबु विश्वास) खुला आकाशमुनि रमाइरहेको छ । त्यो विपन्न बालकसँग कुनै महँगो खेलौना छैन । ऊसँग केवल एउटा बाँसुरी, एउटा सानो ड्रम र एउटा कागजको चङ्गा छ । तर, उसको अनुहारमा स्वतन्त्रता र आत्मसन्तुष्टि देखिन्छ ।

जब धनी बालकले विपन्न बालकलाई बाँसुरी बजाएर रमाइरहेको देख्छ, उसको भित्री अहम् जाग्छ । यहींबाट दुई बालकहरूबीच एउटा निर्वाक् ‘खेलौना युद्ध’ सुरु हुन्छ ।

धनी केटोले विपन्न केटोको हरेक रैथाने र साधारण खेलौनाको जवाफ आफ्ना आधुनिक, ठूला र महँगा मेकानिकल खेलौनाहरू प्रदर्शन गरेर दिन खोज्छ । विपन्न बालकले बाँसुरी बजाउँदा धनी बालकले ठूलो आवाज निकाल्ने ब्यान्ड-ट्रम्पेट बजाउँछ । विपन्न बालकले साधारण मास्क लगाएर धनुषबाण हातमा दिएर नाच्दा धनी बालकले डरलाग्दो राक्षसको मास्क र महँगो खेलौना तरबार देखाएर उसलाई जिस्क्याउँछ ।

यस प्रतिस्पर्धा पराकाष्ठामा तब पुग्छ जब विपन्न बालकले आकाशमा एउटा साधारण चङ्गा उडाउँछ । विपन्न बालकको चङ्गा आकाशमा स्वतन्त्रतापूर्वक उडिरहेको देखेर धनी बालकको इर्ष्या सहनशीलताभन्दा बाहिर जान्छ । ऊ भित्रबाट एउटा एयर राइफल लिएर आउँछ । त्यो चङ्गालाई दागेर खसालिदिन्छ ।

आफ्नो चङ्गा च्यातिएर भुइँमा खसेपछि विपन्न बालक निराश हुन्छ र ऊ त्यहाँबाट हराउँछ । धनी बालकले आफूलाई ‘विजेता’ महसुस गर्छ र गर्वका साथ आफ्नो कोठामा फर्कन्छ । तर, फिल्मको अन्त्य सोचेभन्दा निकै फरक हुन्छ । धनी बालक आफ्नो कोठामा फर्कंदा उसको एउटा मेकानिकल रोबोट खेलौना आफैं ठोकिएर भुइँमा ढल्छ । यत्तिकैमा बाहिरबाट पुनः त्यही विपन्न बालकको बाँसुरीको मधुर धुन गुञ्जिन थाल्छ ।

थिम

‘टु’ फिल्मको सारवस्तुको रूपमा वर्गीय विभाजन रहेको छ । सत्यजीत रेले दुई चरित्रलाई वर्गीय आधारमा विभाजन गरेका छन् । धनी बालक घरको माथिल्लो तलामा (उचाइमा) बस्छ, जसले समाजको उच्च वर्गको प्रतिनिधित्व गर्छ, जसले तल्लो वर्गलाई सधैं माथिबाट नियाल्छ । विपन्न बालक भुइँमा (सडकमा) छ, जसले विपन्न वर्गको प्रतिनिधित्व गर्छ ।

धनी बालकको खुसी ‘उपभोग’ मा आधारित छ, जहाँ उसलाई खुसी हुनका लागि नयाँ वस्तु, नयाँ प्रविधिको आवश्यकता हुन्छ । अर्कोतर्फ, विपन्न बालकको खुसी ‘सिर्जना’ मा आधारित छ, जहाँ ऊ आफैंले बनाएका वा प्रकृतिले दिएका साधारण वस्तुहरूमा रमाउन सक्छ । रेले मानवीय संवेदना र वास्तविक आनन्दलाई उपभोगसँग असम्बद्ध रहेको देखाएका छन् ।

फिल्ममा देखाइएका खेलौनाहरू वैचारिक प्रतीक हुन् । धनी बालकका खेलौनाहरू बजारबाट किनिएका, मेकानिकल र आयातित छन् । जसले पश्चिमा उपभोक्तावादी संस्कृतिको अन्धो अनुकरणलाई सङ्केत गर्छ । विपन्न बालकका खेलौनाहरू प्राकृतिक र स्थानीय छन्, जसलाई बजाउन वा चलाउन मानवीय श्रम र कलाको आवश्यकता पर्छ । भौतिक रूपमा सम्पन्न बालक आफ्नै घरको चार पर्खालभित्र ‘कैदी’ जस्तो छ ।

फिल्म सन् १९६४ मा रिलिज भएको हुनाले धेरै समीक्षकहरूले यसलाई तत्कालीन भियतनाम युद्ध र शीतयुद्धको प्रतीकात्मक कृतिको रूपमा हेर्ने गर्छन् । धनी बालकले शक्ति राष्ट्रको प्रतिनिधित्व गर्छ । विपन्न बालकले भियतनाम वा तेस्रो विश्वका साना, संघर्षशील देशहरूको प्रतिनिधित्व गर्छ, जो आफ्नो स्रोत साधनको सीमितताका बीच मौलिकता जोगाउन लडिरहेका छन्।

प्राविधिक कुरा

झ्याललाई विभाजक रेखाको रूपमा प्रयोग गरिएको छ । जसले धनी र विपन्नको संसारलाई अलग गर्छ । क्यामेराले धनी बालकको अनुहारका क्लोज-अप शटहरूमा उसको अहङ्कार, इर्ष्या र एक्लोपनलाई समातेको छ । जब ऊ चङ्गालाई गोली हान्छ, क्यामेराले उसको क्रूरतालाई देखाउँछ । तर, चङ्गा भुइँमा खसेपछिको सन्नाटाले दृश्यलाई निकै भारी बनाउँछ ।

रेले ध्वनिलाई संवादको प्रतिस्थापनको रूपमा प्रयोग गरेका छन् । धनी बालकको कोठामा मेकानिकल खेलौनाहरूको ‘ट्याङ-ट्याङ’, ‘चूँ-चूँ’ जस्ता कृत्रिम र कर्कश आवाजहरू आउँछन्, जसले आधुनिक जीवनको यान्त्रिकता दर्शाउँछ । यसको विपरीत, विपन्न बालकको बाँसुरीको धुन प्राकृतिक, सुमधुर छ । जसले जीवनको जैविक र प्राकृतिक लयलाई बुझाउँछ।

अन्त्यमा बज्ने बाँसुरीको आवाजले मानवीय हार्दिकताको शाश्वतता प्रमाण दिन्छ ।

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?