+
+
Shares

बाजुरा अस्पतालमा तीन दिनमा आठ बिरामीको जटिल शल्यक्रिया सफल

जिल्ला अस्पताल बाजुरामा तीन दिनको अवधिमा पाँच बालबालिकासहित आठ जना बिरामीको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला अस्पताल बाजुरामा कात्तिक १० देखि १२ गतेसम्म पाँच बालबालिकासहित आठ बिरामीको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ।
  • तीन दिनमा हाडजोर्नी, चोटपटक र गाँठोसम्बन्धी शल्यक्रिया भएका बिरामीमध्ये ६५ वर्षीय पुरुषदेखि चार र छ वर्षीया बालिकासमेत छन्।
  • अस्पतालमा सो अवधिमा ३ सय बिरामीले सेवा लिएका छन् र विशेषज्ञ चिकित्सक आएपछि बाजुरा, हुम्ला र मुगुका बिरामी पनि उपचारका लागि आउन थालेका छन्।

१५ कात्तिक, बाजुरा। जिल्ला अस्पताल बाजुरामा तीन दिनको अवधिमा पाँच बालबालिकासहित आठ जना बिरामीको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ । कात्तिक १० देखि १२ गतेसम्म हाडजोर्नी तथा अन्य स्वास्थ्य समस्याबाट पीडित बिरामीको शल्यक्रिया गरिएको हो ।

जिल्ला अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरिशबहादुर मल्लकाअनुसार कात्तिक १० गते ६५ वर्षीय पुरुषको बायाँ काँधको हड्डी भाँचिएर जोर्नी खुस्किएको समस्याको उपचार गरिएको थियो । सोही दिन १४ वर्षीय बालकको बायाँ हातको नाडी नजिक भाँचिएको हड्डी निको भएपछि पहिले राखिएको इम्प्लान्ट निकालिएको थियो ।

त्यस्तै, कात्तिक ११ गते चार वर्षीय बालकको दायाँ हातको कुहिनो नजिक भाँचिएको हड्डीमा तार राखेर शल्यक्रिया गरिएको थियो । १३ वर्षीय बालकको बायाँ हातका दुवै हड्डी भाँचिएको अवस्थामा एउटा हड्डीमा प्लेट राखेर र अर्कोमा तारको सहायताले शल्यक्रिया गरिएको थियो । सोही दिन २९ वर्षीय पुरुषको बायाँ हातको नाडी नजिक भाँचिएको हड्डीमा प्लेट राखेर उपचार गरिएको डा. मल्लले वताए ।

कात्तिक १२ गते चार र छ वर्षीया दुई बालिकाको हातको कुहिनो नजिक भाँचिएको हड्डीको शल्यक्रिया गरिएको थियो । छ वर्षीया बालिकाको जटिल प्रकृतिको तेस्रो तहको चोटको उपचार बन्द विधिबाट तार राखेर गरिएको थियो । सोही दिन ४० वर्षीय पुरुषको दायाँ तिघ्राको माथिल्लो भागमा देखिएको गाँठो शल्यक्रिया गरी निकालेर परीक्षणका लागि नमुना सङ्कलन गरिएको अस्पतालले जनाएको छ ।

यस्तै, सो अवधिमा जिल्ला अस्पतालमा तीन सय जना बिरामीले स्वास्थ्य जाँच तथा विभिन्न उपचार सेवा लिएका छन् । डा. मल्लले जिल्लामा हाडजोर्नी तथा नसासम्बन्धी समस्या भएका बिरामी बढी आउने गरेको बताउँदै अर्थोपेडिक चिकित्सकको उपलब्धताले नागरिकलाई सहज भएको वताए ।

“सामान्य उपचार यसअघि पनि हुँदै आएको थियो । तर, आइसियु आवश्यक पर्ने तथा कम्मर र टाउकोसम्बन्धी जटिल शल्यक्रिया भने यहाँ सम्भव छैनन”, उनले भने, “एमडीजीपी र अर्थोपेडिक चिकित्सकबाट हुने शल्यक्रिया भने सफलतापूर्वक भइरहेका छन् ।”

उनकाअनुसार जिल्लामै जटिल शल्यक्रिया हुन्छ भन्ने जानकारी नहुँदा कतिपय बिरामी उपचारका लागि धनगढी र काठमाडौँसम्म पुग्ने गरेका छन् । त्यसक्रममा बिरामीले उपचारका लागि बढी समय र रकम खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै उनले जिल्लामै उपलब्ध उपचार सेवा लिन नागरिकलाई आग्रह गरेका छन्।

अस्पतालले शल्यक्रिया सेवाबापत न्यूनतम पाँच सयदेखि अधिकतम १० हजारसम्म शुल्क लिने गरेको जनाएको छ । जिल्लामै विशेषज्ञ चिकित्सकबाट शल्यक्रिया सेवा उपलब्ध हुन थालेपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम हुनुका साथै बिरामीको समय र खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ ।

जिल्ला अस्पतालमा गत पुस महिनादेखि अर्थोपेडिक सर्जन डाक्टर शिरिष श्रेष्ठसहित विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह भइरहेको छ । यस्तै सुदूरपश्चिम प्रदेश सरकारले छात्रवृत्ति करारमा २०८३ भदौदेखि एमडीजीपी डाक्टर राहुल श्रेष्ठलाई समेत पठाएको छ ।

आधारभूत रूपमा १५ शय्याको स्वीकृति पाएको जिल्ला अस्पतालले सीमित स्रोतसाधन र जनशक्तिका बीच हाल ५७ शय्या सञ्चालन गरिरहेको छ । पछिल्लो समय भौतिक पूर्वाधार र विशेषज्ञ स्वास्थ्य सेवा विस्तार भएसँगै अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्यासमेत बढ्दै गएको छ ।

अस्पतालका सूचना अधिकारी नृपराज गिरीकाअनुसार अहिले बाजुरासहित छिमेकी जिल्ला हुम्ला र मुगुबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा दैनिक एक सय ५० जनाको हाराहारीमा बिरामीले सेवा लिने गरेको गिरीले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?