News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुराको बडीमालिकामा भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन कञ्चनपुरका २० वर्षीय मनिष बोहरा आइतबार मृत फेला परेका छन्।
- खोजीका लागि सदरमुकामबाट हेलिकप्टरमार्फत गएको सुरक्षाकर्मी टोलीले उनलाई बडीमालिकास्थित त्रिवेणी पाटन नजिकै मृत अवस्थामा फेला पारेको प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए।
- हिमपातपछि त्रिवेणी पाटनमा अलपत्र कञ्चनपुरका २१ वर्षीय सागर कार्कीलाई शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी मार्तडी ल्याइएको थियो।
१५ कात्तिक, बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृत फेला परेका छन् ।
भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहरा मृत फेला परेका हुन् ।
प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालकाअनुसार आइतबार बिहान सम्पर्कविहीन युवकको खोजी कार्यका लागि सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली खटिएको थियो । खोजी कार्य गर्दा सम्पर्कविहीन युवक बडीमालिकास्थित त्रिवेणी पाटन नजिकै मृत अवस्थामा फेला परेको उनले जानकारी दिए ।
यस्तै, मृतक युवकको शव र खोजी कार्यमा खटिएका सुरक्षाकर्मीलाई हेलिकप्टरमार्फत ल्याउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षका सागर कार्कीको शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी मार्तडी ल्याइएको थियो ।
कार्की चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बसेका थिए ।
प्रतिक्रिया 4