+
+
Shares

४ हजार करोड भारुमा बनेको फिल्म ‘रामायण’बारे पाँच रोचक कुरा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नितेश तिवारी निर्देशित ‘रामायण : राइज अफ अ लेजेन्ड’ यही बिहीबारदेखि नेपालका सिनेमाघरमा प्रदर्शन हुँदैछ।
  • रणवीर कपुर, साई पल्लवी र यश मुख्य भूमिकामा रहेको यो फिल्म दुई भागमा निर्माण भएको छ र पहिलो भाग ५ नोभेम्बर २०२६ मा विश्वभर प्रदर्शन हुँदैछ।
  • ह्यान्स जिम्मर र एआर रहमानले पहिलोपटक सहकार्य गरेको यस फिल्ममा विश्वभरका १० हजारभन्दा बढी मानिस संलग्न छन्।

‘रामायण : राइज अफ अ लेजेन्ड’ यही बिहीबारदेखि नेपालका सिनेमाघरमा पनि प्रदर्शन हुँदैछ । त्यसो त पौराणिक ग्रन्थमा आधारित फिल्म बन्न लागेको यो पहिलो पटक होइन । यद्यपि, यसपटक अलि विशेष छ । किनभने यसको बजेट र निर्माण टोलीको आकारले यो फिल्म कति भव्य होला भन्ने कल्पना गर्ने ठाउँ दिएको छ ।

फिल्ममा जोडिएका प्राविधिक टोली, संगीत, भिएफएक्स र स्टारकास्टले ठूलै हल्लीखल्ली मच्चाएका छन् ।

निर्देशक नितेश तिवारीको निर्देशनमा बनेको यस फिल्ममा रणवीर कपुर, साई पल्लवी र यश मुख्य भूमिकामा छन् । निर्माता नमित मल्होत्राले भारतीय पौराणिक कथालाई विश्वव्यापी दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित फिल्म निर्माण गरेका हुन् ।

फिल्मको पहिलो भाग नोभेम्बर ५, २०२६ मा विश्वभरका हलमा प्रदर्शन हुँदैछ । दुई भागमा निर्माण भइरहेको यस फिल्मका पाँच रोचक पक्ष यस्ता छन् ।

१. दुई भागमा प्रस्तुत हुँदैछ रामायण

भारतीय महाकाव्य रामायणको कथा एउटै फिल्ममा समेट्न सम्भव नहुने भएकाले निर्माण पक्षले यसलाई दुई भागमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।

पहिलो भागको आधिकारिक अन्तर्राष्ट्रिय शीर्षक ‘रामायण : राइज अफ अ लेजेन्ड’ राखिएको छ । दोस्रो भाग सन् २०२७ को दीपावलीमा प्रदर्शन गर्ने प्रारम्भिक योजना सार्वजनिक गरिएको थियो ।

यसरी दुई भागमा निर्माण गर्नुको उद्देश्य कथाका महत्त्वपूर्ण घटना, पात्रको मनोविज्ञान, सम्बन्ध र युद्धलाई विस्तृत रूपमा प्रस्तुत गर्नु हो । पहिलो भागमा रामको जीवन, वनवास, सीता हरण र राम–रावणबीचको द्वन्द्वको पृष्ठभूमि समेटिने अपेक्षा गरिएको छ ।

२. रणवीर राम, यश रावण र साई पल्लवी सीताको भूमिकामा

फिल्मको सबैभन्दा आकर्षक पक्ष यसको कलाकार छनोट हो ।

रणवीर कपुरले भगवान् रामको भूमिका निर्वाह गरेका छन् । दक्षिण भारतीय अभिनेत्री साई पल्लवी सीताको भूमिकामा छिन् भने ‘केजीएफ’बाट चर्चामा आएका यश रावण बनेका छन् ।

त्यस्तै, सनी देओल हनुमान र रवि दुबे लक्ष्मणको भूमिकामा देखिनेछन् । अनुपम खेरले जटायुको स्वर दिएका छन् भने अरुण गोविल राजा दशरथको भूमिकामा छन् । अरुण यसअघि रामानन्द सागरको टेलिशृङ्खला ‘रामायण’मा रामको भूमिकाबाट चर्चित भएका थिए ।

त्यस्तै, काजल अग्रवाल मन्दोदरी, रकुल प्रीत सिंह शूर्पणखा, लारा दत्ता कैकेयी र कुनाल कपुर इन्द्रको भूमिकामा छन् । यसरी फरकफरक भारतीय फिल्म उद्योगका चर्चित कलाकारलाई एउटै पर्दामा ल्याउनुले फिल्मको चर्चा थप बढाएको छ ।

३. ह्यान्स जिम्मर र एआर रहमानको पहिलो सांगीतिक सहकार्य

फिल्मको अर्को विशेष पक्ष यसको संगीत हो ।

हलिउडका चर्चित संगीतकार ह्यान्स जिम्मर र भारतीय संगीतकार एआर रहमानले पहिलोपटक यस फिल्मका लागि सहकार्य गरेका छन् ।

ह्यान्स जिम्मर ‘द लायन किङ’, ‘इनसेप्सन’, ‘इन्टरस्टेलर’, ‘ड्युन’ र ‘ग्लाडिएटर’ जस्ता फिल्मको संगीतका लागि विश्वभर चर्चित छन् । अर्कोतर्फ, एआर रहमान ‘स्लमडग मिलियनेयर’का लागि दुईवटा ओस्कार अवार्ड जितेका संगीतकार हुन् । भारतीय पौराणिक कथालाई अन्तर्राष्ट्रिय स्तरको सांगीतिक अनुभवसँग जोड्ने यो सहकार्य फिल्मको सबैभन्दा चासोपूर्ण पक्षमध्ये एक हो ।

४. विश्वभरका १० हजारभन्दा बढी मानिस निर्माणमा संलग्न

फिल्मको निर्माणमा संलग्न जनशक्तिको संख्या पनि चकित पार्ने खालको छ ।

निर्माता नमित मल्होत्राका अनुसार यस फिल्ममा विश्वभरका १० हजारभन्दा बढी मानिस संलग्न छन् ।

भिएफएक्स, सेट निर्माण, छायांकन, ध्वनि र पोस्ट प्रोडक्सनलगायतका काममा अन्तर्राष्ट्रिय प्राविधिक टोलीले काम गरेको छ । फिल्मका निर्माता नमित मल्होत्रा भिएफएक्स कम्पनी डीएनईजीका प्रमुख कार्यकारी अधिकृतसमेत हुन् । डीएनईजीले ‘इन्टरस्टेलर’, ‘इनसेप्सन’, ‘ड्युन’ र ‘द ओडिसी’ जस्ता ठूला फिल्ममा दृश्य प्रभावको काम गरिसकेको छ ।

फिल्मलाई आईम्याक्सका लागि पनि छायांकन गरिएको छ । यसले रामायणको संसार, पात्र र युद्धका दृश्यलाई ठूलो पर्दामा भव्य रूपमा प्रस्तुत गर्ने निर्माण पक्षको उद्देश्य देखाउँछ ।

५. सीताको योद्धा अवतारले बढायो चर्चा

रामायणमा सीताको चरित्रलाई प्रायः त्याग, धैर्य, प्रेम र समर्पणको प्रतीकका रूपमा चित्रण गरिँदै आएको छ । तर, यस फिल्मको सार्वजनिक प्रचार सामग्रीमा साई पल्लवीलाई फरक स्वरूपमा देखाइएको छ ।

अक्टोबर १७ मा सार्वजनिक गरिएको विशेष भिडियोमा सीता राक्षसहरूसँग लडिरहेको दृश्य देखिन्छ । उनको यो योद्धा स्वरूपले दर्शकमाझ थप चासो पैदा गरेको छ ।

त्यस्तै, यशको रावणलाई पनि भव्य र शक्तिशाली स्वरूपमा प्रस्तुत गरिएको छ । सार्वजनिक दृश्यमा उनी भगवान् शिवको विशाल मूर्तिअघि ताण्डव गरिरहेको देखिन्छ । राम र रावण दुवैको यात्रा तथा उनीहरूको उद्देश्यलाई फरक दृष्टिकोणबाट प्रस्तुत गर्ने प्रयास फिल्ममा गरिएको संकेत प्रचार सामग्रीले दिएको छ ।

जटायुको विशाल स्वरूप र इन्द्रको भूमिकामा कुनाल कपुरको उपस्थितिले पनि फिल्मको दृश्यात्मक भव्यता थप्ने अपेक्षा गरिएको छ ।

प्रदर्शन मिति र अन्य विवरण

नितेश तिवारी निर्देशित फिल्मको कथा तथा पटकथा श्रीधर राघवन र नितेश तिवारीले तयार पारेका हुन् । नमित मल्होत्राको प्राइम फोकस स्टुडियो र यशको मोन्स्टर माइन्ड क्रिएसन्सको सहकार्यमा फिल्म निर्माण भएको हो ।

फिल्मको पहिलो भाग नोभेम्बर ५, २०२६ मा विश्वभर प्रदर्शन हुँदैछ । भारतमा हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा प्रदर्शन गर्ने तयारी छ । अन्तर्राष्ट्रिय बजारमा अंग्रेजी संस्करणसमेत उपलब्ध गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?