३१ साउन, बाजुरा । बाजुराको प्रशिद्ध धार्मिक पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको फोरजी टावर निर्माणकार्य अनिश्चित बनेको छ ।
करोडौंका टावरका उपकरणहरू नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरेपनि निर्माण कार्य अनिश्चित देखिएको हो ।
ढुवानी गरेका सामान त्रिवेणी पाटनमा रहेको नेपाल टेलिकम बाजुराले जनाएको छ । यसअघि सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई तत्काल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।
भौगोलिक विकटता र सडक नभएका कारण स्थलमार्गबाट उपकरण पुर्याउन कठिन भएपछि साउन २६ गते हेलिकप्टरमार्फत त्रिवेणी पाटनमा पुर्याइएको थियो ।

तर, जडान कार्यमा प्राविधिक टोलीको टुंगो नलाग्दा काम अलपत्र अवस्थामा परेको छ । उपकरण पुग्नुअघि प्राबिधिक टोली भने पुगेको थियो ।
नेपाल टेलिकम दुरसञ्चार कार्यालय बाजुराका प्रमुख इन्जिनियर ईश्वर सिंहले टावर निर्माणका लागि आएको प्राविधिक टोली एक हप्ता बसेर फर्किएको बताए ।
‘बडीमालिकामा उपकरण पुग्नुभन्दा एक हप्ता अगाडि नै प्राविधिकको टोली त्यहाँ पुगेको थियो,’ उनले भने, ‘तर, मौसम खराबीका कारण समयमै सामान नपुगेपछि टोली फिर्ता भयो ।’
टावर निर्माण स्थलमा प्रतिकुल मौसमका कारण हेलिकप्टर बस्न नसक्दा तल त्रिवेणी पाटनमै उपकरण राखिएको छ । त्यहाँबाट जडानस्थलसम्म करिब चार हजार किलोग्राम उपकरण तथा अन्य सामग्री जनशक्तिमार्फत् बोकाएर लैजानुपर्ने अवस्था हुँदा पनि समस्या भएको प्रमुख सिंहले बताए ।
निर्माणका लागि प्राबिधिक जाने कुनै टुंगो नभएको टेलिकम बाजुराले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बडीमालिका नगरपालिकाले त्रिवेणी पाटनबाट टावर निर्माण स्थलसम्म सामान पुर्याउन टोली खटाएको बताए ।
‘नगरपालिकाले पठाएको टोली पुगेर सामान आजबाट सामान ढुवानी सुरु गरेको छ,’ उनले भने ।
यो वर्ष बडीमालिकाका मेला भदौ ११ गते लाग्दैछ । मेला ११ गते लागेपनि पूजाआजाको काम भने भदौ १ गतेबाटै सुरु हुने पुजारी नेत्र पाध्यायले बताए ।
प्रतिक्रिया 4